बर्दिबासका बलराम बरालले गाडी लाइनमा काम गर्न थालेको ४० वर्ष पुग्यो।
१८ वर्षको उमेरमा सहचालकको भुमिकामा यो क्षेत्रमा छिरेका बराल ५८ वर्षको उमेरमा पुग्दा उनीसगँ ४ वटा गाडी छन् र उत्तिकै बैंकको ऋण पनि।
‘हेर्दा ४ ओटा गाडी देखिन्छ तर सबै ऋणमा झिकेको। मैले मासिक ९० हजार किस्ता तिर्नु पर्छ,’ उनले सेतोपाटीसगँ भने।
उनले पछिल्लो ३ महिनादेखि किस्ता तिर्न सकेका छैनन्, जसको कारण हो कोरोनाको संक्रमणबाट बच्न नेपाल सरकारले गरेको लकडाउन।
‘अहिले त कसैको फोन आउँदा पनि बैंकको होकि भनेर डर लाग्छ। जिन्दगिमा त्यत्रो उतार चढाव हुँदा त डराइएन अहिले फोनसगँ डराउनु परेको छ,’ उनले भने।
पृथ्वी राजमार्ग बस संचालक समितीका संरक्षक केशव अधिकारीको समस्या पनि उस्तै छ।
उनले आफ्नो ३५ ओटा गाडीको ३ महिनामा डेढ करोड तिर्थे। लकडाउन पछि उनले किस्ता तिर्न सकेका छैनन्।
‘म एउटा संस्थाको नेतृत्व गरेर हिडेको मान्छेलाई त बैंकले फोन गरेर मानसिक तनाव दिएको छ। साना व्यवसायीहरु यस्ता समस्या भयो भनेर सधैं मलाइ गुनासो पोख्नु हुन्छ’, अधिकारीले भने।
व्यवसायीलाई संकटबाट निकाल्न र बैक आफैपनि संकटबाट निस्कन किस्ता पछाडी सार्नुपर्ने अधिकारीको तर्क छ।
७० प्रतिशत व्यवसायीको हालत यस्तै भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए।
‘यातायात क्षेत्रमा करिव १० खर्व लगानी छ र ७ अर्व भन्दा धेरै लगानी त बैंकको नै छ। यदि यातायात व्यवसायी डुबे भने बैंक पनि डुब्छन्,’ सिटौलाले भने।
यातायात व्यवसायलाई जोगाउन व्यवसायीको किस्ता १ वर्ष पछाडि सार्नुपर्ने उनले बताए।
‘व्यवसाय सुरु गर्दा हामीलाई बैकले सहयोग गरेको हो। हामीले पनि पैसा तिर्नैपछ। तर किस्ताको अवधि १२ महिना थप्नुपर्छ। नभए हामीले चाबी बैंकलाई बुझाउनुको विकल्प छैन। त्यस्तै सरकारी कर, बीमा लगायतमा हामीलाई सहुलियत दिनुपर्छ,’ सिटौलाले भने।
बैंकको तनावले एउटा व्यवसायीले आत्महत्य गरिसहेको र धेरै व्यवसायी डिप्रेसनको अवस्थामा पुगेको उनले बताए।
चल्न स्थितीमा छैनन् गाडी
३ महिना थन्किएका गाडी चल्ने स्थिीतिमा ल्याउने पैसा समेत नभएको बरालले बताए।
‘हाम्रो त जिन्दगि नै लोनमा चलेको छ। ३ महिनादेखि गाडी नचलेपछि एउटा गाडी बनाउनै ३ लाख लाग्छ। मेरो ४ वटै गाडी बनाउन १० लाखले पनि धान्दैन। बैंकले लोन थपेन भने त गाडी बनाउन पनि सकिदैन,’ उनले भने। अहिले सवारी साधनमा घास उम्रिने अवस्थामा पुगेको अधिकारीले बताए।
‘हार्डवयर पसल खोल्नु परे सामान टक्टकाय पुग्छ। अरु व्यवसाय पनि त्यस्तै हुन् तर हाम्रो त खर्च नै अत्याधिक छ,’ अधिकारीले भने।
यात्रुवाहक सवारीसाधन मर्मत गर्न यो अवस्थामा गाडी हेरी १० हजारदेखि ४ लाखसम्म पर्ने सिटौलाले बताए।
‘घाम पानीले टायर मक्किसकेको छ। मोबिल, व्याट्री लगायत धेरै कुरा फेर्नुपर्छ। बैकले किस्ता पछाडि धकेल्यो भनेपनि गाडी मर्मत गर्न व्यवसायीलाई कठिन छ,’ सिटौलाले भने।
गाडी चलाउनै कठिन
सरकारले कुनै ठोस निणर्य नलिए गाडी चलाउन पनि कठिन हुने सिटौलले बताए। सर्वप्रथम गाडी चलाउने मोडालिटी प्रस्ट हुनुपर्ने उनको तर्क छ।
‘गाडी कुन – कुन ठाउँमा चलाउने, कति गाडी चलाउने, कति जाना चढाउने पहिल्यै प्रष्ट हुनुपर्छ र गाडीको स्टाफको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी हुनुपर्छ,’सिटौलाले भने।
अहिलेको अवस्थामा यातायात व्यवसायीलाई पैसा कमाउनु नपरेको उनले स्पस्ट पारे।
‘स्टाफलाई पिपिई लगाएर, सिट क्षमता भन्दा आधा यात्रु हालेर कुनै व्यवसायीले गाडी चलाउन सक्दैनन्,’ सिटौलाले भने ‘यो बेलामा भन्दा बार्गेनिङ गर्यो भन्लान तर पुरानै भाडामा यी मापदण्ड पुरा गरेर कसैले गाडी चलाउन सक्दैन।’