ताराप्रसाद पौडेलले ‘गौरव नेपाल इन्जिनियरिङ प्रालि’ स्थापना गरेको २५ वर्षभन्दा बढी भयो। यो कम्पनीले चितवनको भरतपुरस्थित शिवघाट नजिकै सञ्चालन गरेको उद्योगले फलामबाट कंक्रिट मिक्स्चर मेसिन उत्पादन गर्छ।
सडक, घर र अन्य पूर्वाधार निर्माणको काममा यो मेसिन प्रयोग हुन्छ। पौडेल नेपालमा यस्तो मेसिनको उत्पादनलाई व्यावसायिक बनाउने उद्योगी हुन्। उनकै सिको सिकेर चितवनसहित अन्य जिल्लामा कंक्रिट मिक्स्चर मेसिन उत्पादन गर्ने उद्योगहरू खुलेका थिए। ती उद्योगका उत्पादनले नेपालको निर्माण व्यवसायमा राम्रो योगदान गरेका थिए।
पछिल्ला वर्षमा नेपाल सरकारको भन्सार नीतिको चपेटामा कंक्रिट मिक्स्चर मेसिन उत्पादकहरू पनि परेका छन्। पुराना व्यवसायी पौडेल उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्। उनको सिको गरेर स्थापना भएका आधा दर्जनभन्दा बढी उद्योग त बन्द भइसके। चालु अवस्थाका केही उद्योग बन्द हुने अवस्थामा छन्।
सरकारले नेपालमा मेसिन निर्माण गर्न आवश्यक पर्ने कच्चा पदार्थको आयातमा आर्थिक वर्ष २०७८/७९ सम्म १२ देखि १५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको थियो। आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त दर कायमै राखि प्रतिकिलोग्राम पाँच रुपैयाँका दरले अन्तः शुल्क थप गरिएको छ। उता मेसिन आयात गर्दा लाग्ने भन्सार महसुल ४ प्रतिशतमात्रै छ। यसमा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था छ।
यस्तो कर नीतिका कारण भारतबाट आउने तयारी सामान र कच्चा पदार्थको मूल्य उस्तैउस्तै पर्न जाने उद्योगीहरू बताउँछन्। भारतबाट आउने तयारी सामान नेपालमै बनेजस्तो गुणस्तरीय भने नहुने उद्योगीहरूको भनाइ छ।
‘सरकारको नीति अव्यावहारिक भयो। स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउँदै लैजाने काम सरकारबाटै भएको छ,’ नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका पूर्वअध्यक्ष रहेका पौडेल भन्छन्, ‘देशको औद्योगिक विकास र रोजगारी वृद्धि गर्न उद्योग प्रवद्र्धन गर्नुको सट्टा भएका उद्योग पनि बन्द गर्ने किसिमको आर्थिक नीति र भन्सार दरबन्दीले हामी ठूलो मर्कामा परेका छौँ।’
उनका अनुसार केही वर्षअघिसम्म नेपालमा वार्षिक १६ सय कंक्रिट मिक्स्चर थान मेसिन उत्पादन हुन्थ्यो। अहिले वार्षिक ४५० थानमा झरेको छ। नेपालको उत्पादन घट्दै गर्दा मेसिन आयात बढेर वार्षिक ११ हजार थान भन्दा बढी पुगेको छ।
बुटवलमा ‘नेसनल इन्जिनियरिङ एन्ड मेटलकास्टिङ इन्डस्ट्री’ चलाएर करिब २० वर्षदेखि कंक्रिट मिक्स्चर मेसिन उत्पादन गर्दै आएका रामप्रसाद खनालले राम्रो हुने आशा गर्दागर्दै निराश भएको बताए। तीन वर्षअघि उनको उद्योगमा दुई जना सय भन्दा बढीले रोजगारी पाएका थिए। उनीहरूमध्ये धेरै भारतीय थिए। नेपाली मेसिनको भविष्य जोखिममा परेपछि भारतीयहरू हिँडे।
‘मेरो उद्योगमा काम गर्ने ६० जनाजति भारतीयहरू अहिले गोरखपुरतिरका उद्योगहरूमा काम गर्छन्। केहीले त यहाँ सिकेर आफ्नै देशमा उद्योग चलाएका छन्,’ खनाल भन्छन्, ‘५५ करोड लगानी पुगेको मेरो उद्योग बन्द हुने अवस्थामा छ। उनीहरूले गोरखपुरमा सामान्य लगानी गरेर बनाएका मेसिन हाम्रो देशले आयात गर्छ।’
उनले सरकारको नीतिले उद्योग बन्द गरेर विदेशी सामानको व्यापार बढाउन खोजेको आरोप लगाए।
कोरोना महामारी अघिसम्म नेपालका कंक्रिट मिक्स्चर मेसिन उत्पादक उद्योगमा ४५० जना युवाले रोजगारी पाएका थिए। अहिले मुस्किलले डेढ सय जना छन्।
खनाल भन्छन्, ‘कोरोना महामारीले सबैलाई असर गरेको थियो। त्यसमा चित्त बुझाउने ठाउँ पनि थियो तर आफ्नै सरकारले उद्योगीहरूको कुरा नबुझेर उद्योग बन्द गर्नुपर्ने अवस्था आउनु दुःखद हो।’
नौ वर्षअघि चितवनको रामघाटमा यस्तै उद्योग सञ्चालन गरेका यज्ञ घिमिरे दुई वर्ष पनि टिक्न सकेनन्। निकै ठूलो खर्च गरेर उद्योग सञ्चालन गरे पनि भविष्य नदेखेपछि पलायन भएको उनले बताए।
‘सरकारको ध्यान यता छैन भन्ने थाहा पाएपछि मैले उद्योगलाई अर्कोतिर फर्काएँ। केही उद्योगीहरू अझै पनि केही भइहल्छ कि भनेर पर्खिनुभएको छ,’ उनी भन्छन्, ‘सरकारको ध्यान नेपालका उद्योगहरू बचाउनुपर्छ, सरकारको नीति व्यावहारिक बनाउनुपर्छ भन्नेतर्फ छैन। उद्योगीहरूलाई गाह्रो अवस्था छ।’
नेपालमा कंक्रिट मिक्स्चर मेसिन उत्पादन गर्ने उद्योगको संख्या १३ वटासम्म पुगेको थियो। अहिले चितवनमा दुई वटा र बुटवलमा एउटा सञ्चालनमा छन्। यी उद्योगले पनि उत्पादन घटाउँदै लगेका छन्।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा नेपालले ११ हजार ४०० वटा कंक्रिट मिक्स्चर मेसिन आयात गरेको थियो। यसको कुल आयात मूल्य ७६ करोड ६६ लाख थियो। यबाट २ करोड ८८ लाख रुपैयाँमात्रै संकलन भयो।
कोरोना महामारीका कारण आयात घटे पनि फेरि बढ्न थालेको छ।
आयात बन्द गरेर देशभित्रैका उद्योगहरूलाई उत्पादन गर्न दिने हो भने तीन हजार जनाले रोजगारी पाउने र राजस्वमा पनि वृद्धि हुने पौडेलको भनाइ छ। उचित वातावरण भए बन्द उद्योगहरू फेरि चल्न सक्छन्।
उनी भन्छन्, ‘हामीले राखेको माग सम्बोधन भयो भने दुई वर्षभित्रमा मेसिन बनाउने उद्योग करिब एक दर्जन, फाउन्ड्री उद्योग आधा दर्जन र मेसिनका लागि आवश्यक सामान बनाउने अन्य उद्योगहरू स्थापना हुने देखिन्छ।’
उद्योगीहरूले राष्ट्रिय उद्योग संरक्षण गर्न यहीँ उत्पादन हुने मेसिनको आयातमा कम्तीमा ३० प्रतिशत भन्सार तथा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउनुपर्ने र तयारी वस्तु आयात गर्दा यहीँ उत्पादन हुन्छ कि हुँदैन भन्ने सुनिश्चित गर्न उद्योग परिसंघ तथा उद्योग संघहरूको सिफारिसको व्यवस्था हुनुपर्ने माग गरेका छन्।
देशमा उत्पादन नहुने मेसिन, औजार र तयारी वस्तुमा आवश्यकता हेरेर सहुलियत दरमा भन्सार बिन्दुबाट पास गर्नुपर्ने र उद्योगका लागि आवश्यक कच्चापदार्थको आयातमा एक प्रतिशतमात्र भन्सार महसुल लाग्ने व्यवस्था गर्नु पर्ने पनि उनीहरूको माग छ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सरकारले उद्योगीका कुरा सुन्नुपर्ने बताए। ‘हामीले स्वदेशी उद्योगका समस्या नीतिगत तहबाट समाधान गर्न माग राखेर पटक–पटक सरकारको ध्यानाकर्षण गराएका छौँ,’ उनले भने, ‘जति घचघच्याए पनि उद्योगीका माग सम्बोधन गरिएको छैन। नयाँ बजेटमा केही आशा लागेको थियो, त्यो पनि भएन।’
चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्तीले बजेट पेश भइसकेको भए पनि सरकारले चाहेमा उद्योगीहरूका समस्या समाधान हुन सक्ने बताए। ‘कंक्रिट मिक्स्चर मेसिन उत्पादन गर्नेमात्रै नभएर अन्य धेरै उद्योगीहरू पनि अब चलाउन नसकिने भइयो भन्न थालेका छन्,’ वस्ती भन्छन्, ‘अब स्वदेशी उद्योग बचाउने कि मार्ने हो, सरकारकै हातमा छ।’