तपाईं सामिष खाना अर्थात माछामासु पनि खाने उपभोक्ता हो भने मःम त अवश्य नै खानुभएको छ। निरामिष खाना खानुहुन्छ अर्थात माछामासु खानुहुन्न भने पनि भेज मःम खानुभएकै होला।
छिटो र मीठो खाजा मानिने मःम प्रिय भइकन उपभोक्ताहरूको गुनासो पनि सुनिन्छ। कस्तो किमा हुन्छ, के मिसावट हुन्छ!
उपभोक्ताको यही गुनासो सम्बोधन गर्दै ब्रान्ड बन्ने प्रयासमा छ 'मिस्टर मःम'।
'गुणस्तरकै कारण मिस्टर मःमले छोटो अवधिमै ग्राहकको मन जितेको छ,' सिनामंगलमा रहेको मिस्टर मःमका सहसंस्थापक राजीव बस्नेतले भने, 'हामीले मैदाभित्र गुणस्तरीय किमा हाल्छौं। एक पटक खाएपछि ग्राहक फेरि आउने गरी पस्किएका छौं।'
मिस्टर मःम एक वर्षअघि गोठाटारका युवा दाजुभाइ राजेश र राजीवले सुरू गरेका हुन्। उनीहरूले आफ्नै घरको भान्छाबाट मःम पकाउन थालेका थिए। यहाँको मःम अनलाइन अर्डर गरेर मगाउन पाइन्छ। पारखीहरूको आग्रहअनुसार पछि उनीहरूले सिनामंगलमा रेस्टुरेन्ट राखे। ग्राहकले त्यहाँ बसेर खान पाउने सुविधा छ।
कोरोनाकालमा दोस्रो लकडाउन सुरू हुनुभन्दा एक साताअघि मात्र यो रेस्टुरेन्ट खुलेको हो। राजीवका अनुसार मिस्टर मःमले अहिले दैनिक कम्तीमा ४० हजार रूपैयाँको मःम बिक्री गर्दैछ।
उनीहरूले रेस्टुरेन्टबाट 'प्ल्याटर' हिसाबले पनि मःम बेच्छन्। एक प्ल्याटरमा २५ वटा मःम हुन्छ।
राजीवले भने, 'दैनिक १५ प्ल्याटरसम्म बिक्छ, बाँकी प्लेटका हिसाबले बिक्री हुन्छ।'
प्ल्याटरमा मःमका ट्यांगी, कोथे स्पाइसी, स्टिम परिकार मिलाएर राखिन्छ। प्ल्याटर चिकेन ९२० रूपैयाँ र बफ ८७० रूपैयाँ पर्छ। निरामिषका लागि भेज प्ल्याटर ७६० रूपैयाँमा पाइन्छ। एक प्ल्याटरले दुई जनालाई पुग्छ। विभिन्न स्वाद हुने भएकाले यसको माग राम्रो भएको राजीव बताउँछन्।
मिस्टर मःमले कोथे स्पाइसी, ट्यांगी, चटपटाजस्ता विशेष मःम पस्किन्छ। आफूहरूले नयाँनयाँ स्वादमा गुणस्तरीय मःम पस्किएको राजीवको दाबी छ।
'कोथे मःम अन्त पनि पाइन्छ। तर कोथे स्पाइसी हामीले सुरू गरेका हौं। यो मःम अरूभन्दा पिरो हुन्छ। मसला पनि छुट्टै बनाउँछौं। ट्यांगी फ्राइड मःममा आफ्नै मसला प्रयोग गर्छौं,' उनले भने, 'चटपटा मःम विशेष गरी युवाहरूले रूचाएका छन्।'
राजीवका अनुसार यहाँको मःम विदेशमा बस्नेहरूले आफ्नो परिवारमा 'सरप्राइज' का रूपमा पठाउने गरेका छन्। ग्राहकले पैसा तिरेर ठेगाना दिएपछि मिस्टर मःम घरमै पुग्छ। अर्डर र भुक्तानी अनलाइनबाटै गर्ने सुविधा छ।
यहाँ मःमबाहेक क्रन्ची विङ्स, ससेज, मिल्क सेक, मसला फ्राई लगायत परिकार पनि पाइन्छ। सबै परिकार ताजा र उच्च गुणस्तरीय हुने राजीवको दाबी छ।
भन्छन्, 'सबै खानेकुरा फ्रेस हुन्छ। बरू थोरै बिक्री गर्ने तर हाइजेनिक (स्वस्थकर) दिने हो।'
उनीहरू मःमका थप परिकारको खोज र अध्ययन गर्दैछन्। स्थानीय तथा विश्वका विभिन्न मुलुकमा पाइने मःमबारे खोजी गरिरहेको र एकएक गर्दै परिकार थप्दै जाने उनले बताए। विभिन्न मुलुकमा प्रचलित स्वाद नेपाली ग्राहकलाई दिने उनीहरूको योजना छ।
मिस्टर मःमले चाँडै ललितपुर र भक्तपुरमा शाखा विस्तार गर्ने भएको छ। यसनिम्ति आरामदायी र शान्त ठाउँ खोज्दै छन्। केही ठाउँमा शाखा विस्तार गरेर फ्रेन्चाइज दिने योजना पनि छ।
देशभित्र मात्र होइन, अस्ट्रेलियाको सिड्नीमा पनि शाखा खोल्ने योजना छ उनीहरूको। मिस्टर मःमका सहसंस्थापक तथा राजीवका दाइ राजेश अस्ट्रेलियामा छन्। उनकै पहलमा उता शाखा खोल्ने योजना बनेको हो।
अहिले मिस्टर मःममा राजीवसहित ६ जना काम गर्दैछन्। लजिस्टिक कम्पनीको सहकार्यमा डेलिभरी हुन्छ।
बस्नेत दाजुभाइको उद्देश्य सुरूदेखि नै मःम पसल खोल्ने भने थिएन। पहिले राम्रो चियापसल खोल्ने सोचेका थिए। राजेश नेपाल आएको मौकामा सल्लाह भयो। दुईबीच कुरा हुँदा आखिरमा मःममै विशेष काम गर्ने टुंगो भयो।
'हामी हरेक दिन नयाँनयाँ रेस्टुरेन्ट छिरेर मःम चाख्न थाल्यौं,' राजीवले भने, 'यो क्रम करिब नौ महिना चल्यो।'
उनीहरूले साना-ठूला रेस्टुरेन्टका मःम चाखेर स्वादको अध्ययन गरे। मसलाबारे पनि बुझे। कुकहरूसँग छलफल गरे। युट्युब हेरे।
बिहानदेखि साँझसम्म मःम चाख्दै हिँड्थे। बेलुका घर आएर बनाउँथे। आफू चाख्थे र आफन्तलाई चखाउँथे।
'मलाई त मःम बनाउने प्रक्रिया केही पनि थाहा थिएन। कुन चिज कति राख्ने भन्ने आउँदैन थियो। तर इच्छा भएपछि सिक्न गाह्रो नहुने रहेछ। एक जना कुक दाइले सहयोग गर्नु हुन्थ्यो। मैले तीन महिनामा सिकेँ,' राजीवले अनुभव सुनाए।
सबैको प्रतिक्रिया राम्रो आएपछि उनीहरूले घरकै भान्छामा पकाएर अनलाइनबाट बेच्न थाले। भेज, चिकेन र बफ मःमको माग राम्रै आयो। भान्सा सानो थियो, तीन स्वादका लागि तीनै खाले भाँडा चाहियो। ठाउँ सानो भए पनि अलग्गै घरभाडा तिर्न नपर्दा फाइदा हुन्थ्यो। त्यसैले सुरूआती दिनमा घरबाटै बन्दोबस्ती मिलाए।
'चार लाख रूपैयाँ लगानी गरेर घरबाटै काम सुरू गरेका थियौं,' राजीवले भने, 'दैनिक २० हजार रूपैयाँसम्मको बिक्री हुन थाल्यो।'
व्यापार बढ्दै जाँदा बेलाबेला राजीवलाई तनाव नभएको होइन। कुनै बेला त यो काम किन थालेछु जस्तो पनि भयो। खोजेजस्तो सामान पाइँदैन थियो, दिनभर चहार्दा बल्ल बल्ल पाइने, त्यो पनि महँगो। उनका दाइ राजेश अस्ट्रेलिया फर्किसकेका थिए, उतैबाट सल्लाह-सुझाव दिन्थे।
माग बढ्दै गएपछि दाजुभाइले सिनामंगलमा रेस्टुरेन्ट खोल्ने निधो गरे। यसमा पनि सजिलो कहाँ थियो र! कर्मचारी पाउन मुश्किल। रेस्टुरेन्टका लागि भनेजस्तो ठाउँ नपाइने।
'मःम पसल खोल्छु भन्दा घरबेटीले नपत्याउने। त्यो सबै सम्झिँदा त रूनै मन लाग्थ्यो। किन यो काम गरिएछ भन्नेजस्तो भएको थियो, हामी दाजुभाइको भनाभन समेत हुन्थ्यो,' राजीव सम्झिन्छन्, 'अहिले त ठीक गरिएछ जस्तो लाग्छ।'
राजिव यसअघि विभिन्न निजी कम्पनीमा काम गर्थे। साथीभाइ विदेशिएको देखेपछि उनलाई पनि रहर थियो। अझ दाइ अस्ट्रेलिया भएकाले उतै जाने सोचेका थिए। दाइ राजेश पनि सहमत थिए, पछि भने यतै केही गर्न सुझाए।
यसकै नतिजा हो मिस्टर मःम।
'दाइले अस्ट्रेलियाबाटै नयाँनयाँ स्वादका मःम र थप परिकारका लागि सुझाव दिनुहुन्छ,' उनले भने, 'दाइको सहयोगले व्यवसायमा हौसला मिलेको छ।'