दसैं सुरू भइसक्दा पनि यसपाली नारायणगढ बजारमा चहलपहल बढ्न सकेको छैन।
कुनै समय नारायणगढ चितवनको मात्रै नभएर अन्य जिल्लाको पनि किनमेलको केन्द्र थियो। दसैंको समयमा किनमेलका लागि आउने मान्छेको भीडले बजार क्षेत्रमा सवारी साधन चलाउन पनि हम्मे हुन्थ्यो। कामको चाप बढेर व्यवसायीले कर्मचारी थप्थे।
तर यसपाली नारायणगढ बजार विल्कुल अलग देखिएको छ। अन्य समयमा भन्दा केही ग्राहक बढे पनि बजारलाई दसैं आएजस्तो महसुस नभएको पुतलीबजारस्थित सज्जा किचन स्टोर्सका सञ्चालक सन्देश पिया बताउँछन्। २३ वर्षदेखि नारायणगढमा व्यापार गर्दै आएका पियाले यसपाली जस्तो बिजोग अवस्था पहिले कहिल्यै भोग्न नपरेको बताए।
‘यसपाली साह्रै गाह्रो भएको छ, व्यापार चौपट छ। मान्छेसँग पैसा छैन कि, देशको अर्थतन्त्र नै बिग्रिएर हो कि धेरै कुरा सोच्नुपर्ने भएको छ,’ उनले भने, ‘पहिले दैनिक कम्तीमा पनि ५० हजार रूपैयाँको कारोबार हुन्थ्यो अहिले मुस्किलले ८–१० हजारको हुन्छ। बिहान ११–१२ बजेअघि त बौनी पनि हुँदैन।’
बजारमा सामान किन्न विदेश जान लागेकाहरुमात्रै आउन थालेको पिया बताउँछन्।
‘उधारोमा सामान चाहियो भन्नेहरू आउँछन्। उधारो व्यापारलाई के व्यापार भयो भन्नु। अहिले त मान्छेहरु बेइमान हुन थाले। तिर्नुपर्ने पैसा तिर्नै मान्दैनन्। चेकहरू बाउन्स भएर हैरान छ,’ पिया भन्छन्, ‘तिर्नुपर्नेले वास्तै गर्दैन। लिनुपर्नेले छोड्दै छोड्दैन। हामी जस्ता इमान्दार व्यापारीलाई साह्रै गाह्रो अवस्था आयो।’
नारायणगढमा ४० वर्षदेखि किराना पसल चलाउँदै आएका पवनकुमार गुप्ता बजारमा मन्दी लागेको बताउँछन्। पियुष किराना स्टोर्सका सञ्चालक गुप्ताले महँगीको असर बजारमा परिरहेको बताए।
‘दसैंमा यस्तो भीड हुन्थ्यो कि हामी ६ जनालाई एकछिन पनि फुर्सत हुन्थेन। कहिले भिड घट्ला जस्तो लाग्थ्यो। तर यसपाली ३ जनालाई बल्ल–बल्ल काम पुगेको छ,’ गुप्ता भन्छन्, ‘दस वर्षअघि दैनिक एक लाखको व्यापार हुन्थ्यो। अहिले दैनिक २ लाखको व्यापार गर्न मुस्किल छ। महँगीसँग तुलना गर्ने हो भने यो २ लाख भन्दा त्यो १ लाख त धेरै बढी हो।’
नारायणगढको पुरानो कपडा पसल सुरेश कुमार विनोद कुमार कपडा पसलका सञ्चालक मनिषकुमार पोदारले दुई वर्षयता व्यापार खस्किँदै गएको बताए। गत वर्षको तुलनामा यस वर्ष ४० प्रतिशत कम व्यापार भएको उनी बताउँछन्।
‘बजारमा मान्छेको फ्लो नै कम छ। सरकारले पैसा नपठाएर हो कि। चाडपर्वको मुखमा ग्राहक बढ्नुपर्ने हो तर अवस्था त्यस्तो छैन,’ पोदार भन्छन्, ‘यो स्थिति कायम रहिरह्यो भने धेरै व्यापारी पलायन हुन सक्छन्।’
उनले पूर्वी चितवनबाट आउने सवारी साधनलाई भरतपुरमै रोकिदिँदा त्यसको असर नारायागढ बजारमा परेको बताए।
‘यहाँ टाँडी पर्साबाट धेरै ग्राहक आउनुहुन्थ्यो। लोकल गाडीहरु बजार झर्न नपाउने बनाइएपछि उहाँहरु आउन छाड्नुभयो। यसको असर व्यापारमा परिरहेको छ,’ पोदारले भने, ‘पहिले दसैंमा परिवारका लागि नयाँ कपडा किन्ने चलन हुन्थ्यो। युवाहरु उत्साहित हुन्थे। तर अहिले युवाहरु विदेश पलायन भएका छन्।’
उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष शिरीष पन्त बजार क्षेत्रको अस्तव्यस्त सडकको असर व्यापारमा परेको बताउँछन्। नारायणगढ–गोद्राङ ६ लेन सडक निर्माणको काम ढिलो हुँदा बजारमा ट्राफिक व्यवस्थापन प्रभावित बनेको छ।
‘सडकको कारण यसै पनि असर परिरहेको व्यवसायमा पूर्वी चितवनबाट आएका सवारी साधनलाई नारायणगढ बजारसम्म पुग्न नदिँदा ठूलो समस्या भएको छ,’ पन्तले भने, ‘धेरै गाडी फेरेर बजार पुग्नुपर्ने बाध्यताले समस्या भयो भनेर कुरा उठाइरहेका छौं। तर सुनुवाइ भएन।’
उनले पूर्व–पश्चिम राजमार्ग हुँदै स्थानीय सवारी साधनलाई नारायणगढ बजार पुग्न नदिने भए बाइपास रोडमा पहुँच दिनुपर्यो भनेर आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे। उपाध्यक्ष पन्तले व्यापार नहुँदा व्यवसायीहरु ऋण खोजेर घरभाडा तिर्नुपर्ने अवस्थामा पुगेको बताए।
‘यस्तो आपत परेको बेलामा घरबेटीले समेत हेरेनन् भनेर धेरै व्यवसायीहरूले गुनासो गर्नुभएको छ। व्यापार छैन तर भाडा पहिले जत्ति नै नबुझाइ भएन। यो अवस्थामा पसल राखिराख्न भन्दा बन्द गर्न ठीक ठानेर व्यवसायबाटै पलायन हुनेक्रम धेरै छ,’ पन्त भन्छन्, ‘जताततै सटर खाली छन्।’
यसपालि नारायणगढ बजारकोमात्रै नभएर भरतपुरको बजारमा पनि दसैंको रौनक त्यति देखिँदैन। भाटभाटेनी सुपरमार्केट, चितवन उद्योग संघले चलाइरहेको पर्व मेलामा ग्राहकको उपस्थिति देखिए पनि बजारका पसलहरूमा निकै कम चहलपहल देखिन्छ।
उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष राजन गौतमले आर्थिक मन्दीको असर उद्योगहरूमा पनि परेको बताए।
‘उपभोक्ताको क्रयशक्ति घटिरहेको छ। बैंकको ब्याज तिर्न पनि नसक्ने अवस्थामा धेरै उद्योगी छन्,’ गौतम भन्छन्, ‘ठूला लगानी गरेर खोलेको उद्योग यसै बन्द गर्न मिलेन। तर उद्योग चलाउने वातावरण अहिले छैन।’
यही अवस्थामा धेरै समय उद्योगहरू पनि टिक्न नसक्ने उनी बताउँछन्।