रोजगारीको अवसर खोज्दै दैनिक हजारौं युवा बिदेसिँदै गर्दा विदेशको कमाइ र सीप नेपालमै प्रयोग गर्न डटेर लागेका छन् चितवनका कृष्ण पौडेल।
३६ वर्षीय कृष्ण दस वर्षअघि जापान गएका थिए। त्यहाँ करिब ९ वर्ष रेस्टुरेन्टमा काम गरे। अहिले भने उनले नेपालमै रेस्टुरेन्ट व्यवसाय सुरू गरेका छन्।
भरतपुर-१० स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय नजिकै छ 'याप्पारी स्टेक'। यो कृष्णले सञ्चालन गरेको जापानी रेस्टुरेन्ट हो। उनले जापानको नागोयामा रहेको याप्पारी स्टेकमा ८ वर्ष काम गरेका थिए।
याप्पारी स्टेकका जापानमा १२० वटा शाखा छन्। भरतपुरमा उनले त्यसैको फ्रेन्चाइज भित्र्याएका हुन्।
याप्पारी स्टेकमा ढुंगामा पकाइएका जापानी स्वादका विभिन्न परिकार पाइन्छ। तातो ढुंगामा राखिएको परिकार वेटरले टेबलमा ल्याइदिन्छन्। ग्राहकले त्यसलाई आवश्यकताअनुसार तताउँदै खान सक्छन्।
'सामान्यतया रेस्टुरेन्टमा कुकले तयार पारेर दिने खानेकुरामा नुन, मसला, पिरो सबैलाई उस्तै मन नपर्न सक्छ। थप्न मिल्ला तर घटाउन मिल्दैन,' कृष्णले भने, 'हामी भने मरमसला कम हालेर स्वास्थ्यलाई अनुकूल हुने गरी तातो ढुंगामा राखिएको परिकार ग्राहकको टेबलमा पुर्याउँछौं। ग्राहकले चाख्दै स्वाद र आवश्यकताअनुसार नुन, मसला थपेर चलाउँदै खान सक्नुहुन्छ।'
जापानको माउन्ट फुजीको 'लाभा स्टोन' मा पकाएको परिकार पूरै पाक्न नपाउँदै ग्राहकको टेबलमा पुर्याइन्छ। त्यो ढुंगामा २५० देखि ३०० डिग्री तापक्रममा पकाइएका परिकार ४५ मिनेटसम्म तातै रहने कृष्ण बताउँछन्।
'अरू ढुंगा बढी तापक्रममा फुट्ने र परिकार छिटो सेलाउने समस्या हुन्छ। जापानबाट ल्याइएको ढुंगामा त्यो समस्या हुँदैन,' उनले भने, '४५ मिनेटसम्म चलाउँदै अनुकूल तापक्रममा खान सकिन्छ।'
यहाँ कुखुरा, खसी, बोका, बंगुर, माछाका विभिन्न परिकार तयार हुन्छन्।
कृष्णका अनुसार सुरूमा जस्तो स्वाद थियो, अन्तिमसम्म त्यस्तै आउँछ। गफ गर्दै अन्तिमसम्म तातो खाना खान सकिन्छ। आवश्यक पर्ने सस, मसलाहरू टेबलमै हुन्छन्।
'जापानमा यस्तो देख्नेबित्तिकै नेपालमा पनि खोल्ने सपना देखेको थिएँ,' उनले भने, 'नौ वर्ष लामो मेहनतपछि आफ्नै जिल्लामा रेस्टुरेन्ट सञ्चालन गर्न सफल भएँ।'
उमालेर, बफाएर ढुंगामा पकाइएको खाना आगोमा पोलेको सेकुवा वा मसालेदार परिकारभन्दा स्वस्थकर हुने उनको दाबी छ।
'यो स्वस्थ र कम खर्चिलो हुन्छ। जोसुकैले खान सक्छन्,' उनले भने, 'डाक्टरहरू पनि यहाँका परिकारको पारखी हुनुभएको छ। स्वास्थ्यलाई कम असर गर्ने परिकार बन्दो रहेछ भनेर उहाँहरू तारिफ गर्नुहुन्छ।'
यो रेस्टुरेन्ट नेपाल आउने जापानी नागरिकलाई जस्ताको तस्तै स्वाद दिन र जापान नगएका नेपाली तथा विदेशीलाई जापानी स्वाद दिन स्थापना गरेको उनले बताए।
रेस्टुरेन्ट सञ्चालन गर्न कृष्णले एक करोड रूपैयाँ लगानी गरेका छन्। आवश्यक पर्ने केही सामान उनले जापानबाटै ल्याएका थिए। जापानमा जस्तै संरचना र त्यस्तै सेवा दिनुपर्ने भएकाले खर्च बढी लागेको उनको भनाइ छ।
उनका अनुसार यो जापानबाहिर स्थापना भएको याप्पारी स्टेकको पहिलो फ्रेन्चाइज हो। सञ्चालन गरेबापत उनले जापानी सञ्चालकलाई केही रकम बुझाउनुपर्छ। उनले त्यो रकम नेपालमै सामाजिक काममा खर्च गर्छु भनेको कृष्णले सुनाए।
केही महिना अवधिमै रेस्टुरेन्टले राम्रो गति लिन थालेको छ। नेपालमा अवसर भएन भनेर धेरै युवा बिदेसिँदै गरेका बेला यहाँ रेस्टुरेन्ट सुरू गर्न लाखौं रूपैयाँ खर्च गर्दा उनलाई परिवार तथा आफन्तले धेरै प्रश्न गरेका थिए। उनले ती सबै प्रश्नको जवाफ दिँदै व्यवसाय सुरू गरेका हुन्।
'अझै पनि मेरा आफन्तहरू देशमा आर्थिक मन्दी छ, सटरहरू बन्द भएका छन्, त्यसैले केही वर्ष जापानमै बसेर कमाएको भए हुन्थ्यो भन्छन्। तर मलाई हामीजस्ता युवाले विदेश गएर सीप सिक्ने हो भन्ने लाग्यो। नेपाल फर्केर दुई-चार जनालाई भए पनि रोजगारी दिन सकियो भने धेरै राम्रो हुन्छ भन्ने मेरो विचार हो,' उनले भने, 'उता गरेको काम म यहाँ पनि गर्न सक्छु। अरूलाई काम सिकाउँछु। चार जनालाई काम लगाएको छु। यो बढ्दै जानेछ।'
नेपालमा केही छैन भनेर विदेशमै बसिराख्नुभन्दा त्यहाँ सिकेको सीप यहाँ प्रयोग गरेर हेरौं भन्ने सोचका साथ लगानी गरेको उनले बताए।
उनी भन्छन्, 'पक्कै राम्रो हुन्छ तर केही समय धैर्य गर्नुपर्छ। जापानमा केही भएन भनेर एक–दुई वर्षमै फर्किएको भए त उता पनि के हुन्थ्यो र? धैर्य गरेका कारण केही पैसा कमाएँ, सीप विकास भयो। आफैं गर्न सक्छु भनेर यहाँ आएर लगानी गरेँ। राम्ररी चल्न ५–१० वर्ष पनि लाग्न सक्छ, धैर्य गर्छु। अवश्य राम्रो हुन्छ भन्ने विश्वास छ।'
उनले याप्पारी स्टेकको शाखा काठमाडौं, पोखरा, धरान र भैरहवामा पनि सुरू गर्ने सोच बनाएका छन्। काठमाडौंको लाजिम्पाट र ठमेलमा छिट्टै सेवा सुरू गर्ने उनले बताए।