पछिल्लो समय स्वदेशी ट्रेडमार्क लिनेको सङ्ख्या बढ्दै गएको छ।
चालू आर्थिक वर्ष २०७६/०७७ को पाँचौ अर्थात् मङ्सिर महिनामा उद्योग विभागमा दर्ता भएका ट्रेडमार्क सङ्ख्याले स्वदेशी ट्रेडमार्क लिनेको सङ्ख्या बढ्दै गएको देखाउँछ।
विभागको तथ्याङ्कअनुसार मङ्सिर महिनामा १ सय ४५ ओटा ट्रेडमार्क दर्ता भएको छ। ती मध्ये ७७ ओटा स्वदेशी ट्रेडमार्क छन्। यो ५३ प्रतिशतले बढी हो।
सिमेन्ट, सुमेरू अस्पताल, रमपम चाउचाउ, रेष्टुरेन्ट, होटल लगायतले ट्रेडमार्क दर्ता गरेका छन्।
नेपालमा पछिल्लो समय ट्रेडमार्क दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको विभागका कानून शाखा प्रमुख टङ्क महतले बताए।
विभागमा केही समयअघि नर्थफेसमा उजुरी आएपछि व्यवसायी अतालिएको समेत उनले जानकारी दिए।
‘पहिलेको तुलनामा स्वेदेशी ट्रेडमार्क लिनेको सङ्ख्या त बढेको छ। तर पनि हुनपर्ने जति ट्रेडमार्क दर्ता भएको छैन,’ उनले भने।
उनका अनुसार नर्थफेसको उजुरीपछि व्यवसायी अतालिएका छन्। ट्रेडमार्कको विषयमा जानकारी नभएको व्यवसायीले गुनासो गरेका छन्।
व्यवसायीको गुनासोपछि विभागले ट्रेडमार्क भनेको केहो?, कसरी दर्ता गर्ने, यसको फाईदा, लोगो चोरी भएमा के कारबाही हुने भन्ने विषयमा तालिम दिने योजना बनाएको उनले जानकारी दिए।
‘ट्रेडमार्कको विषयमा थाहै नभएको व्यवसायीले गुनासो गरेका छन्। हामीले यहीं दुई घण्टाको तालिम दिने सोच बनाएका छौँ,’ उनले भने, त्यसपछि अझ स्वेदेशी ट्रेडमार्क बढ्न सक्छ।’
विभागमा मङ्सिर महिनामा ट्रेडमार्क विरूद्ध १० ओटा उजुरी आएको छ। ट्रेडमार्क नक्कल गरिएको भन्दै उजुरी परेको हो।