सुशीलाले असोजमा आफ्नै बारीमा उगाएको फूल बेच्न थालेकी थिइन्। बिक्रीको पहिलो हप्तामै ५० हजारका फूल बेचिन्।
डेढ बिघा जमिनमा खेती गरेकी उनले असोज २१ गतेदेखि बिक्री सुरू गरेकी हुन्।
'पहिलो एक हप्तामै ५० हजारको फूल बिक्री भएपछि तिहारसम्म त राम्रो आम्दानी हुन्छ,' सुशीला ढुक्क छिन्।
सुशीलाको घर कैलालीको कैलारी गाउँपालिका–५ पवेरामा हो। तर उनी, उनका श्रीमान र दुई छोरा धनगढी उपमहानगरपालिका–६ मटियारी सरेका छन्। घर भाडामा लिएर बस्छन्।
फूल खेतीकै लागि उनीहरू कैलारीबाट धनगढी सरेका हुन्।
'१० वर्षका लागि वार्षिक १ लाख तिर्ने गरी जमिन लिजमा लिएर हामीले खेती गरिरहेका छौं,' सुशीलाले भनिन्।
फूलखेती गर्नुअघि सुशीला र उनको परिवारले कैलारीमा घाँस खेती, भैंसी र बाख्रापालनको काम गर्थ्यो। फूलखेती सिक्ने भन्दै तीन कठ्ठा जमिनमा सुरूआत पनि गरेका थिए। उत्पादन भएका फूलहरूलाई तिहारको सिजनमा केही बिक्री गर्थे, बचेको खेर जान्थ्यो। अहिले भने बजार नजिकै भएका कारण माग धान्न गाह्रो भएको छ।
सुशीलाले धनगढीमा डेढ बिघा जमिन भाडामा लिएर फूलखेती गर्नुको श्रेय भने धनगढी–उपमहानगरलाई दिन्छिन्।
उनले पहिलोपटक धनगढी उपमहानगरपालिका र सिटिइभिटीको समन्वयमा वैशाख चारदेखि असार १० गतेसम्म सञ्चालन भएको फलफूल तथा गार्डन नर्सरीसम्बन्धी ६५ दिने तालिम लिइन्।तालिममा नर्सरी, गार्डेनिङ, फलफूल, बेर्नालगायत रोग कीरा नियन्त्रणबारे सिकाइएको थियो। यही समयमा सुशीलाले उपमहानगरपालिकाले नै दिएको जेठ २१ देखि २८ सम्म सञ्चालन गरेको फूलखेतीसम्बन्धी एक हप्ते तालिम पनि लिन पाइन्।
उनी कैलारीबाट घण्टौं गाडी यात्रा गरेर तालिम लिन धनगढी पुग्थिन्। दैनिक आउन/जान सवारी भाडामात्रै एक हजार खर्च हुन्थ्यो। तै पनि तालिममा फूल कसरी लगाउने, सिँचाइ र मल कसरी दिने, रोग कीरा नियन्त्रण गर्न सिक्ने अवसर पाएकोमा दंग छिन्।
तालिमको बिदाइ कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले दिएको भाषणले नै आफूलाई फूलखेती थालिहाल्न प्रेरित गरेको सुशीलाको भनाइ छ।
‘तपाईंहरू फूल उत्पादन गर्नुहोस्, बजारको व्यवस्था हामी गरिदिन्छौं, कुनै पनि हालतमा घाटा हुन दिँदैनौं। घाटा हुन थाल्यो भने व्यक्तिगत रूपमा भए पनि फूल खरिद गरेर बिक्री गरिदिन्छु भनेर मेयर सा'बले भाषण गर्नुभयो त्यसले मलाई फूलखेती गर्न आँट दियो,' उनले भनिन्।
सुशीलाले घर पुगेर श्रीमानसँग भनिन्- फूलखेती गरौं।
त्यसपछि दुवैले योजना तयार पारे। धनगढीमा फूल खेती गर्न जग्गा पाउन सहज भएन। धेरै ठाउँमा धाएपछि मटेयारी गाउँमा जग्गा पाइयो।
जग्गाधनीसँग वार्षिक १ लाख रूपैयाँ तिर्नेगरी १० वर्षका लागि असारमा सम्झौता भयो।
'त्यसपछि फूल लगाउन माटो परीक्षणको काम गरियो। सयपत्री र मखमलीको फूलको बिउ नपाएर समस्या भएको थियो। त्यसका लागि झापासम्म पुग्यौं,' उनले भनिन्।
असारमा बिउ छरे, साउनमा फूलका बोटहरू रोप्ने काम भयो।
साउनतिर रोपेका खेतका सयपत्रीका फूलहरू असोजदेखि नै फूल्न थाले। मखमली पनि फुलिरहेका छन्। टिप्न र अर्डरअनुसार फूलका माला बनाउने काम गर्न सुशीला शंकरलाई भ्याइनभ्याई छ।
‘खेतमै फूलको अग्रिम बुकिङ गर्नेहरू आइरहेका छन्, अहिले त आफ्नो उत्पादनले नभ्याएर साथीहरूका उत्पादन पनि बेच्न भनिरहेका छौं,’ उनले भनिन्।
केहीले फूलको मात्रै अर्डर गर्छन् भने केही मालासहितको फूलको गर्छन्। उनीहरूले आफैं माला उनेर बेच्ने गर्छन्। एउटा मालाको एक सय रूपैयाँ मूल्य राखेका छन्।
बजार नपाउनु स्थानीय किसानको समस्या हो। अहिले धनगढी उपमहानगरपालिकाले भारतबाट आउने फूलमा र प्लाष्टिकजन्य फूलका मालालाई निरूत्साहन गरिरहेको छ। पालिकाले साथ दिएपछि बजारीकरणमा समस्या नहुनेमा आफूहरू ढुक्क भएको सुशीलाका श्रीमान शंकरले बताए।
‘खादाको सट्टा फूल लगाउने, कार्यक्रमका मञ्च पनि हामीले उत्पादन गरेका फूलले सजाउनु होस्, प्लाष्टिकका फूल र बाहिर फूल नल्याउनुहोस् भन्ने कुरा उपमहानगरपालिकाले सबै निकायलाई अनुरोध गरिरहेको छ,’ उनले भने।
किसानहरूले बिक्री गर्न नसके उपमहानगरपालिकाले सहजीकरण गर्ने भनेको शंकर बताउँछन्। सोही कारण उत्पादन भएको फूल खेर नजाने विश्वासले ढुक्क भएर आफूहरू पुष्पखेती गरिरहेको उनले बताए।
उनीहरू अब आफ्नो गाउँ कैलारीको अरू खेती पनि धनगढीमै सार्ने योजनामा छन्।
‘हामी फूलमात्रै होइन, दूध, मासु, घाँस उत्पादन जति पनि गर्नसक्छौं, हाम्रोभन्दा सस्तो माल भारतबाट नआए त हाम्रो उत्पादनले बजार पाउँछन्, त्यसैले गाउँमा गरिरहेको खेती यतै सार्ने योजना बनाइरहेका छौं,’ शंकरले भने।
अहिलेसम्म उनीहरूको फूलखेतीमा लगानी पाँच लाख पुगिसकेको छ। असोज २१ गतेबाट फूलहरू बिक्री गर्नमा सुशीला र शंकर व्यस्त छन्। फूल फूल्दै गएका छन्। खेतसम्मै किन्न आउने र फोनबाट पनि अर्डर आइरहेको उनीहरूले बताए।
फूल टिप्ने र उन्ने काममा सुशीला र शंकरसँगै दुई छोराले पनि सहयोग गर्छन्। कहिलेकाहीँ ६ देखि १० जना कामदार राख्ने गरेका छन्।
‘फूलखेतीले प्रत्यक्ष घरका चार जनालाई स्वरोजगार बनाएको छ, फूल रोप्दा, काट्दा, माला बनाउँदा कहिलेकाहीँ एकैदिन २५ जनासम्म गाउँका मान्छेलाई बोलाउँछौं, उनीहरूलाई दैनिक पैसा दिन्छौं,’ सुशीलाले भनिन्।
धनगढी उपमहानगरपालिकाले प्लाष्टिकका पोलिथिन, गिलास, कप, लगायतका सामग्रीको बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ। सोही अन्तर्गत प्लाष्टिकका फूलमा पनि रोक लगाइएको छ।
प्लाष्टिकका फूल र मालाको विकल्प दिन किसानहरूलाई उपमहानगरपालिकाले फूलखेतीतर्फ जोडेको उपमहानगरका कृषि अधिकृत लोकेन्द्र सिंहले बताए।
उनका अनुसार स्थानीय स्तरमा धान, गहुँको मात्र खेती हुने गर्छ, यी खाद्यान्न बालीले मात्र नाफा कमाउने अवस्था छैन। किसानको आयस्रोत बढाउने हेतुले फूलखेतीको अवधारणा ल्याइएको हो।