नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी वैशाख १ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार नयाँ वर्षको अवसर पारेर निगमको परीक्षण उडान गर्न लागिएको हो।
उड्डयन प्राधिकरणले वैशाखको ७ गतेदेखि व्यवसायीक उडानका लागि खुला गर्ने सूचना अन्तर्राष्ट्रिय रुपमा जारी गरिसकेको उनले बताए। हालसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने प्रस्ताव जजिरा एअरवेजको मात्र परेको छ।
‘यहाँबाट दैनिक एक उडान गर्ने प्रस्ताव जजिरा एअरवेजको छ,’ उनले सेतोपाटीसँग भने, ‘जजिराले साताको हरेक दिन एउटा उडान गर्ने अनुमति मागेको छ। अरू वायुसेवा कम्पनीहरूबाट प्रस्ताव आएको छैन। तयारी हुँदै होला।’
जेठको दुई गते बुद्ध जयन्तीको अवसर पारेर उडान सुरू गर्ने प्रस्ताव आएको कर्णले बताए। प्राधिकरणले पनि नयाँ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट जेठ २ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान अवतरणको सोहीअनुसार तयारी गरिरहेको प्रवक्ता उनको भनाई छ।
जजिरा एअरवेजले हाल कुवेत-काठमाडौं-कुवेत उडान गर्दै आएको छ। अब भने कुवेत-भैरहवा-कुवेत पनि उडान गर्नेछ। यसले कुवेतबाट नेपाल फर्कने र कुवेत जाने नेपालीलाई थप सहज हुने विश्वास प्राधिकरणको छ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही)मा अवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना तथा आवश्यक उपकरण जडानको काम सकिएपछि फागु्न ६ गतेदेखि एक सातासम्म क्यालिब्रेसन (परीक्षण) उडान भएको थियो। एरो थाइमार्फत दैनिक सात घण्टा परीक्षण उडान गरिएको थियो।
यो विमानस्थल पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा सञ्चालन हुने उड्डयन प्राधिकरणले बताएको छ। यसअघि क्यालिब्रेसन फ्लाइटबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनका क्रममा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले देशमा ठूलो अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु हवाई पूर्वाधारको अर्को फड्को भएको बताएका थिए।
यो विमानस्थलको निर्माण सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ मा सुरु भएको हो। पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने बताइएको थियो। तर कोभिडका कारण पछाडि धकेलिएको हो।
यो विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो। जसमा कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग छ।
यो विमानस्थल व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ। यसले करिब २० लाख यात्रु धान्ने उल्लेख गरिएको छ।