केही वर्षअघिसम्म कुखुरा पालन व्यवसायको केन्द्र मानिने चितवनमा अहिले कुखुराका खोरहरू रित्ता देखिन थालेका छन्। कतिपयले कुखुराको खोरमा च्याउ, तरकारी खेती, सःमिल चलाएका छन्। कोही खोर नै भत्काएर व्यवसायबाट पलायन भएका छन्।
कोरोना महामारीपछि लय छोड्न थालेको यो व्यवसायमा अझै सुधार आउन सकेको छैन। नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टकाअनुसार पोल्ट्रीमा अहिले करिब एक तिहाइ व्यवसायमात्रै चलेका छन्। चलिरहेकामध्ये पनि धेरैजसोले क्षमताभन्दा कम उत्पादन गरिरहेका छन्। चल्ला उत्पादन गर्ने ह्याचरी, अण्डाका लागि पालिने लेयर्स कुखुरा, मासुका लागि पालिने बोइलर कुखुरा पालन, दाना उद्योग लगायतका पोल्ट्रीजन्य व्यवसायमा माग र उत्पादन दुबै घटेको अध्यक्ष विष्ट बताउँछन्।
उनकाअनुसार चितवनमा कुखुरा पालन व्यवसाय घट्नुका केही कारण छन्। पहिलो र मुख्य कारण देशको आर्थिक अवस्था नै हो। अर्थतन्त्र बिग्रिँदा सबैतिर परेको असर यो व्यवसायमा पनि परेको छ।
‘निर्माण व्यवसाय चौपट छ। कतै पनि राम्ररी निर्माणका काम भएका छैनन्। अन्य व्यवसायको हालत पनि उस्तै छ। उपभोक्ताको क्रयशक्ति कम भइरहेको छ। उनीहरू अतिआवश्यक बाहेकमा पैसा खर्च गर्दैनन्,’ विष्ट भन्छन्, ‘राज्य अविश्वासी बनिरहेको छ। उद्योग, व्यवसायका लागि वातावरण बनाउनेतर्फ राज्यको ध्यान पुग्नै सकेको छैन।’
उनले माग नै कम हुँदा उत्पादन घटिरहेको बताए।
बैंकको उच्च ब्याजदरका कारण पनि धेरै व्यवसायी पलायन भएको अध्यक्ष विष्टले बताए।
चितवनमा केही महिनायता कुखुरा पालन झनै घटेको छ। यहाँका होटल, रेष्टुरेन्ट व्यवसायीहरू कुखुराको मासु, अण्डा अन्य जिल्लाबाट आउन थालेको बताउँछन्। चितवनमा अहिले दैनिक ५० गाडी कुखुरा बिक्री हुन्छन्। ती अधिकांश अन्य जिल्लाबाट आउने गरेका छन्। विष्टले यसको कारण उच्च तापक्रम रहेको दाबी गरे।
‘गर्मीका कारण कुखुरामा समस्या देखिन थाल्यो। करिब २८ दिनमा बोइलर कुखुरा बिक्रीका लागि तयार हुन्छन्। तर बिक्री गर्न तयार हुँदै गरेका कुखुरा गर्मीका कारण मर्ने समस्या देखियो,’ उनले भने, ‘यो समस्याले गर्दा चितवनका कुखुरा व्यवसायीले यो समयमा यहाँ कुखुरा पाल्न कम गरे। पहाडी जिल्लाबाट मासु आउन थाल्नुको कारण यो हो।’
नेपाल भेटेरिनरी एसोसिएसनका केन्द्रीय सदस्य डा.निकेश खनालले पनि गर्मीको समयमा रोगले कुखुरामा धेरै असर पर्न थालेको बताए।
‘कुनै समय चितवनमा कुखुरा पालन चरम बिन्दुमा पुग्यो। रोग छरपष्ट फैलिए। गर्मीमा त्यो रोगले निकै गाह्रो बनाइरहेको छ,’ उनले भने, ‘२५–३० दिन पालेपछि बिक्री हुने बेलाका बोइलर कुखुरा मर्ने समस्या बढिरहेको छ।’
उनले यो समस्याका कारण गर्मीमा कुखुरा पाल्नेक्रम निकै घटेको बताए। अहिले व्याक्टेरियाका कारण लाग्ने रोग कम र भाइरसका कारण लाग्ने रोग बढी देखिएको खनालको भनाइ छ।
‘रोग लगायतका कारण साना व्यवसायी त पलायन नै भइसकेका छन्। केही ठूला व्यवसायीले मात्रै यो व्यवसाय धानिरहेका छन्,’ उनले भने।
नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार चितवन र नवलपरासी जिल्लामा अहिले बढीमा १६ लाखवटा कुखुरा व्यावसायिक रूपमा पालिएका छन्। व्यवसायी डेढ सय जति बाँकी छन्। चितवनमा करिब ६ लाख कुखुरामात्रै पालिएका छन्। २०७३ सालताका नेपालभरमा दैनिक ७० लाख अण्डा उत्पादन हुँदा त्यसको ७५ देखि ८० प्रतिशत चितवनमा मात्रै उत्पादन हुन्थ्यो।
नेपालमा कोरोना महामारी सुरू हुनुभन्दा अघि दैनिक ५० देखि ५५ लाख वटा अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर करिब ३० लाख वटा अण्डामात्रै उत्पादन हुन थालेको पोखरेलले बताए।
नेपाल ह्याचरी उद्योग संघका पूर्वअध्यक्ष टीकाराम पोखरेलले लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरीको संख्या देशभरमा १४ वटाबाट घटेर ५ वटा, बोइलरका चल्ला उत्पादन गर्ने ह्याचरी ९५ बाट ४३ वटा भएको बताए। चलिरहेका ह्याचरीले पनि विगतको तुलनामा ५० प्रतिशतमात्रै उत्पादन गरिरहेको उनले बताए।
पोखरेलकाअनुसार दैनिक ३ लाख वटासम्म लेयर्सका चल्ला उत्पादन हुने गरेकोमा अहिले १ लाख २० हजार वटामात्रै उत्पादन भइरहेको छ। १५ लाखभन्दा कममात्रै बोइलर कुखुराका चल्लाको उत्पादन भइरहेको छ। नेपालमा बोइलरका चल्ला उत्पादन ५५ लाखसम्म हुन्थ्यो।
नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने भारतसँगको खुला सीमाना हुँदा अवैधानिक रूपमा आउने चल्ला, मासु, दानाका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातमा धेरै भन्सार शुल्क, युवाहरूको विदेश पलायन जस्ता कारणले कुखुरा पालन व्यवसायमा असर परिरहेको बताए। उनले दानाको मूल्य बढिरहने, बैंक ब्याज थपिइराख्ने तर अन्य उत्पादनले लागत मूल्य पनि नपाउने समस्या रहेको बताए।
नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष पोखरेलकाअनुसार अहिले उत्पादकले अण्डा प्रतिक्रेट ३६० रूपैयाँ ५० पैसामा बिक्री गरिरहेका छन्।
‘प्रतिक्रेट अण्डाको लागत मूल्य नै ४९० रूपैयाँ (एउटा अण्डाको १६ रूपैयाँ ३३ पैसा) पुगेको छ। लागतभन्दा पनि कम मूल्यमा बिक्री गर्न हामी बाध्य छौं,’ पोखरेल भन्छन्, ‘मूल्य आएपछि मात्रै बेच्छु भनेर मिल्ने व्यवसाय होइन। जति मूल्य पायो त्यतिमा बेच्नुपर्ने अवस्था छ।’
अण्डाको मूल्य २०७३ सालमा प्रतिक्रेट ४१० रूपैयाँसम्म पुगेको थियो। त्यतिखेर लागत मूल्य एउटा अण्डाको ११ रूपैयाँ ५० पैसा (क्रेटको ३४५ रूपैयाँ) थियो। केही दिनअघि पनि मूल्य ४५० रूपैयाँ पुगेको थियो। तर यो दर केही दिनमात्रै रहन सकेको पोखरेलले बताए।
‘एक महिनाको अवस्था भन्दा अहिलेको अवस्था थप दयनीय बनेको छ। हरेक महिना अवस्था खस्किँदैछ,’ अध्यक्ष पोखरेल भन्छन्, ‘यही अवस्था रहिरहने हो भने पोल्ट्री व्यवसायमा अझै ठूलो संकट आउँछ।’
विश्व अण्डा दिवसमा सप्ताहव्यापी कार्यक्रम
नेपाल लेयर्स कुखुरा पालक संघ र नेपाल भेटेरिनरी एसोसिएसनले आगामी शुक्रबारसम्म विश्व अण्डा दिवस मनाउँदैछन्। अण्डा उत्पादकहरूले सन् १९९६ मा इन्टरनेसनल एग कमिसन स्थापना भएदेखि हरेक वर्ष विश्व अण्डा दिवस मनाउँदै आएका छन्।
यस वर्ष सप्ताहव्यापी कार्यक्रम गरेर दिवस मनाउन लागेको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।
सबै प्रदेशका १० वटा सरकारी विद्यालयमा अण्डाको महत्वको विषयमा जनचेतनामूलक कार्यक्रम गरी अण्डा खुवाउने, बिरामी, अशक्त, वृद्ध, वृद्धाहरूलाई अण्डा वितरण गर्ने, रक्तदान, अन्तर्क्रिया, पोल्ट्री क्षेत्रका नीतिगत समस्याका बारेमा सरकारी तथा निजी क्षेत्रका व्यवसायीबीच अन्तर्क्रिया गोष्ठी लगायतका कार्यक्रम गर्ने उनले बताए।
असोज २७ गते पोखरामा २७ औं विश्व अण्डा दिवसको औपचारिक समापन गरिने पोखरेलले बताए।