२०६१ असारको कुरा हो। झापाका स्थायी बासिन्दा दम्पती रवीन पोखरेल र भूमिका दाहालको पहिलो सन्तान जन्मिएको एघारौं दिनमा न्वारान भयो।
दिउँसो न्वारान सकेर राति दुई बजे रवीन वैदेशिक रोजगारीका लागि युएई (संयुक्त अरब इमिरेट्स) को दुबई जान काठमाडौंबाट उडे।
रवीनले त्यसअघि दुई वर्ष मलेसियामा काम गरेका थिए। उताबाट आएपछि भूमिकासँग बिहे भएको थियो। बचाएको पैसा बिहे र घरव्यवहारमा सकियो। सन्तान जन्मियो। त्यसपछि उनले फेरि विदेश जाने निधो गरे।
तर उनीसँग दुबई जान पुग्ने पैसा थिएन। चर्को ब्याजमा ६० हजार रूपैयाँ ऋण लिए। घर छाडेर हिँड्ने बेला पनि साथमा पैसा थिएन।
'हामीसँग पैसा थिएन। बाबु (नवजात शिशु) को मुख हेरेर आफन्तहरूले दिएको दुई हजार रूपैयाँ जम्मा भएको रहेछ,' त्यो दिन सम्झिँदै भूमिकाले भनिन्, 'त्यही पैसा पकेटखर्च लिएर उहाँ (रवीन) विदेश जानुभएको हो।'
दुबईमा काम गरेर रवीनले ऋण तिरे। साँवाब्याज तिर्नै केही महिना लाग्यो। त्यसपछि घरखर्च पनि पठाउनुपर्यो। उनी बचेको पैसा आमाबुबाले पाउने गरी पठाउँथे।
यता भूमिका बेखर्ची थिइन्। छोरो हुर्काउनुपर्ने जिम्मेवारीले आवश्यकता पनि बढ्दै थियो। उनले सानै भए पनि आफै आर्जन गर्ने विचारले घरमै ब्युटिपार्लर खोलिन्। सुरूमा आँखीभौं उखाल्ने (थ्रेडिङ) बाट काम सुरू गरिन्।
'मसँग पैसा थिएन। छोरो बढ्दै थियो। आवश्यकता पनि बढ्यो,' उनले भनिन्, 'आफूसँग भएको सीपबाट कमाउँछु भन्ने सोचेर ब्युटीपार्लर सुरू गरेँ।'
घरमा प्लास्टिकको एउटा कुर्सी थियो। उनले थ्रेडिङ गर्ने धागो, कैंची र एक बट्टा पाउडर किनिन्। त्यसमा सय रूपैयाँ जति खर्च भयो। आवश्यक सामान किन्ने पैसा नभएरै उनले थ्रेडिङ मात्रै सुरू गर्नुपरेको थियो।
थ्रेडिङबाट भएको आम्दानीले फेसियल किट किनेर सेवा सुरू गरिन्। त्यसबाट कमाइ बढ्दै गयो। आफ्ना लागि चाहिने खर्च आफै कमाउन थालिन् तर परिवारजनको साथ पाइनन्। यो काम राम्रो होइन भन्ने उनीहरूको धारणा थियो।
साथ नदिएको मात्र होइन, अवरोध नै सिर्जना गर्ने प्रयास भयो।
'परिवारकै मान्छेले बोर्ड र ब्यानर फालिदिए। अनेक कुरा भनेर हकारे,' भूमिकाले भनिन्।
भूमिका एसएलसी परीक्षा दिएपछिको फुर्सदमा तालिम लिएर ब्युटिसियन भएकी थिइन्। यस सम्बन्धी काम पनि गरेकी थिइन्। सबैले कामको प्रशंसा गरेका थिए।
'फेसन डिजाइन, डल, कुसन, ब्युटिसियन, सिलाइ–कटाइ तालिम लिएकी थिएँ। बिहेपछि भने ब्युटिसियन भएर काम गर्दा परिवारबाट टाढिनुपर्यो। समाजले पनि राम्रो मानेन,' उनले भनिन्।
उनका अनुसार अभिभावकहरू आफ्ना छोरीबुहारी ब्युटिसियन भएको र ब्युटिपार्लरमा काम गरेको राम्रो मान्दैन थिए।
रवीनसँग उनको मागीबिहे भएको थियो। बिहेको कुरा हुँदा भूमिकाले आफ्नो सीप र पेसाबारे बताएकी थिइन्। काममा कुनै बाधा पर्दैन भन्ने आश्वासन पाएपछि बिहेका लागि राजी भएकी थिइन्।
बिहेपछि आफ्नो काममा फर्किन चाहे पनि परिवारबाट स्वीकृति मिलेन।
'बुहारीले घर सम्हाल्नुपर्छ, तिमीले गर्ने काम राम्रो होइन भन्ने कुरा आयो,' भूमिकाले सुनाइन्।
एकातिर काम गर्न नपाएको, अर्कातिर पैसा नभएर अप्ठ्यारो परेको थियो। श्रीमान विदेश गएपछि त छोरा पनि एक्लै हुर्काउनुपर्ने जिम्मेवारी थपियो। त्यसपछि उनले घरैमा ब्युटिपार्लर खोलेकी थिइन्।
'काम सुरू गरेँ, निकै असहज परिस्थिति उत्पन्न भयो। तर जतिसुकै असहज भए पनि आफ्नो पेसा र अठोटबाट पछि हटिनँ,' उनले भनिन्, 'आफ्नो हातमा सीप छ, जोसुकैले जेसुकै भूनन्, काम गरेर खान्छु भनेर अघि बढेँ।'
त्यही अठोट, निरन्तरता र आत्मविश्वासको परिणाम स्वरूपमा हाल उनी आफैले बनाएको घरमा 'भूमिका सीपमूलक तालिम केन्द्र' चलाउँछिन्। यहाँ पाँच वटा ल्याब (प्रयोगशाला) छन्।
केन्द्रले छोटो समयमा आत्मनिर्भर बन्न चाहनेका लागि सीपमूलक तालिमहरू दिन्छ। झोला, साबुन, कफी बनाउने, फेसन डिजाइनिङ, ब्युटिवर्क, सिलाइ–कटाइ लगायत तालिम दिने व्यवस्था छ।
भूमिकाको काममा श्रीमान रवीनले पनि साथ दिएका छन्। दुबईमा काम गरिरहेका रवीनलाई बिदामा आएका बेला भूमिकाले फर्किन दिइनन्। आफूले दमकमा तालिम केन्द्र खोलिन्।
गाउँमा महिला सशक्तीकरणमा सघाउने एउटा समूह थियो। त्यही समूहबाट ऋण काढेर रवीनका लागि मोबाइल फोन मर्मतको पसल खोलिदिइन्।

'म त फेरि फर्किने गरी बिदामा आएको थिएँ। उहाँ (भूमिका) ले यतै काम गरौं भन्नुभयो,' रवीनले भने, 'बुबाले पनि अब विदेश नजा, यतै काम गर् भन्नुभयो। त्यसपछि रोकिएँ।'
यो १५ वर्ष अगाडिको कुरा हो।
करिब सात वर्ष दुबईमा बिताएका रवीनले मोबाइल फोनसेट मर्मतको काम गरे। त्यो काम पनि भूमिकाले नै सिकाइन्।
तालिम केन्द्रमा काम बढ्दै गयो। भूमिकालाई सहयोग आवश्यक भयो। पाँच वर्ष पसल चलाएपछि रवीन पनि तालिम केन्द्रमै व्यस्त भए।
रवीन–भूमिकाले थोरै जमिन पनि जोडे। त्यहीँ एउटा घर बनाए। अहिले त्यही घरमा भूमिका सीपमूलक तालिम केन्द्र छ।
केन्द्रमा रवीन व्यवस्थापनको पाटो हेर्छन्। तालिमको पाटो भूमिकाको जिम्मामा छ। रवीन विदेश गएका दिन न्वारान भएका छोरा तालिम केन्द्रमा प्रशिक्षक छन्। उनी होटल म्यानेजमेन्ट विषयका विद्यार्थी हुन्।
तालिम केन्द्रले विभिन्न जडिबुटी मिश्रण गरेर अर्गानिक साबुन उत्पादन गर्छ। नयाँ फेसनका कुर्तासुरूवाल, सारीचोलो र ढाका कपडाका लुगा तयार गर्छ। बिहे, पास्नी, ब्रतबन्ध लगायत शुभकार्यका लागि चाहिने विशेष पोसाक बनाउँछ।
उनीहरू यी सामान स्थानीय बजारमा बिक्री गर्छन्। ढाका कपडा र अर्गानिक साबुन युरोपतिर पठाउने गरेको भूमिकाको भनाइ छ।
भूमिकाका अनुसार हाल तालिम केन्द्रमा ३५ जना स्थानीयवासीले नियमित रोजगारी पाएका छन्। कामको चाप अनुसार दैनिक ज्यालामा पनि काम गराउँछन्। केन्द्र सञ्चालमा हालसम्म एक करोड रूपैयाँभन्दा बढी लगानी भएको छ।
'सय रूपैयाँबाट काम सुरू गरेकी थिएँ। अनेक अवरोध झेल्दै अघि बढेँ। लगानी एक करोड (रूपैयाँ) नाघेको छ। अहिले परिवारका सदस्यहरू खुसी छन्। समाजले पनि राम्रो भनेको छ,' उनले भनिन्।
हालसम्म केन्द्रबाट करिब पाँच हजार जनाले विभिन्न तालिम लिएको र धेरै जना आत्मनिर्भर भएको भूमिकाले बताइन्।
काम गरिरहँदा विभिन्न समस्या झेल्नुपरेको पनि उनको गुनासो छ।
'व्यवसाय विस्तारका लागि ऋण पाउन सकिएको छैन। सरकारले स्टार्ट–अपलाई २५ लाख रूपैयाँ दिने भनेको थियो। धेरै प्रयास गरेपछि बल्ल ११ लाख रूपैयाँ पायौं,' उनले भनिन्, 'सहज रूपमा सहुलियत ऋण पाउने वातावरण नहुँदा चर्को ब्याज तिर्नुपरेको छ।'
भूमिकालाई २०८० सालमा महिला तथा बालबालिका जेष्ठ नागरिक मन्त्रालयले एक लाख नगद राशीको 'राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कार' प्रदान गरेको थियो। स्थानीय स्रोत र साधन उपभोग गरेर स्थानीय स्तरमा रोजगार र स्वरोजगार सिर्जना गरेको भन्दै उनलाई सम्मान गरिएको थियो।
त्यस्तै कोशी प्रदेशको उद्योग मन्त्रालय, प्रहरी कार्यालय र नेपाल प्रहरी श्रीमती संघले पनि उनलाई सम्मान गरेका थिए।
'सम्मानले काम गर्न आत्मबल र हौसला दियो,' उनले भनिन्।
रवीन पनि गत वर्ष सम्मानित भएका थिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर देशमा उद्यम, व्यवसाय गर्ने जना आठ युवालाई 'राष्ट्रिय उद्यमी पुरस्कार' दिएको थियो। त्यसमा रवीनले एक लाख ५० हजार रूपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र र दोसल्ला पाए।
यो पुरस्कारले आफूलाई पनि आफ्नै देशमा काम गर्न थप हौसला मिलेको रवीनले बताए।
'सबभन्दा धेरै योगदान उहाँ (भूमिका) कै छ। मेरो पनि केही सहयोग देखेर होला, म पनि सम्मानित भएँ,' उनले भने।
भूमिका आफ्नो आँट र हिम्मतमा अहिले श्रीमान र छोराको पनि साथ हुँदा थप ऊर्जा मिलेको बताउँछिन्।
'म पहिले पनि पुरस्कृत भइरहेकी थिएँ। श्रीमान पनि पहिलो पटक सम्मानित हुँदा मलाई अझ धेरै खुसी लागेको छ। हामीले एकअर्कालाई साथ नदिएको भए यहाँसम्म आइपुग्दैन थियौं होला,' भूमिकाले भनिन्।