ललितपुरको जावलाखेल मैदानमा यसपालि लागेको पुष्प मेलामा अनौठा गमला देखिए।
प्लास्टिकको होइन, माटाको पनि होइन, सिमेन्टको त झनै होइन। गमला उद्योगी रामशरण दवाडीको स्टलमा थियो गोबरको गमला।
आगन्तुकहरू गोबरको गमलामा आकर्षित देखिन्थे। सोधखोज गर्थे। स्टलमा बसेका रामशरण र उनका छोराछोरी गोबरको गमला र मलका बारेमा जानकारी दिन्थे।
गोबरको गमला बनाउने अवधारणा रामशरणलाई युट्युबबाट आएको हो।
'भारतमा गोबर गमलाको चल्ती व्यापक रहेछ। युट्युबमा देखेपछि नेपालमा पनि सम्भावना छ भन्ने लागेर सुरू गरेँ,' रामशरणले भने।
युट्युबमा यस्तो गमला बनाएको देखेपछि रामशरण प्रत्यक्ष रूपमा हेर्न भारतको बिहार र अन्य केही ठाउँ पुगे। उनले त्यहाँ गाईको गोबरबाट बनाएको गमलाको बजार निकै फस्टाएको देखे।
उनले अर्को अचम्म पनि देखे।
'भारतमा त गाईको गोबरबाट घर पनि बनाइएको रहेछ। चप्पल पनि गोबरकै देखेँ,' उनले भने, 'सुगर (मधुमेह) र प्रेसर (उच्च रक्तचाप) का बिरामीका लागि राम्रो गर्छ भनेर चप्पल बनाइएको रहेछ। गोबरबाट बनेका इँटा, धूप, अगरबत्ती, कि-रिङ, फिनेल जस्ता २५० भन्दा धेरै वस्तु देखेँ।'
भारतमा भइरहेको त्यस्तो काम देखेर रामशरणमा जोश पलायो। त्यही रनाहामा उनले उद्योग सुरू गरे।
उनको 'अर्गानिक गमला उद्योग' बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ मा छ। उनले गाईको गोबरबाट गमला र मल बनाउन थालेको तीन वर्ष भयो। केक मल, पत्कर मल, फाइबर मल र गमला आकारको मल गरी उद्योगबाट ११ थरीको मल बन्छ।
केक मल भनेको गोबरको गुइँठा हो। यो बाल्न पनि प्रयोग गर्न सकिन्छ। पत्कर मल झरेका पात जम्मा गरेर बनाइको हुन्छ। त्यस्तै गोबर मसिनो गरी पिसेर विशेष विधिबाट फाइबर मल बनाइन्छ।
यसबाहेक गुइँठा बालेको खरानी पनि प्याकिङ गरेर मलका रूपमा बिक्री हुन्छ। यस्तो खरानी बोटबिरूवाका लागि निकै उपयोगी हुने रामशरणको भनाइ छ।
'गाईको मलबाट अन्न निकै सप्रिन्छ। अर्गानिक अन्न, तरकारी र फलफूल उत्पादन गर्नेका लागि यो मल निकै उपयोगी हुन्छ,' उनले भने, 'खरानीले बोटबिरूवामा ढुसी र लाही हुन दिँदैन। बिरूवा स्वस्थ बनाउँछ।'
गमला मल 'इनडोर प्लान्ट' का लागि निकै उपयोगी छ। पानी हाल्दै जाँदा गमला मल बिस्तारै गल्दै जान्छ र बिरूवालाई उपयुक्त मल प्राप्त हुन्छ।
रामशरणको उद्योगले निम पातको धूलो पनि तयार गर्छ। यस्तो धूलो पानीमा घोलेर कीरा, फट्यांग्रा धपाउन जैविक विषादीका रूपमा प्रगोग गर्न सकिन्छ। यसले कीरा फट्यांग्रामा क्षति पनि हुँदैन, भाग्छन् मात्र।
गोबरको गमला झन् बिरूवाका लागि निकै उपयोगी हुने उनको दाबी छ। यो गमला कम्तीमा दुई वर्ष टिक्छ। त्यसपछि फेर्नुपर्छ।
'खासगरी प्लास्टिकको गमला विस्थापित गर्न गोबर गमला ल्याएका हौं,' उनले भने, 'यसले बिरूवामा हालेको पानी बढी भए बाहिर फाल्छ। बिरूवाका लागि निकै फाइदाजनक र वातावरण अनुकूल छ।'
रामशरणको उद्योगबाट उत्पादित मल र गमलाको मूल्य २५ रूपैयाँदेखि दुई सय रूपैयाँसम्म पर्छ।
यो उद्योग हाल रामशरणका छोरा राजनले सम्हालेका छन्। रामशरण भने सौर्य नेपाल नामक कम्पनीमा इलेक्ट्रिकल सुपरभाइजरका रूपमा कार्यरत छन्। फुर्सदको समयमा छोरालाई मद्दत गर्छन्।
'छोरो पनि के काम गर्ने भनेर सोचिरहेको थियो। त्यही बेला नेपालमा कसैले नगरेको गाईको गोबरको गमला बनाउने आइडिया आयो। ऊ यसमै खटेको छ,' उनले भने।
हिन्दु धर्मावलम्बीहरूमा गाईको गोबरको गमला घरभित्र राख्दा शुभ हुने जनविश्वासका कारण यो गमलाको माग बढ्दै गएको उनी बताउँछन्। सनातन हिन्दु परम्परामा आमा र लक्ष्मीका रूपमा गाईको पूजा हुन्छ।
'जुन घरमा गाई हुन्छ, त्यहाँ लक्ष्मीको बास हुन्छ भनिन्छ,' रामशरणले भने, 'घरमा गाई राख्न नसके पनि गोबरबाट बनेको चिज राखे शुभ मानिन्छ। गाईको गोबरमै लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ।'
उनका अनुसार सुरूमा नेपालीका लागि गोबर गमला नौलो थियो। थाहा पाउनेहरूले हेरे पनि माग थिएन। खबर फैलिँदै हेटौंडा पुगेपछि बल्ल माग आउन थालेको हो।
'नयाँ चिज बनाएपछि मान्छेले हेर्न त हेरे, किनेनन्। तर बिस्तारै यो खबर हेटौंडासम्म खबर पुगेछ। अनि त्यहाँका नर्सरीहरूबाट माग आयो,' उनले भने।
यसपछि काठमाडौंबाट पनि माग आउन थाल्यो। इनडोर प्लान्टका लागि गमला मगाउनेहरू बढ्दै गए। काठमाडौंमा दुइटा पुष्प मेलामा उनी आफ्ना उत्पादनसहित सहभागी भए। अनि माग झन् बढ्दै गएको उनले बताए।
यसअघि उनले भृकुटीमण्डपमा आयोजित मेलामा स्टल राखेका थिए।
'गमला र गमला मलको माग सहरी क्षेत्रमा छ। विशेषगरी कौसी खेती र नर्सरीबाट धेरै माग आउँछ,' उनले भने, 'सहरी क्षेत्रमा बस्ने र स्वास्थ्यमा सचेत व्यक्तिहरू हाम्रा ग्राहक हुन्। हामीले बनाएको गमला र मल उहाँहरूका लागि उपयोगी भएको छ।'
काठमाडौं उपत्यकाका लागि उनले भक्तपुरको पेप्सीकोलामा एउटा गोदाम राखेका छन्। गोबर गमला र मल देशका विभिन्न क्षेत्रमा पुर्याउने उनको योजना छ। उत्पादनहरू चाँडै पोखरा पनि पुर्याउने तयारी भइरहेको उनले बताए।
'नेपालमा भारत र चीनबाट धेरै किसिमको मल आउँछ। त्यस्तो मल उपयुक्त हुँदैन। नेपालमै बनाएको जैविक मल निकै राम्रो छ,' रामशरणले भने, 'थोरै मेहनत गर्ने हो भने घरघरमै मल बन्छ। सहरका मान्छेको माग देशकै उद्योगले धान्न सक्छन्। यस्तो भए हाम्रो पैसा विदेश जाने थिएन।'
रामशरणको उद्योगले बनाउने गोबर गमला र मलको कारोबार राम्रो छ। पछिल्लो एक वर्षमा मात्र १५ लाख रूपैयाँको बिक्री भएको उनले बताए।
अर्गानिक गमला उद्योगले बनाएको मल फलफूल र तरकारी खतीमा बढी उपयोगी हुन्छ। धान, गहुँ, मकै जस्ता खेतीमा उपयोगी हुने भए पनि ठूलो परिमाणमा प्रयोग गर्न महँगो पर्छ।
'गमला र गोबरबाट बन्ने मलको महत्व बुझेर सरकारले सहुलियत दिने हो भने उत्पादन लागत घटेर सस्तो पर्ने थियो,' रामशरणले भने।