विगत चार दिनदेखि लगातार परिरहेको पानीले प्रदेश २ को जनजीवन प्रभावित भएको छ। यहाँका जनताको जनजीवन कष्टकर त बनायो नै त्यसमाथि आर्थिक रूपमा समेत अर्बौंको क्षतिले थिलोथिलो बनाएको छ।
प्रदेश २ लाई मत्स्यपालनको हिसाबले हब नै मानिन्छ। बाढीका कारण सबभन्दा बढी असर मत्स्यपालन व्यवसायमा परेको छ।
कुल मत्स्यपालन व्यवसायको ७० प्रतिशत हिस्सामा बाढीले क्षति पुर्याएको हो।
बाढीले ११ हजार पोखरी समेत प्रभावित भएको छ।
कुल १५ हजार ६ सय ६७ पोखरीमा व्यवसायिक रूपमा माछा उत्पादन हुँदै आएको छ। बारामा सबभन्दा बढी ४ हजार १ सय ३६ पोखरी छन्,जसमा २ हजार ४ सय ८१ पोखरी प्रभावित भएका छन्। बारामा ४ हजार मेट्रिकटन माछा वार्षिक रूपमा उत्पादन हुँदै आएको छ।
त्यस्तै, सप्तरीमा २ हजार ६ सय ८४ पोखरी छन् जसमा १ हजार ८ सय ७९ पोखरीमा बाढीले क्षति पुर्याएको छ। यहाँ वर्षेनी ३ हजार ६ सय मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ।
धनुषामा २ हजार ३ सय ५३ पोखरीमा माछा उत्पादन हुँदै आएकोमा १ हजार ६ सय ४७ पोखरीमा क्षति पुर्याएको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिको प्रारम्भिक तथ्यांकले देखाएको छ।
धनुषामा प्रत्येक वर्ष यी पोखरीहरूमा ३ हजार ३ सय मेट्रिकटन माछा उत्पादन हुने गर्छ।
सिरहामा पनि माछा उत्पादन व्यवसायिक रूपमा उल्लेख्य मात्रामा हुने गर्छ।
यहाँ २ हजार १ सय ५४ पोखरीमा किसानहरूले व्यवसायिक रूपमा माछापालन गर्दै आएका छन्।
तर बाढीका कारण १ हजार ६ सय १५ पोखरीमा नराम्ररी क्षति पुर्याएको छ। यहाँ वर्षेनी २ हजार ९ सय टन माछा उत्पादन हुने गर्छ।
महोत्तरीमा १ हजार ९ सय ३५ पाखेरीमा माछापालन हुन्छ जहाँ बाढीले सबभन्दा बढी क्षति पुर्याएको छ।
यहाँ ३ हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ।
सर्लाहीमा १ हजार २ सय ३४ पोखरीमा मत्स्यपालन हुँदै आएको छ जहाँ ९ सय ८७ पोखरीमा बाढीले क्षति पुर्याएको छ।
यहाँ प्रत्येक वर्ष २ हजार २ सय मेट्रिकटन माछा उत्पादन हुने गर्छ।
रौतहटमा यसपटक बाढीले सबभन्दा बढी प्रभावित गरेको छ।
यहाँ माछा उत्पादन हुने १ हजार १ सय ७१ पोखरीमध्ये ९ सय ३७ पोखरीमा क्षति पुगेको छ।
यहाँ प्रत्येक वर्ष २ हजार ५ सय मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ।
यहाँ आएको बाढीका कारण पोखरीमा उत्पादन हुँदै आएको माछा नै बगाएर लगेपछि अर्बौंको क्षति भएको समृद्धि परियोजनाका राकेश झाले जानकारी दिए।
उनले माछामामात्रै ३ अर्बभन्दा बढी क्षति पुर्याएको बताए। उनका अनुसार सबभन्दा बढी क्षति बारा र महोत्तरी जिल्लामा भएको छ ।
माछामा कति क्षति भयो भन्ने तथ्यांकको प्रारम्भिक अनुमान गरिए पनि कूल क्षतिको विवरण अझै आउन सकेको छैन।
किसानहरूको पोखरीमा के कति क्षति पुगेको छ भन्ने तथ्यांक आएपछि मात्रै कूल क्षतिको विवरण आउन सक्ने समृद्धि परियोजनाका झाले बताए।