भदौ २४ गतेको प्रदर्शन क्रममा धेरै सरकारी र निजी सम्पत्तिमा क्षति पुग्यो। अहिले धेरै ठाउँमा स्थानीयहरूले यस्ता सार्वजनिक सम्पत्तिको सफाइ, जिर्णोद्धार र पुनर्निर्माण थालेका छन्।
त्यस दिन ठूला सुपर स्टोरदेखि कतिपय ठाउँमा साना पसलसम्म लुटपाट र चोरी भएको थियो।
अहिले धेरै जनाले त्यसरी लगेका सामान फिर्ता गर्न थालेका छन्।
कतिसम्म भने, एक जनाले सिजीको विशालनगरस्थित शोरूमबाट उठाएर लगेको राइसकुकर भातसहित फिर्ता गरेका छन्। यसको भिडिओ पनि सामाजिक सञ्जालमा भेट्न सकिन्छ।
सिजी शोरूमका खुद्रा प्रबन्धक वसन्त पालका अनुसार ती व्यक्तिले तोडफोड क्रममा सिजीको शोरूमबाट राइसकुकर लिएर गएका थिए।
'हामीले स्थानीसँगको सहकार्यमा माइकिङ गर्दै लगेका सामान फिर्ता गर्न अनुरोध गरेका थियौं। एक जनाले चोरी गरेको सिजीको राइसकुकरमा खाना पकाउँदै हुनुहुँदो रहेछ। उहाँले खानासहित राइसकुकर फिर्ता गर्नुभयो,' उनले भने।
भाटभटेनी सुपर स्टोरको एउटा शाखामा पनि यस्तै किस्सा भएको छ।
सामाजिक सञ्जालमा भाटभटेनीका कर्मचारीले राखेको भिडिओमा एक व्यक्ति मदिराको बोतल लिएर आउँछन्। उनलाई भाटभटेनीका कर्मचारीले धन्यवाद दिँदै 'धन्न खाइसक्नुभएको रहेनछ' भन्छिन्।
मदिरा फर्काउने युवा हाँस्दै भन्छन्, 'यहाँबाट (भाटभटेनी) बाट अस्ति लगेको (आन्दोलन क्रममा) त सकिइसक्यो। यो नयाँ किनेर फिर्ता ल्याइदिएको।'
उनको कुरा सुनेर वरिपरिकाहरू उनको सरहना गर्छन्।
'आफूले सामान लगेको सबैले थाहा पाएको देखेपछि केही मानिसले सामान फिर्ता गरिरहेका छन्। चलाइसकेको भए किनेर पनि फिर्ता गरेका छन्। एक जनाले लगेको ब्ल्याक लेबल मदिरा खाइसकिएको रहेछ। नयाँ किनेर फिर्ता गरिदिए,' भाटभटेनीका एक प्रतिनिधिले भने।
अहिले भाटभटेनीसँगै अरू पसल, शोरूमहरूले सिसी टिभी क्यामरा र अरूले खिचेका भिडिओहरू हेरेर सामान लैजानेहरूको पहिचान गर्दै आएको छ। कति भिडिओहरू त सार्वजनिक नै भएका छने्। यसरी भिडिओ प्रमाण भएको भन्दै सामान फिर्ताका निम्ति आग्रह गरेपछि केही ठाउँमा सामानहरू फिर्ता भइरहेको छ।
त्यस्तै स्थानीयहरू पनि लुटिएका, चोरिएका सामान खोज्न कोठाकोठा नै पुगिरहेका छन्। सबै सामान बटुलेर सम्बन्धित व्यवसायलाई हस्तान्तरण गरिरहेका छन्।
यस्तै समुदायमध्ये एक हो हाँडीगाउँ। मंगलबार काठमाडौं विशालनगरको सिजी शोरूममा तोडफोड र आगजनी भएपछि कम्पनीले बुधबार स्थानीयसँग मिलेर सामान फिर्ता अभियान सुरू गर्यो।
'तपाईंहरूले सामान लिएको भिडिओ हामीले देखेका छौं, कृपया फिर्ता गर्नुहोस्' भन्दै स्थानीय र सिजीका प्रतिनिधि गल्लीगल्ली गए।
स्थानीय, घरबेटी र छिमेकीले दबाब दिएपछि भटाभट सामान फिर्ता हुन थालेको हाँडीगाउँका स्थानीय त्रिरत्न डंगोलले बताए।
'हाँडीगाउँकै मान्छेको बेइज्जत नहोस् भनेर हामीले सिजीका कर्मचारीसँग मिलेर घरघर गई सामान खोजेका हौं,' उनले भने।
सिजीका प्रतिनिधि पालका अनुसार त्यहाँका लुटिएका, चोरिएका करिब २० प्रतिशत सामान फिर्ता भइसकेको छ।
'महँगा ठूला टिभीमा आगजनी गरियो। वासिङ मेसिन, फ्रिज खसालेर नस्ट गरियो। केही सामान लुटियो,' उनले भने, 'तर माया मारिसकेका सामान पनि स्थानीयसँगको सहकार्यमा धेरै फिर्ता भएको छ।'
उनका अनुसार फ्रिज, वासिङ मेसिन, पंखा, प्रेसर कुकर, राइसकुकर र अन्य भान्साका सामग्री फिर्ता भएका छन्।
अहिले थुप्रै स्थानीय, युवाहरूको समूह, टोल स्वस्फूर्त रूपमा सामान फिर्ता गराउने अभियानमा लागेका छन्। कति त कबाडीले लगेका सामान समेत फिर्ता गरेका छन्।
सामाजिक सञ्जालबाट यी कामsf भिडिओहरू फैलिँदै पनि छन्। यसबाट प्रेरित हुँदै थप अरू ठाउँमा यो अभियान चल्न थालेको छ।
चोरी, डकैती, आगजनी र तोडफोडका हिसाबले फिर्ता भएको सामानको मूल्य नगन्य भए पनि स्थानीयको सक्रियताले व्यापारीहरू उत्साहित भएका छन्।
'एक संस्था र कम्पनीका रूपमा समुदायसँग बलियो सम्बन्ध हुनुपर्छ भन्ने कुरा बुझियो। अबको हाम्रो रणनीति स्थानीयसँग सहकार्य नै हुनेछ,' पालले भने।
भाटभटेनीको पनि विशेषगरी काठमाडौं उपत्यका बाहिरका शाखाबाट लुटपाट भएको सामान बढी फिर्ता भएको भाटभटेनीका प्रतिनिधिले बताए।
'क्षति र लुटपाटको हिसाबले फिर्ता नगन्य छ। तर केही भए पनि सामान फिर्ता गर्न थालेका हुन्,' उनले भने।
सबभन्दा धेरै मात्रामा भाटभटेनी विर्तामोड शाखामा सामान फिर्ता भएको छ।
सामाजिक सञ्जालमा चलेको 'सामान फिर्ता गरौं' अभियानको धेरै विदेशीहरूले पनि प्रशंसा गरेका छन्। नेपालीहरूले यसरी इमानदारिता देखाएको भन्दै विदेशीहरूले सरहना गरिरहेका छन्।