पछिल्लो समय काठमाडौंमा नयाँपनका साथ रेस्टुरेन्टहरू खुल्न थालेका छन्। आकर्षक साजसज्जा, विविध परिकारका साथै रेस्टुरेन्टको नाम पनि झट्ट याद हुने र अलग राख्न सञ्चालकहरूले ध्यान दिएको देखिन्छ। नाममा नेपाली मौलिक शब्दावलीहरू प्रयोग गर्ने चलन बढेको छ। रेस्टुरेन्टको नामअनुसारै विशेष परिकार पस्किने पनि उत्तिकै छन्।
भक्तपुर जिल्लाको लोकन्थलीस्थित हनुमान मन्दिरनजिकै यस्तै एउटा रेस्टुरेन्ट छ- खसी।
तीन वर्षअघि खुलेको 'खसीः द गोट हाउस रेस्टुरेन्ट' को मुख्य विशेषता नामजस्तै छ। पारखीहरूका लागि खसीको मासुका विभिन्न परिकार यसले पस्किने सञ्चालक सुरज विष्ट बताउँछन्।
'नेपालमा खसीकै विविध परिकार पाइने भनेर त्यति धेरै रेस्टुरेन्ट छैनन्। हामीले खसीको मासुबाट पाक्ने सबै परिकार उपलब्ध गराउने उद्देश्यले यही नाममा रेस्टुरेन्ट सुरू गरेका हौं,' सुरजले भने।
यहाँ ग्राहकहरूले धेरै रूचाएको परिकार 'खसी मट्का' हो। माटाको हाँडीमाथि सालको पातमा खसीको मासु राखेर पस्किइन्छ यो परिकार।
सुरजका अनुसार 'खसी कटिया' र 'खसी चाम्पाराङ' पनि धेरैले मनपराएका छन्। तराईको विशेष मानिने कटिया कोइलामाथि माटाको भाँडो राखेर त्यसमा पकाइने मासु हो। रेस्टुरेन्टले पस्किने चाम्पाराङ कटियाकै अर्को स्वरूप हो। यो अलि धेरै पिरो, चिल्लो र मसालेदार हुन्छ। यी परिकार चिउरासँग खान सकिन्छ।
यसबाहेक भुटन, खसीको टाउको, सुप, ह्याकुलो, कलेजो, रक्ति लगायत गरी दुई दर्जन हाराहारी खसीका परिकार पाक्ने उनले बताए।
'यहाँ सबै लोकल खसीको परिकार पाक्छन्। धेरैजसो खसी हामी रामेछापबाट ल्याउँछौं,' सुरजले भने, 'पहाडमा खेल्दै हुर्किएका खसीको मासु मीठो हुन्छ। नजिक पनि छ। त्यसैले हामीले पहाडी लोकल खसीको मासु खुवाउँछौं।
खसी यहाँको विशेष भएकाले अरू परिकार नपाइने हो कि, शाकाहारी त छँदै छैन कि भन्ने पनि लाग्न सक्छ। त्यस्तो होइन। यहाँ अरू सामान्य रेस्टुरेन्टले पस्किने सबैजसो परिकार पाइन्छ। खसी नखानेले माछा र कुखुराको परिकार खान सक्छन्। 'भेज' र 'ननभेज' पिज्जा, मःम, बर्गर, चाउमिन लगायत पनि पाइन्छ।
'हामी सबै ग्राहकलाई स्वागत गर्छौं। खसी विशेष भए पनि शाकाहारीका लागि अरू परिकार पनि बढाउँदै लगिरहेका छौं,' सुरजले भने, 'भेज खाने ग्राहकहरू आउन थाल्नुभएकाले नै परिकार थप्दै लगेका हौं। ३० प्रतिशत ग्राहक त शाकाहारी हुनुहुन्छ।'
खसीकै परिकार मात्र खाने हो भने दुई जनाका लागि १२ सयदेखि १८ सय रूपैयाँले पुग्ने सुरज बताउँछन्। यहाँ खसी मट्का सानोको ४ सय ९५ रूपैयाँ पर्छ। मध्यमको ६ सय ९५ र ठूलोको ८ सय ९५ रूपैयाँ।
'सुन्दा महँगो लाग्न सक्छ,' सुरज भन्छन्, 'खसीको मासु महँगो भएकाले सहुलियत दिँदा पनि अरू परिकारको तुलनामा महँगो नै पर्न आउँछ। तर स्वाद लिइसकेपछि धेरै पैसा तिरेजस्तो लाग्दैन। हामीले गुणस्तरीय र पहाडी स्थानीय खसीको मासु पस्किएका छौं।'
खसीको सुप, भुटन भने दुई सय रूपैयाँभन्दा कममै पाइन्छ।
खसी रेस्टुरेन्टमा भिन्न परिकारको स्वाद लिन आउनेको जमात छँदैछ। जन्मोत्सव, वर्षगाँठ जस्ता उत्सव मनाउन पनि साथीसंगी र परिवारै आउँछन्। रेस्टुरेन्टमा एकपटकमा ८० जनासम्म अटाउँछन्। शुक्रबार रेस्टुरेन्टले 'विकेन्ड प्याकेज लाइभ म्युजिक' गर्छ। यसबाहेकका अरू दिन ग्राहकले यहाँ भएको म्युजिक सिस्टममा आफैं गाएर-बजाएर रमाइलो गर्न सक्छन्।
समूहमा तथा उत्सव मनाउन आउनेलाई विशेष छुट व्यवस्था गरिएको सुरजले बताए। जन्मोत्सव मनाउन आउने विद्यार्थी तथा नियमित ग्राहकलाई रेस्टुरेन्टले केक निःशुल्क उपलब्ध गराउँछ। केक नलिए दस प्रतिशतसम्म छुट दिन्छ।
सुरजका अनुसार यो रेस्टुरेन्ट ५० लाख रूपैयाँ लगानीमा खुलेको हो। रेस्टुरेन्ट सुरूको ६ महिनासम्म राम्रो चल्यो। यो क्षेत्रमा खसीकै स्तरका दुई/तीनवटा रेस्टुरेन्ट मात्रै खुलेका थिए। प्रतिस्पर्धा कम थियो।
प्रचारप्रसार पनि राम्रै गरेकाले खसीमा पारखीहरू झुम्मिन थालेका थिए। तर एक्कासि कोरोना लकडाउन भयो। खसी रेस्टुरेन्ट लामै समय बन्द भयो।
'संरचना बनाइसकेको थिएँ। चलाउनुपर्छ भन्ने हिसाबले हिम्मत गरेँ। घिटीघिटी चलाइरह्यौं,' सुरजले भने, 'त्यसपछि अहिलेसम्म सुरूको जस्तो राम्ररी चल्न सकेको छैन। अहिले प्रतिस्पर्धा पनि धेरै भयो। कोरोनाले आर्थिक मन्दी पनि भयो। कोरोनाका कारण बाहिर गएर खानेहरूको जमात कम भएजस्तो लाग्छ।'
सुरूआतकै दुई वर्ष मुस्किलले धानिएको यो रेस्टुरेन्टले अहिले विस्तारै गति लिँदैछ। कोरोनाअघि १२ जना कर्मचारी भएकामा अहिले ६ जना छन्। कोरोनाका कारण गाउँ गएका कतिपय कर्मचारी नफर्केको उनले बताए। अरू केही विदेशिए। अहिले रेस्टुरेन्ट पूर्ण क्षमतामा नचलेकाले यति कर्मचारीले धानिएको छ। विस्तारै हेरेर थपथाप गर्ने योजना उनको छ।
भनेजसरी व्यवसाय अगाडि बढेमा आउटलेट खोल्ने सोच छ सुरजको। खसी ब्रान्डको विशेषताअनुसारै व्यवस्थापन गर्न सक्नेलाई फ्रेन्चाइज चलाउन दिने मनसाय पनि बनाएका छन्।
दधिकोट, भक्तपुरका सुरज विगत दुई दशकदेखि होटल तथा पर्यटन क्षेत्रमा आवद्ध छन्। एसएलसीपछि थप अध्ययनका लागि १६ वर्षको उमेरमा सिंगापुर गएका उनले त्यहाँ हस्पिटालिटी म्यानेजमेन्ट पढे। 'वर्किङ भिसा' लिएर केही समय काम पनि गरे। झन्डै ८ वर्ष त्यहाँ बिताए।
'कमाइ राम्रो,' ३६ वर्षीय सुरज भन्छन्, 'तर धेरै समय विदेश बस्न मन मानेन। फर्किँए। फेरि म एक्लो छोरा थिएँ। आमाबुबालाई हेर्ने जिम्मेवारी पनि भयो।'
फर्केर उनले केही समय पोखराको फूलबारी रिसोर्टमा काम गरे। उनका अनुसार त्यहाँ उनको पद डेभलप्मेन्ट म्यानेजर थियो। त्यसपछि विभिन्न रिसोर्ट/होटलहरूमा 'सेल्स' विभागमा काम गर्दै गए। उनलाई होटल-रेस्टुरेन्ट सञ्चालनबारे अनुभव र ज्ञान हुँदै गयो।
उनी आफैंले केही गर्न सकिन्छ कि भनेर सोच्न थाले। त्यसपछि पोखराको लेकसाइडमा 'टुकी रिसोर्ट' भाडामा चलाए। यो रिसोर्ट सञ्चालनमै छ। त्यसबाहेक सुरज 'ग्रुप मार्केटिङ सर्भिस' कम्पनी पनि चलाइरहेका छन्। यो कम्पनीमार्फत् होटल व्यवस्थापनको काम हुन्छ। अहिले विभिन्न पाँच वटा होटल व्यवस्थापन गरिरहेको उनको भनाइ छ।
व्यवसाय सञ्चालनमा आर्थिक व्यवस्थापनको मात्र चुनौती हुँदैन। अरू थुप्रै पक्ष हुन्छन् जसको व्यवस्थापन कठिन हुने सुरज बताउँछन्।
'जस्तै मैले यो रेस्टुरेन्ट खोलेँ। पाहुनाहरू आउनुभएको छ। बेलुका ९ बजेदेखि प्रहरीको साइरन बज्छ। बन्द गर्न भनिन्छ। हामी झैझगडा, होहल्ला गरेर बसेको भए प्रशासनले कडाइ गर्नु ठीक हो। तर आफ्नो व्यवसाय चुपचाप स्वतन्त्र चलाउन पाउनुपर्ने होइन र,' उनले प्रश्न गरे, 'स्थानीय प्रशासनका हाकिमअनुसार समय फेरिन्छ। यो क्षेत्रका लागि समय त तोकिएकै छैन।'
राति ११ बजेसम्म होटल-रेस्टुरेन्ट खुला गर्न पाए सहज हुने उनको भनाइ छ।
सबै तस्बिर सौजन्यः सुरज विष्ट