वीरगंजमा बुधबारदेखि सञ्चालनमा आएको नयाँ होटलको उद्घाटन गर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायत आधादर्जन भन्दा नेताको सहभागिता देखियो।
वीरगन्जमा करिब एक अर्ब रुपैयाँको लगानीमा बनेको पहिलो चार तारे ‘होटल दियालो एण्ड्स लर्डस’ को उद्घाटनमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवासँगै मुख्यमन्त्रीलगायतका ठूला नेताको ओइरो लागेको हो।
होटलको उद्घाटनमा विशिष्ट व्यक्तित्वको सहभागितालाई वीरगन्जका उद्योगी व्यवसायीलेसमेत आश्चर्य मानेका छन्।
नेपाली कांग्रेसका पूर्वसभासद तथा उद्योगी अनिल रूंगटा सञ्चालक रहेको होटलको उद्घाटनको लागि देउवालगायत जम्बो केन्द्रीय कार्यसमितिको टोली वीरगंज आएको हो।
उद्घाटन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महत, पूर्वमन्त्रीहरु फरमुल्लाह मन्सुर, एनपी साउद, सुरेन्द्र चौधरी र अजय चौरसिया, सांसदहरु प्रदीप गिरि, विनोद चौधरी र उमेश श्रेष्ठ, कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल लगायतका कांग्रेसी तथा मधेसी नेताहरुको बाक्लो उपस्थिति थियो।
संयुक्त रूपमा उद्घाटन गर्दै देउवा र मुख्यमन्त्री बिच जुहारी चलेको थियो। ‘संघीय र प्रदेश दुवै सरकारमा फोरम नेपाल छ, सत्ताको स्वाद उहाँहरुले लिइरहनुभएको छ’, मुख्यमन्त्री राउतको अभिव्याक्ति लक्षित गर्दै देउवाले भने, ‘सरकारले राम्रा काम गर्न सकेको छैन तर सत्तारुढ दलहरु कांग्रेसले यो गरेन त्यो गरेन भनेर गाली गर्न व्यस्त छन्।’
त्यसअघि उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई आफ्ना गल्ती कमजोरी सुधार्न सुझाव दिएका थिए।
मुख्यमन्त्री राउतले कांग्रेसलाई सशक्त प्रतिपक्षको रूपमा स्थापना गरी मुलुकको समृद्धिमा सहयोग गर्न आग्रह गरे। ‘कांग्रेसले चाह्यो भने यो मुलुक समृद्ध बन्नबाट कुनै शक्तिले रोक्न सक्दैन’, उनले भने, ‘तर कांग्रेसले विगतका गल्ती र कमजोरी सुधार्नुपर्छ।’
वीरगन्ज महानगरकै मुख्य केन्द्र आदर्शनगरमा खुलेको चारतारे होटल वीरगन्जका उद्योगपतिहरुले भारतमा मुख्यालय रहेको लर्डस् होटल ग्रुपसँग फ्रेन्चाइज गरेर सञ्चालनमा ल्याएका हुन्।
कांग्रेस नेता एवं पूर्वसांसद उद्योगपति अनिल रूंगटा, विशाल पटवारी र निर्मल गुप्ताको संयुक्त लगानीमा यो होटेल खोलिएको हो ।
कुल १० तले भवन रहेको होटल दियालो एण्ड लर्डस् प्लाजामा पूर्णवतानुकुलित ६० वटा कोठामध्ये चार वटा स्वीट र ५६ वटा डिलक्स कोठा छन्।
यसैगरी होटलमा दुई वटा रेस्टुरेन्ट, एउटा बार, ब्याङकेट हल दुई वटा, स्वीमिङपुल, जिम हल पनि रहेको होटलका संचालक रूंगटाले जानकारी दिए ।
आर्थिक एवम् औद्योगिक नगरीका साथै वीरगन्ज मुलुककै मुख्य प्रवेशद्वार पनि रहेकाले यहाँ आउने उद्योगी व्यापारीका तथा आन्तरिक र बाह्य पर्यटकका लागि लक्षित गरेर होटल सञ्चालनमा ल्याइएको अर्का संचालक पटवारीले बताए।
‘वीरगन्ज देशकै आर्थिक राजधानी हो, यो प्रदेश २ को एक मात्र महानगर पनि हो, तर यहाँ तीन तारे मात्रै होटल थियो, त्यो भन्दा सुविधासम्पन्न ठूला होटल एउटा पनि नभएका कारण हामीले चारतारे होटल सञ्चालनमा ल्याएका हौ’, उनले भने–‘यो होटलको निर्माणमा मात्रै करिब चार वर्षको समय लाग्यो, अझै पनि अन्य भौतिक संरचनाहरु थपिरहेका छौ।’