बढेको बैंक ब्याजदर लगायतका कारण समस्यामा परेपछि चितवनका उद्योगी, व्यवसायीहरूले सडकमै पुगेर विरोध गरेका थिए। केही महिनाअघि व्यापार नै बन्द गरेर उनीहरूले सडकबाट गरेको आग्रहलाई सरकारले सुनेन।
सरकारले वास्ता नगरे पनि सांसदहरूले आफ्ना समस्या संसदमार्फत उठाउलान् भन्ने अपेक्षा उनीहरूले गरेका थिए। त्यो पनि भएन।
नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भरतपुरमा गरेको अन्तर्क्रियामा चितवनका युवा उद्यमीहरूले आफूलाई परेका यस्ता धेरै समस्याहरू सुनाएका थिए।
'बैंक ब्याजदर बढेर हाम्रो व्यवसाय धराशायी बनिरहेको छ। यो विषयमा सरकारले हाम्रो कुरा सुन्दै सुनेन। हामीले सडकमै पुगेर आफ्ना समस्याहरू राख्यौं। तर न सरकारले हाम्रो कुरा सुन्यो, न कोही सांसदले राम्ररी यो कुरा संसदमा उठाइदिए,' मञ्चका पूर्वअध्यक्ष सूर्यभक्त अधिकारीले भने, 'यो विषयमा तपाईंले बोलिदिनुपर्यो।'
मञ्चका अध्यक्ष विकल दाहालले देशको आर्थिक नीति युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने खालको नभएको गुनासो गरे। उनले देशमै केही गरौं भनेर लगानी गरेका युवाहरू डुब्ने अवस्थामा पुगेको बताए।
औषधि व्यवसायी अर्जुन रानाभाटले अहिले देखिइराखेको आर्थिक समस्या कसरी पार लगाउन सकिएला भनेर प्रश्न गरेका थिए। युवा उद्यमीहरूले उद्योग, व्यवसाय सञ्चालनमा सरकारले सहजीकरण नगरेको गुनासो गरेका थिए।
गुनासो सुनिसकेपछि ओलीले देश समस्याग्रस्त अवस्थामा रहेको बताए। यस्तो अवस्थामा पनि सरकारले 'सेटिङ' मिलाउन सक्ने व्यवसायीको मात्रै हित हुने गरी काम गरिरहेको आरोप उनले लगाए।
'भन्सार शुल्क बढ्दै गरेको कुरा कतिपयले पहिल्यै थाहा पाउँछन्। त्यस्तो सेटिङ गर्न जान्नेको व्यवसाय राम्रो चल्छ। सरकारसँग सेटिङ मिलाउन नसक्ने व्यापारी त सकिने भए,' ओलीले भने, ‘देश समस्याग्रस्त अवस्थामा छ।'
उनले बैंकहरू निर्मम साहुजी बनिरहेको बताए।
'बैंकहरू आफूले दिएको ऋणबाट चलिरहेको व्यवसायप्रति उत्तरदायी नै हुन सकेनन्। ऋण दिइसकेपछि सम्बन्धित व्यक्ति वा संस्थाले लगानीको सदुपयोग नगरेर नबिग्रियोस् भनेर अनुगमन गर्ने दायित्व पनि बैंकको हुनुपर्छ। घरभित्रै बसेर ब्याज मात्रै खाने?,' ओलीले प्रश्न गरे, 'डुब्न लागे टेको लगाउनुपर्छ। जवाफदेही, उत्तरदायी बन्नुपर्छ बैंक।'
उनले केन्द्रीय बैंकले हस्तक्षेप गरेर भए पनि उद्यमीहरूलाई जोगाउनुपर्ने बताए।
ओलीले व्यवसायका लागि घरजग्गा धरौटी राखेर नभई प्रोजेक्ट हेरेर ऋण दिने प्रणालीको विकास गर्नुपर्ने बताए।
'घर धरौटी राखेर ऋण दिने त मिटरब्याजी हो। सरकारले त उद्यमशीलता प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ,' उनले भने, 'उद्यमशीलता भए धन त बायाँ हातको खेल न हो!'
ओलीले आफू सरकारको नेतृत्वमा छँदा युवा उद्यमी र महिला उद्यमीका लागि योजनाहरू ल्याएको बताएका थिए।
'युवाहरूलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋणको व्यवस्था, महिलाहरूलाई सस्तो ब्याजदरमा १५ लाख रूपैयाँसम्म ऋणको व्यवस्था मिलाइएको थियो। यसको उद्देश्य उनीहरूले १५ लाख रूपैयाँबाट कुनै उद्यम सुरू गर्न सकून् भन्ने थियो,' उनले भने, 'यस्ता योजनाहरू ल्याएर उत्पादन र उत्पादकत्व बढाउनेतर्फ लागिएन भने देशमा भोकमरी सुरू हुन धेरै समय लाग्दैन।'
दुई दिन चितवन बसेर उद्यमी, किसानहरूलाई भेटेका ओलीले यहाँ देखे/सुनेका समस्या समाधान गर्न सबैतिरबाट दबाब दिने बताए।
'इजरायलले मरूभूमिमा तरकारी फलाएर अरू देशलाई पनि बेचेको छ। युएई, कतार हरियाली बन्दैछन्। हामीसँग त आफ्नै प्राकृतिक स्रोत छ। वन, वन्यजन्तु देखाएरै पनि आम्दानी गर्न सकिन्छ। लाइसेन्स लिएर वन्यजन्तुलाई घरपालुवा बनाउन सकिन्छ। आयुर्वेदिक जडिबुटी प्रशस्त छन्। कृषिजन्य उद्यममा ठूलो सम्भावना छ। फलाम खानीहरू छन्। पेट्रोल, ग्यास खानीका सम्भावना छ,' ओलीले भने, 'गरौं भनेर लाग्ने हो भने सम्भावना त कति छ कति। यसका लागि वातावरण बनाउन म सरकारको नेतृत्वमा हुँदा पनि लागेकै थिएँ। अब पनि लाग्नेछु।'