केशव अर्याल दुई वर्षअघि अस्ट्रेलिया पुगेका थिए। २०७६ फागुनमा डेढ महिनाको छुट्टी लिएर घर आइपुगे।
अस्ट्रेलिया फर्किने दिन नजिकिँदै गर्दा विश्वभर कोरोना महामारी फैलन थाल्यो। विभिन्न देशले हवाई उडान रोके। नेपाल सरकारले पनि विमानस्थल बन्द गर्यो।
त्यही अवधिमा केशवको बिदा सकियो तर अस्ट्रेलिया फर्किन सकेनन्। चौध महिनाको भिसा बाँकी छँदा नेपाल आएका उनको भिसा अवधि कोरोनाकालमै सकियो।
त्यही समयमा उनले अत्याधुनिक लन्ड्री (कपडा धुने व्यवसाय) को योजना बनाएका थिए। यसको सल्लाह भने उनका बुबाले दिएका हुन्।
'बुबाको साथीले लामो समयदेखि धुलिखेलमा लन्ड्री चलाइरहनुभएको छ,' केशवले भने, 'पर्यटकीय क्षेत्रलाई लक्षित गरेर सञ्चालन गरिएको त्यो व्यवसायले राम्रो मुनाफा कमाइरहेको थियो।'
बुबाकै सुझावमा उनी धुलिखेलको लन्ड्री पुगे। एक हप्ता त्यहीँ बसेर व्यवसायबारे जानकारी लिए।
अनि आफ्नो घर चितवनको सौराहामा पनि त्यस्तै व्यवसाय चलाउने निधो गरेर फर्किए।
केशवले चित्रसारी (सौराहा प्रवेश गर्ने मुख्य गेट रहेको ठाउँ) मा लन्ड्री सञ्चालन गर्न संरचना बनाए। अस्ट्रेलियाको कमाइ थियो। त्यसैले भारतबाट कपडा धुने, सुख्खा बनाउने, आइरन गर्ने लगायत मेसिनहरू मगाए।
'सौराहामा धेरै होटलहरू र आन्तरिक तथा बाह्य पर्यटक धेरै आउने ठाउँ भएकाले यहाँ एउटा आधुनिक लन्ड्री चल्छ भन्ने लाग्यो। यहाँ अरू केही लन्ड्री पनि थिए तर त्यति राम्रा थिएनन्। धिकिर–धिकिर चलिरहेका थिए,' उनले भने, 'कोरोना संक्रमण राम्ररी सकिएको थिएन। त्यो अवस्थामा हाइजेनिक बेड सीटहरूको आवश्यकता खड्किएको थियो।'
केशवले धेरै पर्यटक आउने ठाउँमा संक्रमण फैलिन नदिन उनीहरूले प्रयोग गर्ने कपडा हाइजेनिक चाहिने र त्यसको व्यवस्था गर्न अत्याधुनिक लन्ड्री सुरू गरेको भन्दै होटलहरूमा प्रचार गरे।
'होटलहरूमा चिसो पानीमा धोएका कपडा प्रयोग गर्ने चलन थियो। एन्टी-एलर्जीक केमिकल प्रयोग गरिँदैन थियो,' उनले भने, 'मैले १३० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा धोएर, आइरन गरेर, किटाणु पनि नरहने गरी काम गर्ने मेसिनहरू ल्याएको थिएँ। डिसइन्फेक्सन केमिकल हालेर कपडा हाइजेनिक बनाएर पठाएँ।'
बिस्तारै होटल सञ्चालकहरू आफैं उनको लन्ड्री खोज्दै आउन थालेको उनले बताए।
केशवले एक करोड रूपैयाँ लगानीमा लन्ड्री व्यवसाय सुरू गरेका हुन्। यहाँ ४५ केजी क्षमताका दुइटा वाशर (कपडा धुने मेसिन), ४५ केजी क्षमताको एउटा ड्रायर (धोएको कपडा सुख्खा बनाउने मेसिन) र १२ फिट लामो रोलर आइरन (१२ फिटसम्म लामो कपडा आइरन गर्न सक्ने) लगायत मेसिन छन्।
यी मेसिन किन्न मात्रै ६८ लाख रूपैयाँ खर्च भएको उनले बताए।
'यतिका अत्याधुनिक मेसिन भएको व्यावसायिक लन्ड्री चितवनमा यो पहिलो र एक मात्र हो,' उनले दाबी गर्दै भने, 'साना लन्ड्री त धेरै छन्। होटलहरूका आ–आफ्नै लन्ड्री पनि छन्। तर ठूलो परिमाणमा हाइजेनिक कपडा उपलब्ध गराउने अत्याधुनिक लन्ड्री हाम्रो मात्रै हो।'
यहाँ सौराहाका होटलका कपडाका साथै सर्वसाधारणले प्रयोग गर्ने ब्ल्यांकेट जस्ता कपडा पनि धोइन्छ। पाँच जना कर्मचारीहरू यहाँ बसेर काम गर्छन्। केशव आफैं पनि नियमित खट्छन्।
कपडा धुने अर्डर आएपछि लिन सम्बन्धित ठाउँसम्म पुग्न पिकअप भ्यान तयारी अवस्थामा रहन्छ। काम सकिएपछि पुर्याइदिने सुविधा पनि छ।
सौराहामा पर्यटक धेरै आउँदा र चाडपर्वका समयमा लन्ड्री व्यवसाय गज्जब चल्ने गरेको केशवले बताए।
'जब सौराहामा पाहुना धेरै आउँछन्, हाम्रो व्यवसाय पनि राम्रो चल्छ। आएनन् भने चल्दैन। यस वर्ष पोहोरभन्दा कम पर्यटक आएकाले काम घटेको छ। चाडवाडमा पनि त्यति काम आएन,' उनले भने।
दसैं-तिहारमा आन्तरिक पर्यटक बढी आउने र अब बिस्तारै विदेशी पर्यटक बढ्ने सिजन भएकाले काम बढ्दै जाने आशा उनको छ।
'राम्रो चलेको बेलामा महिनामा दुई लाख रूपैयाँसम्म नाफा हुन्छ,' उनले भने।
लन्ड्री व्यवसायमा सबभन्दा धेरै खर्च विद्युत् महसुलमा हुन्छ। त्यसपछि कर्मचारीको तलब। महिनामा साढे दुई लाख रूपैयाँ जति खर्च हुने गरेको केशव बताउँछन्।
केशव अहिले यही काममा रमाएका छन्। कोरोना महामारीपछि फेरि प्रयास गरेको भए अस्ट्रेलियाको भिसा लाग्न सक्थ्यो। तर अब उनी नयाँ प्रक्रिया गरेर जान चाहँदैनन्। नेपालमै केही गर्छु भनेर बसेका छन्।
'पर्यटक धेरै आए भने त यो सम्भावना राम्रो भएको व्यवसाय हो। तर अझै सोचेजस्तो भएको छैन,' ३५ वर्षीय केशवले भने।
उनको योजना यो व्यवसाय बढाउँदै शाखा खोल्ने थियो। तर आर्थिक मन्दीको असर परेकाले यो योजना अहिलेलाई थाती राखेका छन्। अहिलेकै अवस्थामा विस्तारको निर्णय गर्न गाह्रो भएको उनी बताउँछन्।