यति बेला काठमाडौंमा देशभरका शिक्षकहरूको आन्दोलन चलिरहेको छ। आन्दोलनका कारण सडकमा जताततै जाम बढेको छ।
युएन पार्क छेउमा सोडापानीको एउटा गाडा अडिएको छ। गाडाका साहु हुन् भक्तबहादुर थापा। उनी जामसँग बिरक्तिएका देखिन्थे। दिक्क मानेर गाडाछेउ बसिरहेका थिए।
'व्यापार ठप्प जस्तै भएको तीन महिनाभन्दा बढी भयो। अहिले त आन्दोलन भन्छन्, जाम भएपछि व्यापारै हुँदैन,' उनले भने, 'एक क्रेट पनि बेच्न सकिएन।'
मकवानपुर सिस्नेरीका भक्तबहादुर ५३ वर्षका भए। उनले सोडापानी बेच्न थालेकै बीस वर्ष भयो। व्यापार थाल्दा उनले सिसीको पाँच रूपैयाँमा बेच्थे। अहिले सिसीको ६० रूपैयाँमा बिक्री गर्छन्।
'सुरूमा त ठेला ठेल्न कम्ता लाज हुन्थेन, अहिले लाज सबै पच्यो,' उनी केहीबेर हाँसिरहे।
भक्तबहादुर ठेलामा सोडापानी बेचेरै गुजारा चलाउँछन्। यही व्यापारबाट उनले छोराछोरी पनि पढाए। उनका दुई छोरी र एक छोरा हुन्। जेठी छोरीको बिहे भइसक्यो। कान्छी छोरी र छोरालाई उनले आफ्नो खुट्टामा आफैं टेक्नेसम्म बनाइदिएको बताउँछन्।
'छोरीले फार्मेसी पढेर लाइसेन्स निकालिसकी। छोराले ल्याब पढिसक्यो। जे होस् टेको लगाइदिएको छु,' छोराछोरीबाट सन्तुष्ट भएको भन्दै उनी हाँसे।
दुवै छोराछोरीले अहिले कमाउन थालिसकेका छन्। तर पनि भक्तबहादुरले मेहनत गर्न छाडेका छैनन्।
भन्छन्, 'उनीहरूले कमाएको पैसा मैले चलाएको छैन। बचाओ भनेको छु। हातखुट्टा चलुन्जेल त आफैं खट्नुपर्यो नि!'
उनका अनुसार अहिले व्यापार गरेर पैसा बचाउन सक्ने अवस्था छैन। दिनभर मेहनत गर्दा खान-बस्न भने पुग्छ।
'खटेपछि अलिअलि त हुन्छ। व्यापार त कोरोनादेखि नै हो घटेको,' उनले भने।
भक्तबहादुरले कोरोनाअघि राम्रो व्यापार हुँदा महिनामा ५० हजार रूपैयाँसम्म कमाउँथे। अहिले महिनामा बीस-तीस हजार रूपैयाँको बिक्री हुन पनि मुस्किल हुने उनले बताए। कहिले त व्यापारै हुँदैन। कहिलेकाहीँ दिनको एक हजारसम्मको पनि व्यापार हुन्छ।
भक्तबहादुरले बीस वर्षअघि ललितपुरको ग्वार्कोबाट सोडापानी व्यापार सुरू गरेका हुन्। महिनामा ६ हजार रूपैयाँसम्म कमाउँथे। त्यो बेला जागिरेहरूको भन्दा आफ्नो कमाइ धेरै भएको उनी सुनाउँछन्।
'एउटा सिसी दुई रूपैयाँमा ल्याउँथेँ। कागती, बिरेनुन, आइस राखेर पाँच रूपैयाँमा बेच्थेँ,' उनले भने, 'सबै हिसाब गर्दा एक बोतलमा दुई रूपैयाँ फाइदा हुन्थ्यो। सय बोतल बेच्यो भने दुई सय रूपैयाँ फाइदा आउँथ्यो।'
ग्वार्कोमा व्यापार गर्दागर्दै छेउको सडक फराकिलो हुने भयो। चक्रपथ विस्तारपछि उनले सोडापानीको गाडा राख्ने ठाउँ सडकमै बिलायो। केही समय त उनी रनभुल्ल भए। फेरि व्यापार गर्ने अर्को ठाउँ खोज्दै हिँड्न थाले।
उनले च्यासलमा एउटा ठाउँ पाए। च्यासलको झोलुंगे पुल नजिकै उनको गाडा अट्यो। मान्छेहरूको राम्रो चहलपहल हुने ठाउँ थियो। एकदमै राम्रो व्यापार हुन्थ्यो।
'सोडापानी खान केटाकेटी त कति आउँथे, आउँथे,' उनी सम्झिन्छन्।
फेरि त्यहाँ पनि कम्पाउन्ड बन्यो। उनको गाडा अटाउने ठाउँ बिलायो। त्यसपछि युएन पार्कको छेउमा गाडा राखेर व्यापार सुरू गरे।
भक्तबहादुरले युएन पार्कको छेउमा राखेर व्यापार गर्न थालेको सात वर्ष भइसक्यो। यहाँ मान्छेको त्यति धेरै चहलपहल भने हुँदैन।
'चोकतिर लग्यो भने महानगरपालिकाले लखेट्छ। दिनभरि यहीँ बस्यो, जति हुन्छ त्यति हात थाप्यो,' उनले भने।
ठेलामा व्यापार गर्नुअघि भक्तबहादुर फर्निचरको काम गर्थे। फर्निचर उद्योगमा ढोकाको चौकोस, खाट जस्ता सामग्री बनाउँथे। त्यति बेला उनको तलब महिनाको तीन हजार रूपैयाँ थियो। झन्डै ६ वर्ष उनले फर्निचरमा काम गरे।
'अर्काको काम आफ्नो जस्तो नहुने। महिनाभर मेहनत गर्दा पनि तलब नपाइने। गाह्रो भएपछि छाडिदिएँ,' उनी सम्झिन्छन्।
भक्तबहादुर सिस्नेरीबाट काठमाडौं छिरेको तीन दशक भयो। साथीहरू कामका लागि काठमाडौं आउँथे। साथीहरूकै लहैलहैमा लागेर आफू पनि काठमाडौं छिरेको उनी बताउँछन्।
काठमाडौंमा उनले घर बनाउनेहरूलाई काठ दिने, किला ठोक्ने काम पाए। दिनभरि काम गर्दा १५ रूपैयाँ पाउँथे। खाजा भने ठेकेदारले नै खुवाउँथे। उनले घरको काम पनि तीन वर्ष गरे।
'त्यो १५ रूपैयाँ कमाइ पनि निकै ठूलो थियो। अहिले त हेर्नुस् न, एक कप चिया खाऊँ भन्दा ३० रूपैयाँ पर्छ,' उनले भने, 'खाजा खान बस्यो भने दुई सय कमको त केही हुँदैन। पेटै अघाउँदैन के गर्नु?'
२४ वर्षको उमेरमा काठमाडौं छिरेका भक्तबहादुरको मेहनत गर्दागर्दै कपाल फुल्न थालेको छ। शरीर कमजोर हुँदै गएको छ। घर छाडेर हिँड्दा 'पराइको ठाउँमा दुःख होला, यहीँ बस्' भन्ने बुबा पनि बिते। अब घरमा बूढी आमा र श्रीमती उनकै बाटो हेरिरहेका छन्। यो सम्झिँदा भक्तबहादुरलाई अब घरै फर्किऊँ जस्तो पनि लागेको छ।
मन दोधार पनि छ, भने, 'घरतिर गएर काम गरे अलिकित जग्गा पनि छ। तर आफूले काम गर्दागर्दै उमेर यहीँ ढलिसक्यो। चटक्क छाड्न पनि सकेको छैन। हातखुट्टा चलुन्जेल गरौं कि भन्ने पनि लाग्छ।'
अझै धेरै समयसम्म पनि व्यापार ठप्प भइराख्यो भने ठेला थन्क्याएर गाउँ फर्किने योजना उनको छ।
'अलि बिक्री हुने ठाउँमा राख्न महानगरले दिँदैन। यस्तै हो भने त काठमाडौंमा कसरी टिक्नु! केही छोइसाध्य छैन,' उनले भने, 'टिक्न नसके त गाउँ नै जानुपर्ला।'