चितवनमा उत्पादन भएको सयपत्री र मखमली फूल हङकङमा निर्यात हुने भएको छ। कालिका नगरपालिकाको वडा नम्बर ४ पदमपुरमा फुलाइएका फूलहरुलाई निर्यात गर्न लागिएको हो।
फूल खेती गर्दै आएको फूलमाला फार्म नेपालका सञ्चालक गोबिन्द बास्तोलाले ७०० वटा सयपत्री र ६०० वटा मखमली फूलको माला र दुई क्वीन्टल सयपत्री फूल हङकङ पठाउन लागेको जानकारी दिए।
च्याउ खेती तथा निर्यात गर्दै आएका कमल सुवेदीले यसपाली फूल पनि निर्यात गर्न लागेका हुन्। विदेशमा रहेका नेपालीबाट तिहारका लागि नेपालमा फूलेको सयपत्री फूलको माग भएकाले यहाँबाट खरिद गरेर लैजान लागेको उनले बताए।
‘नेपाली समुदायको बसोबास रहेको हङकङबाट सुरु गर्न लागेका छौं। विस्तारै सिंगापुर, कतार, मलेसियामा पनि पठाउने तयारी गरेका छौं,’ सुवेदीले भने, ‘विदेशमा रहनुभएका दिदी, बहिनीबाट नेपाली फूलको माग भएकाले उहाँहरुको तिहारलाई सुखमय बनाउन खोजेका हौं।’
यहाँको फूललाई प्याकेजिङ गरी आइसबक्समा राखेर जहाजमार्फत हङकंग पठाउने उनले बताए। ‘नेपालबाट ४८० रुपैयाँ प्रतिकिलोमा माला बनाएर लैजाँदा केही नाफा पनि हुन्छ। तर अहिले हामीले निर्यातको सुरुआतमात्रै गरेका छौं। यसमा सरकारले सहजीकरण ग¥यो भने आगामी दिनमा ठूलो परिमाणमा निर्यात गर्न सकिन्छ।’
चितवनमा यसवर्ष करिब ५० बिघा जमिनमा सयपत्री फूलको खेती भएको अनुमान छ। फूल खेती भरतपुर महानगरपालिकामा बढी छ। कालिका नगरपालिकामा करिब ९ बिघा जमिनमा फूल खेती गरिएको छ।
कालिकामा बास्तोला परिवारले पाँच वर्षदेखि सयपत्री फूलको खेती गर्दै आएको थियो। सूरुआतमा आधारभूत विद्यालय पिपरियाको ४ कट्ठा जमिन भाडामा लिएर गरेको फूल खेतीबाट राम्रो आम्दानी भएपछि विस्तार गरेको बास्तोलाले बताए। ‘३० हजार रुपैयाँ लगानी गर्दा ६० हजार आम्दानी भयो। त्यसपछि यो खेती सफल हुने देखेर विस्तार गर्दै लग्यौं,’ बास्तोलाले भने।
तीन जना दाजुभाईसहित परिवारका ८ जना यो व्यवसायमा लागेका छन्।
सञ्चालक अमित बास्तोलाले यस वर्षदेखि बाह्रै महिना सयपत्री फूलको खेती गर्न सुरु गरेको बताए। ‘हामीले हिजो १० कट्ठा जमिनमा बिरुवा रोप्यौं। त्यो अब माघमा फूल्छ,’ उनले भने, ‘गत वर्ष परीक्षण गर्दा सफल भएपछि बाह्रैमास फूल खेती गर्न थालेका हौं।’
उनले फूल खेतीबाट आम्दानीको ५० प्रतिशत नाफा हुने गरेको बताए। बास्तोला परिवारले गत वर्ष फूल बिक्री गरेर १० लाख रुपैयाँ आम्दानी गरेको थियो। यस वर्ष करिब १५ कट्ठा बढी जमिनमा फूल खेती गरेकाले नाफ पनि थपिने बास्तोलाले बताए।
‘अरु बाली लगाउँदा लागत उठाउन पनि मुस्किल हुन्छ तर यो यो नगदे बाली हो। तुरुन्तै पैसा आउँछ। नाफा बढी हुन्छ,’ उनले भने, ‘चितवनमा ३५ जना किसानलाई बिरुवा बेच्यौं। देशका ४१ वटा जिल्लामा बिरुवा, फूल बेचेका थियौं। अहिले विदेश पठाउन लागेका छौं।’
उनीहरुले गतवर्ष ७ हजारवटा माला र ५ क्वीन्टल खुद्रा फूल बिक्री गरेका थिए। यस वर्ष १२ हजारवटा माला र १० क्वीन्टल फूल बेच्ने लक्ष्य राखेका छन्।
कालिका नगरपालिकामा १२ जना किसानले सयपत्री फूल खेती गरेका छन्। मेयर विनोद रेग्मीले सयपत्री फूल खेती गर्ने किसानलाई नगरपालिकाले प्रोत्साहन गरेको बताए। फूलको बिरुवा खरिदमा ५० प्रतिशत अनुदानको व्यवस्था नगरपालिकाले गरेको उनले बताए।
‘किसानले फूल खेतीमा चासो देखाएपछि कृषि शाखाबाट बिरुवामा अनुदान दिने व्यवस्था गत वर्षबाटै मिलाएका थियौं। छिटो उत्पादन हुने र नगद आउने भएकाले यो किसानका लागि उपयुक्त खेती हो भन्ने देखियो,’ रेग्मीले भने, ‘अब हामी फूल खेतीलाई विभिन्न क्षेत्रमा विस्तार गरेर किसानको आयआर्जन वृद्धिमा सघाउनेछौं।’
उनले केरा, कागती, तरकारी, पशुपालनसँगै अब फूल खेतीमा पनि नगरपालिकाको ध्यान पुगेको बताए। फूल खेतीलाई प्रोत्साहन गर्न कालिका नगरपालिकाले प्लास्टिकजन्य फूल, खादाहरुमा प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ। मेयर रेग्मीले बाह्रै महिना फूल उत्पादन गरेर प्लास्टिकका फूल, गुच्छा, खादाको सट्टामा सयपत्री फूलको माला प्रयोग गर्न प्रेरित गर्ने बताए।