काठमाडौं, बुढानीलकण्ठ–५ चिसेनी मार्ग हुँदै नाम्चे गुम्बा जाने बाटैमा देखिन्छ बाँसले बारेको खरको छाना भएको घर।
त्यो देख्दा तपाईंलाई पुरानो बस्ती हो कि भन्ने लाग्न सक्छ।
बाँसले बारेको गेटको माथिपट्टि हेर्नुभयो भने लेखिएको देखिन्छ– देक्काइदो ओनसेन रिर्सोट एन्ड फार्म हाउस।
जापानी भाषाको नाम देख्दा यो रिसोर्ट विदेशीको हो कि भनेर कति जना झुक्किन्छन्। विदेशीको त होइन, यसका सञ्चालकहरू विदेश चाहिँ बस्छन्। जापान, अस्ट्रेलिया, अमेरिका, बेलायत र स्विट्जरल्यान्ड गरी पाँच देशमा बस्ने ६ जना नेपाली मिलेर खोलेको रिसोर्ट हो यो। उनीहरूले जग्गाबाहेक यो रिसोर्टमा पाँच करोड रूपैयाँ लगानी गरेका छन्।
विभिन्न देशमा बस्ने नेपाली सञ्चालकहरू, नाम चाहिँ किन जापानी भाषाको?
अस्ट्रेलिया बस्ने, हाल नेपाल आएका कम्पनीका प्रबन्ध निर्देशक खेम शर्माले भने, 'हाम्रो समूहका एक जना साथी लामो समयदेखि जापानमा काम गरिरहनुभएको छ। उहाँले नै यो नाम जुराउनुभयो। जापानी भाषामा यसको अर्थ न्यानो माया दिने भन्ने लाग्ने रहेछ।'
रिसोर्टले नामअनुसारै ग्राहकको आतिथ्यतामा ध्यान दिएको उनले बताए। देक्काइदो ओनसेन सञ्चालनमा आएको नौ महिना मात्रै भयो। मासिक दुईदेखि तीन हजार आगन्तुक यहाँ पुग्छन्।
झन्डै ७ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा तीन वटा प्रवेशद्वार छन्। जुनबाट छिरे पनि भयो। अपांगता भएका व्यक्तिका लागि सहज हुनेगरी छुट्टै गेट बनाइएको छ।
यहाँ खानपिनका लागि ५१ वटा टेबल छन्। कुनामा बस्दा वेटरले नदेख्ने हुन् कि भन्ने चिन्ता लिनु पर्दैन। सबै टेबलमा घन्टी राखिएको छ। त्यो थिचेपछि पानी लिएर वेटर आइहाल्छन्। प्रविधिसँग सहज भए वेटर पनि बोलाउन पर्दैन। टेबलमा भएको क्युआर कोड स्क्यान गरेर अनलाइन अर्डर गर्न सकिन्छ।
'आधारभूत सुविधा सबै ठाउँमा पाउनु पर्छ भनेर सफाइ र ग्राहकको आतिथ्यतामा विशेष ध्यान दिएका हौं,' शर्माले भने, 'महँगो ठाउँमा जाँदा समयमा सेवा पाउने र सफा हुने, सस्तोमा जाँदा नपाउने भन्ने होइन। त्यसकै नमूना सिर्जना गर्न यो रिसोर्ट खुलेको हो।'
रिसोर्टको मुख्य विशेषता आधुनिक शैलीमा नेपाली संस्कृति झल्किनु हो। भित्र छिरेपछि माटोको घर, बाँसले बारिएका कटेज र ढुंगा बिछ्याइको बाटो देखिन्छ। बाटो छेउछेउमा फूल फुलिरहेका छन्। कटेजहरूको नामकरण राष्ट्रिय निकुञ्जहरूको नामबाट गरिएको छ।
काठमाडौंको होहल्लाबाट नजिकै कतै जान चाहनेका लागि यो ठाउँ उपयुक्त हुन सक्छ। जंगलका बीचमा भएकाले शीतल र शान्त छ। चराचुरूंगी र खोलाको आवाज कानमै ठोक्किन्छ। बगैंचामा कालिज र खरायो खेल्छन्। उदाएदेखि नअस्ताएसम्मको घामको किरण पर्ने ठाउँ हो यो। राती क्याम्प फायरको मजा लिन सकिन्छ।
यहाँ एकपटकमा २१ वटा चारपांग्रे सवारी अटाउने पार्किङ छ। सवारीका निम्ति नम्बर प्रणाली छ। शर्माका अनुसार एक दिनको घटनाबाट यो प्रणाली राख्ने सोच आएको हो।
शनिबारको दिन थियो। एक जना ग्राहकले रिसोर्टका कर्मचारीलाई आफ्ना सवारी चालकलाई खाना दिनू भने। त्यो दिन पार्किङमा धेरै गाडी थिए। कर्मचारीलाई उनको गाडी चिन्नै गाह्रो भयो। त्यसपछि नै पार्किङ लट मिलाएर नम्बर राख्न थालिएको हो।
देक्काइदो ओनसेन बिहान ७ बजेदेखि राति १० बजेसम्म खुला रहन्छ। एक पटकमा एक ८२ जनासम्मलाई सेवा दिन सकिने शर्माले बताए। यहाँका मुख्य पाहुना डाँडागाउँ, नाम्चेन गुम्बा हाइकिङ गरेर फर्किनेहरू हुन्।
'धेरैजसो हाइकिङ गरेर फर्कनेहरू ब्रेकफास्टका लागि आउँछन्,' उनले भने, 'दैनिक आउनेलाई १० देखि २० प्रतिशत छुट छ।'
रिसोर्टले आफ्नो नामअनुसारै जापानी परिकारलाई प्राथमिकता दिएको छ। यहाँका मुख्य सेफ लालबहादुर लामाका अनुसार जापानी परिकार खान नेपालीहरू नै बढी आउँछन्। प्राउन टेम्पुरा, बेन्तो बक्स र रामेन प्रख्यात जापानी परिकार हुन्।
प्रबन्ध निर्देशक शर्माका अनुसार रामेन यहीँ बन्छ। रामेन बनाउने मेसिन नेपालमै पहिलो पटक आफूहरूले नै भित्र्याएको उनले दाबी गरे।
'ठूला तारे होटलहरू; मेरियट, हायात, एम्बेस्डर लगायतमा रामेन नुडल्स हामी नै डेलिभरी गर्छौं,' उनले भने।
रिसोर्टमा जापानी, नेपाली र 'निजी' भान्सा छन्। दुइटामा नामअनुसारै जापानी र नेपाली परिकार पाइन्छ, निजी चाहिँ आफैं पकाएर खान चाहनेका लागि हो। सरसामान सबै रिसोर्ट नै जोहो गरेर सहजीकरण गरिदिन्छ।
'जस्तै पिकनिक जानुपर्यो भने १५ दिनदेखि धेरै कुरा जोरजाम गर्नुपर्छ। के, कति सामान, कसरी लैजाने भन्ने झन्झट हुन्छ। आगन्तुकले यो सबै बेहोर्न नपरोस् र उहाँहरूको पूरा समय मनोरञ्जनमा मात्रै बितोस् भनेर हामीले सबै सामग्री उपलब्ध गराउँछौं,' शर्माले भने, 'आगन्तुकको रोजाइअनुसार बुफे पनि हुन्छ।'
रिसोर्टको नाममा भए पनि अहिले यहाँ फार्म हाउस छैन। रिसोर्ट पछाडिको जग्गा लिएर चाँडै बनाउने योजना भने छ। फार्म हाउस भएपछि ग्राहकलाई यहीँ उत्पादित तरकारी, माछा, मासु र दूध खुवाउने सोच सञ्चालकहरूको हो। हाल भने स्थानीय बजार र कालिमाटी तथा बल्खुबाटै सरसामान ल्याउँछन्।
यो सबै उमेर समूह र वर्गका ग्राहक लक्षित रिसोर्ट हो। साथीसंगी, जोडी, परिवार, सबैका लागि यहाँको वातावरण उपयुक्त भएको शर्माले बताए। केटाकेटीका लागि खेल्ने छुट्टै ठाउँ छ। दिनभरि कामको थकानले भोलिको योजना बनाउन उद्योगी, व्यवसायी, सिर्जनात्मक काम गर्नेहरू पनि आउँछन्।
यहाँ पाँच वटा मिटिङ हल छन्; ५० जना अट्ने क्षमता भएको एउटा, २५ जनाको दुइटा र २० जनाको दुइटा। जंगलको बीचमै टेन्ट गाडेर पनि कार्यक्रम गर्न सकिन्छ। त्यस्तो टेन्टमा ५० जनासम्म अटाउन सक्छन्।
शर्माका अनुसार ग्राहक आएपछि तीन/चार घन्टा आरामले बसेर जान्छन्। त्यहीँ बस्न चाहनेका लागि तीन वटा टेन्ट छन्। अरू टेन्ट थप्ने योजना छ। हाल एउटा टेन्टमा बस्न दुई हजार रूपैयाँ लाग्छ। यसमा दुई जना ठूला उमेरका र एक बच्चा अटाउन सक्छन्।
रिसोर्टले विदेशबाट आउने नेपालीलाई डाँडागाउँसम्म पुर्याएर मन्दिर घुमाउने प्याकेज ल्याउने तयारी पनि गरेको छ। पाहुनालाई आवश्यक परे घरसम्म पुर्याउन गाडी व्यवस्था छ। यो सुविधा प्रयोग गर्न राइड-सेयरिङ कम्पनीले लिएअनुसारको शुल्क भने तिर्नुपर्छ।
यहाँ २९ जना कर्मचारी दिनहुँ खटिन्छन्। सञ्चालक सबै विदेश बस्ने भएकाले रिसोर्टको जिम्मा कर्मचारीलाई नै छोडिदिने उनीहरूको योजना छ।
'हामी हुँदा चल्ने, नहुँदा नचल्ने भन्ने भयो भने कुनै योजना सफल हुँदैन,' शर्माले भने।
सञ्चालनमा केकस्ता समस्या आउन सक्छन् भनेर बुझ्न सुरूआती दिनमा भने सबै काम उनीहरूले नै गरेका थिए। भाँडा माझ्नेदेखि गेटमा बस्ने, भान्सा हेर्ने, टेबलसम्म खाना पुर्याउनेसम्म गर्दा कहाँ के समस्या आउँदो रहेछ भनेर पहिल्याउन र समाधान गर्न सहज भयो।
'समस्या आउने ठाउँ पहिल्याएर समाधान गरिसकेका छौं,' उनले भने, 'सिस्टम बनाउन समय दिने हो, बनेपछि आफैं चल्छ। त्यसपछि हामी अर्को काममा लाग्छौं।'
अहिले देक्काइदो ओनसेनको फ्रेन्चाइज पनि धेरैले मागिरहेका छन्। यसबारे हाल बुझिरहेको भए पनि भैरहवामा भने खोल्ने तयारी भइसकेको छ। आगामी तीन महिनाभित्र देक्काइदो ओनसेनको पहिलो फ्रेन्चाइज सञ्चालन हुने उनले बताए।
'यहाँ आउने साथीहरू हामी पनि केही गर्छौं भनेर जान्छन्। यो राम्रो कुरा हो। देशमा लगानी बढ्छ र रोजगारी सिर्जना हुन्छ,' शर्माले भने, 'देशबाहिर बसेका व्यक्तिहरूबाट नेपालमा लगानी भित्र्याउन सकिन्छ।'
देक्काइदो ओनसेनका सञ्चालकहरूले काठमाडौंमा थप दुइटा होटल खोल्ने योजना पनि बनाएका छन्।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी