पञ्चकन्या समूहले रुपन्देहीमा अर्को नयाँ उद्योग संचालनमा ल्याएको छ।
रुपन्देहीको सियारी गाउँपालिका वडा– २ भग्दरीमा युपिभिसीका झ्याल तथा ढोकाहरु निर्माण गर्ने उद्योग संचालनमा ल्याएको हो।
गत बर्षदेखि उत्पादन सुरु गरेपनि उद्योगले औपचारिक शुभारम्भ भने गत सोमबारदेखि गरेको हो। पञ्चकन्या समुहका निर्देशक उज्ज्वल श्रेष्ठ सहित रितेश सिलवाल, नारायण केसी, उदित श्रेष्ठ र आशिक श्रेष्ठको ८० करोड लगानीमा सञ्चालनमा आएको पञ्चकन्या डिमेक्स नेपालकै ठूलो युपिभिसी उद्योग रहेको कम्पनीले दावी गरेको छ।
उद्योगले गतवर्षदेखि नै निर्माण गर्दै आएका विभिन्न चार वटा ब्राण्डका युपिभिसी झ्याल ढोकाहरु अहिले सार्वजनिक गरेको हो।
उद्योगले आफ्नो उत्पादनमा २० वर्ष वारेन्टी दिएको छ। यहाँ उत्पादित झ्याल ढोकाहरु २० बर्ष बढी टिक्ने, पानी र आगोबाट जोगिने, रङ नखुईलिने, बाहिरको हल्ला भित्र नसुनिने, सफाइका लागि सहज र पर्यावरणमैत्री समेत भएको दाबी गरेको छ।
पञ्चकन्या डिमेक्सका अध्यक्ष उज्ज्वल श्रेष्ठका अनुसार नेपालमा युपिभिसी झ्याल ढोकाहरुको माग बढ्दै गएको र नेपालमा पर्याप्त उत्पादन नहुँदा बाहिरबाट आयात गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गुणस्तरीय र अन्तराष्ट्रिय स्तरका झ्याल ढोका उत्पादन गर्ने गरी उद्योग स्थापना गरिएको हो।
हाल नेपालमा खपत हुने युपिभिसी झ्याल ढोकाको झण्डै ८५ प्रतिशत चीन र भारत लगायतका मुलुकबाट आयात हुन्छ भने १५ प्रतिशत माग मात्रै नेपालका उद्योगले धान्दै आएका छन्।
नेपालमा गत आर्थिक बर्षमा १३ हजार मेट्रिक टन युपिभिसी झ्याल ढोका खपत भएकोमा १० हजार मेट्रिक टन बाहिरबाट आयात भएको थियो।
पछिल्लो समय काठको मूल्य बढ्दै जाँदा नेपालमा युपिभिसीका झ्याल ढोकाहरुको माग अत्यधिक बढेको छ। छिटो छरितो र आकर्षक समेत देखिने भएकोले उपभोक्ताहरु पनि युपिभिसीका झ्याल ढोकाहरुप्रति आकर्षित भईरहेका छन्।
त्यसैलाई मध्यनजर गर्दै ठूलो लगानीमा गुणस्तरीय र अन्तराष्ट्रिय स्तरका झ्याल ढोका उत्पादनका लागि युपिभिसी उद्योग संचालन गरिएको श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार कम्पनीले उपभोक्ताको आर्थिक अवस्थालाई हेरेर प्रिमियम, मिडियम र इकोनोमिक तीन प्रकारका झ्याल ढोकाहरु उत्पादन गरिरहेको छ।
उद्योग स्थापनाको एक बर्षको अवधिमा आफ्नो उत्पादनलाई नेपालका सातवटै प्रदेशमा पुर्याई उपभोक्ताबाट सुझाव समेत संकलन गरिरहेको श्रेष्ठले बताए।
बार्षिक ६ हजार मेट्रिक टन युपिभिसी उत्पादन गर्ने क्षमता रहेको उद्योगले पञ्चकन्या डिमेक्स, नियोप्लास्ट, टोनिस यूपीभीसी र साल ब्रान्डका उत्पादन बजारमा ल्याएको छ।
उद्योगमा हाल ६५ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् भने २ सय ५९ जना फेव्रिकेटर व्यवसायीलाई तालिम दिएको जनाएको छ।
युरोपियन प्रविधिको प्लान्ट जडित उद्योगले अन्तर्राष्ट्रिय गुणस्तरका यूपीभीसी उत्पादन गरेकाले जर्मनको प्रख्यात एसकेजेड संस्थाले गुणस्तर प्रमाण चिन्ह प्रदान गरिसकेको छ।