काठमाडौंका कामकाजी मानिसहरूको व्यस्तता बढ्दो छ। सातामा एक दिन बिदा हुन्छ। त्यो दिन कहीँ नजिकै घुम्न जाने कि साथीसंगी वा आफन्त भेट्न!
मन लागे पनि कतिपयको बिदाले यस्तो अवसर दिँदैन। साताभरिका लुगा जो धुनु छ!
घरमा वासिङ मेसिन छैन, पर्याप्त पानी पनि हुँदैन।
यही समस्या सल्टाउन काठमाडौंमा आएको हो 'स्मार्ट धोबी'।
स्मार्ट धोबीले नयाँ प्रविधिमार्फत् सहरी बासिन्दालाई लुगा धुन सहयोग गरिरहेको सञ्चालक सुजन चौलागाईं बताउँछन्।
'स्मार्ट धोबी भनेको लुगा धुने नयाँ तरिका हो। पहिले धोबीहरूले खोला धारातिर गएर लुगा धुन्थे। अहिले हामी आधुनिक मेसिनले धुन्छौं। त्यही भएर स्मार्ट धोबी नाम दिएको हुँ,' २८ वर्षीय सुजनले भने।
२०७५ सालदेखि सुरू स्मार्ट धोबीको कार्यालय बौद्ध, नयाँबस्तीमा छ। ग्राहकले बोलाएकै ठाउँमा पुगेर लुगा लैजानु, धुनु, सुकाउनु र चट्ट आइरन गरेर पट्याएर घरमै पुर्याइदिनु यसको काम हो।
लुगा लिन र पुर्याउन काठमाडौं उपत्यकाभित्र जता पनि पुग्ने भएकाले ग्राहकको आकर्षण बढ्दो रहेको सुजन बताउँछन्। पछिल्लो समय काठमाडौं, भक्तपुर र ललितपुर तिनै जिल्लाबाट ग्राहकहरू आइरहेको उनले बताए।
'उहाँहरू धेरैजसोले फेसबुकमा मेसेज गर्नुहुन्छ। त्यहाँ हामीले फोन नम्बर उपलब्ध गराएका छौं। फोन गरेर पनि समय लिनुहुन्छ,' उनले भने, 'हामी भनेको समयमै सेवा उपलब्ध गराउँछौं। लिन जानेदेखि पुर्याउनसम्म।'
स्मार्ट धोबीमा अहिले ६ वटा मेसिन छन्; तीन वटा धुने र तीन वटा सुकाउने। सुरू गर्दा तीन वटा मात्रै मेसिन थिए। आठ लाख लगानीमा सुरू भएको स्मार्ट धोबीको लगानी अहिले ३५ लाख रूपैयाँ पुगेको उनले बताए। ग्राहक बढेसँगै उनले लगानी बढाउँदै लगेका हुन्।
अहिले स्मार्ट धोबीबाट दैनिक औसत २० देखि ३० जनासम्मले सेवा लिइरहेका छन्। उनीहरूलाई सेवा दिन पाँच जनाले काम गर्छन्। लुगा ल्याउन र पुर्याउन नियमित खट्ने एक जना छन्। उनले नभ्याएका बेला सुजन आफैं सघाउँछन्।
लुगाको किलोअनुसार शुल्क लिइन्छ। त्यस्तै आइरन गर्ने कि नगर्ने भन्नेले पनि मूल्य फरक पार्छ। लुगा धुने र सुकाएर मात्रै दिँदा किलोको एक सय ३० रूपैयाँ पर्छ। आइरन पनि गरेर दिने हो भने किलोको दुई सय रूपैयाँ तिर्नुपर्छ।
त्यस्तै फाइबर क्लिनिङ, फाइबर सिरक क्लिनिङ, कार्पेट क्लिनिङको छुट्टाछुट्टै शुल्क पर्छ। सबैको मूल्य फेसबुक पेजमै राखिएको उनले बताए।
कम्पनीले लुगा लिन आएको र पुर्याएको भने शुल्क लिँदैन। ग्राहकको भावना बुझेर राम्रो सेवा दिन सक्यो भने यो पेसाबाट राम्रो आम्दानी गर्न सकिने सुजन बताउँछन्।
'सबै खर्च कटाएर महिनामा दुई लाख बचत हुन्छ,' सुजनले भने, 'सेवा दिँदा कहिले धेरै कहिले थोरै आम्दानीमा पनि काम गर्नुपर्ने हुन्छ। कम भए पनि चाहिएको बेलामा सेवा दिन सक्नु ठूलो कुरा हो।'
स्मार्ट धोबी सुरू गर्नुअघि सुजन बिजुली पसल चलाउँथे। आफ्नै केही व्यवसाय गर्ने हुटहुटी थियो। स्थायी घर काभ्रे भएका उनले आमा र दाजुहरूसँग सापटी मागेर पसल खोलेका थिए। करिब एक लाख लगानीमा कालिमाटीमा खोलेको पसलबाट राम्रै कमाइ हुन्थ्यो।
'बिजुली पसल गरेरै काठमाडौंमा घरजग्गा जोडेँ,' उनले भने।
तर एकदिन उनको सोच मोडियो। एक पटक विदेश जानुपर्छ भन्ने भयो।
'एउटा पसलमै श्रीमती र म अल्झिनुभन्दा एक जनाले त्यही गर्ने, अर्को जना अन्तै काम गर्ने भन्ने योजना भयो,' उनले भने।
योजनाअनुसार उनी पोल्यान्ड जाने सुरसारमा लागे। त्यहाँ जान नौ लाख रूपैयाँ लाग्ने बताइएको थियो। मासिक एक हजार युरो कमाउन सक्ने म्यानपावर व्यवसायीले सुनाएका थिए। पोल्यान्डबाट युरोपका अन्य मुलुक छिर्न सकिने र उतै बसेर राम्रो आम्दानी गर्न सकिने लोभ पनि देखाइएको थियो। तर सुजनलाई छिट्टै राम्रो कमाइ गरेर फर्किहाल्नु थियो। युरोपमा बस्नु थिएन।
'पोल्यान्डमा केही वर्ष बसेर अस्थायी कार्ड बनाएर अन्य मुलुक जान पाइने सुनाइएको थियो। मलाई त्यो प्रक्रिया लामो लागिरहेको थियो। त्यही पनि ठीकै छ, कमाइ राम्रै भयो भने फर्किहाल्छु भन्ने लाग्यो। म जान तयार भएँ,' उनले सुनाए।
अन्तर्वार्ताका लागि भारत जानुपर्ने भयो। उनीसहित चार जना भारत गए। दिल्लीमा ५६ दिन बिते।
'भोलि हुन्छ भन्छ, पर्सि भन्छ, कहिल्यै पोल्यान्ड पुर्याएन। फेरि अन्तर्वार्तामा जानुअगाडि पहिले सुनाए जति तलब पनि नदिने भन्ने कुरा गर्यो। त्यसपछि म नजाने भएँ। फर्किएँ,' सुजनले भने।
तर दिल्ली बसाइ उनका लागि लाभदायक भयो। दिल्लीमा पोल्यान्ड जाने पर्खाइमा दिन बिताउँदा कहिलेकाहीँ वाक्क लाग्थ्यो। बाहिरतिर डुल्न निस्किन्थे। त्यही बेला उनले मानिसहरूले लुगा जम्मा गरेर धोइरहेको देखेका थिए।
'मलाई यस्तो व्यवसाय हुन्छ भन्ने थाहै थिएन। यो के हो भनेर सोध्दा उनीहरूले लन्ड्री हो भने। त्यही बेला मलाई यो व्यवसाय गरेर पनि पैसा कमाउन सकिन्छ रहेछ भन्ने भएको थियो,' उनले भने, 'म यो आइडिया लिएर फर्किएँ।'
दिल्लीबाट फर्किएर उनले बिजुली पसलमै काम गरे। झन्डै एक वर्षपछि आफूले दिल्लीमा देखेको लन्ड्री व्यवसाय गर्ने सोचे। यहाँ लन्ड्री चलाउन कति सहज छ, चल्छ कि चल्दैन भन्ने अध्ययन पनि गरे। खट्न सके राम्रै चलाउन सकिने बुझेपछि उनले यही काम गर्ने निधो गरे।
'अनि पोल्यान्ड जान जम्मा गरेको पैसाले स्मार्ट धोबी सुरू गरेँ,' उनले भने।
अहिले उनी आफ्नो व्यवसायबाट सन्तुष्ट छन्। पोल्यान्ड नगएर दिल्लीबाटै फर्किएकोमा उनलाई कुनै पछुतो छैन।
भन्छन्, 'त्यहाँ अर्काको देशमा खट्नुभन्दा आफ्नै देशमा सुखदुःख पाखुरा बजारेको छु। खट्न सके राम्रो छ।'
जुनसुकै व्यवसाय सुरू गर्दा पनि सुरूआती चरणमा केही समस्या हुने उनी बताउँछन्। त्यसलाई समाधान गर्दै निरन्तर मेहनत गर्न सके सफल भइने उनको अनुभव छ।
सुजनको अबको योजना उपत्यकामा स्मार्ट धोबीको सेवा अझ व्यापक बनाउनु हो। यहाँबाट सेवा लिन चाहने सबैसँग जोडिएर उपत्यकाभर सेवा दिने योजना बनाएका छन्।
'सेवाग्राहीलाई भनेको समयमा सेवा दिन सक्नु नै ठूलो कुरा हो। मेसिन थपेर सेवा दिन सकियो भने रोजगारी पनि बढ्छ। सेवा पनि सहज हुन्छ,' उनले भने।
(स्मार्ट धोबीको फेसबुक पेजका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्कः ९८५१०३२२०५)