भारतबाट दुग्धजन्य पदार्थ आयात गरिएकाले नेपालमा उत्पादित दूधले बजार नपाएको भन्दै किसानहरू आन्दोलन गरिरहेका छन्। बिक्री हुन छाडेको भन्दै केही दिनअघि चितवनका किसानले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा दूध पोखेर सरकारको ध्यानाकर्षण गराएका थिए।
यता आन्दोलन भइरहँदा पर्साको ठोरीका युवाले भने उक्त क्षेत्रमा उत्पादित दूध संकलन गरेर भारतमा बेचिरहेका छन्।
ठोरी–२ हनुमाननगरका भरत अधिकारी र ताराप्रसाद पराजुलीले गौतमनगरमा ठोरी सिद्धेश्वर डेरी सञ्चालन गरेका छन्। यो गाउँभरिको दूध संकलन गर्ने डेरी हो। अन्य तीन स्थानमा बिक्री केन्द्र खोलिएको छ।
संकलित दूधको ठूलो हिस्सा केन्द्रबाटै बिक्री हुन्छ। बाँकी दूध उनीहरूले सिमाना नजिकका भारतीय गाउँमा लगेर बेच्छन्। अहिले उनीहरूको मुख्य बजार भारतको भिखनाठोरी बनिरहेको छ।
'भिखनाठोरीका केही बासिन्दा पहिले ठुटे खोला तरेर ठोरी आई दूध लिएर जान्थे। त्यो संख्या निकै कम थियो। अहिले हामी दूध बोकेर नियमित रूपमा भिखनाठोरी पुग्छौं। उहाँहरू खुसी भएर नेपाली दूध किन्नहुन्छ,' अधिकारीले भने।
दूधको व्यवसायमा उनीहरू बिहान ५ बजेदेखि राति १० बजेसम्म खट्छन्। बिहान ५ बजे पसल खोलेपछि दूध संकलन हुन थाल्छ। हरेक दिन ७–८ बजेतिर करिब ८० लिटर दूध बोकेर उनीहरू भिखनाठोरी पुग्छन्।
त्यहाँका प्रतिलिटर ६० भारतीय रूपैयाँमा दूध बेच्ने गरेको अधिकारीले बताए।
'जमुनियाबाट दिउँसो एक बजेतिर मात्रै दूध आइपुग्ने रहेछ। उहाँहरूलाई उताबाट आएको भन्दा नेपाली दूधको स्वाद मन पर्छ रे,' अधिकारीले भने, 'हामी बिहानै दूध बोकेर पुग्छौं। खुसी भएर किन्नुहुन्छ। उत्तिखेरै नगद पनि आइहाल्छ।'
भिखनाठोरीका ४० घर अहिले उनीहरूका नियमित ग्राहक हुन्। अन्यले पनि आवश्यक पर्दा किन्छन्। बिहे, उत्सवहरूको समयमा भारतका धमौरा, जमुनिया लगायत ठाउँबाट पनि माग हुन्छ।
'कहिले उहाँहरू आफैं लिन आउनुहुन्छ। कहिले अर्डर गर्नुहुन्छ, हामी पुर्याइदिन्छौं,' उनले भने।
सिद्धेश्वर डेरीमा अचेल ठोरीका एक सयभन्दा बढी किसानको साढे तीन सय लिटरजति दूध दैनिक संकलन हुन्छ। बिक्री नभएको दूधबाट दही, पनीर र घिउ बनाइन्छ। यी परिकार स्थानीय बजारमै खपत हुन्छ।
'पनीर भरतपुर पनि पठाउँछौं। यहाँको पनीर र घिउको स्वाद चाखेपछि मन नपराउने मान्छे भेटिएका छैनन्,' अधिकारीले भने, 'जंगलको घाँस खाएका गाईभैंसीले दिएको दूधको परिकारले नेपालीले मात्रै होइन, भारतीयले पनि मनपराएका छन्।'
३३ वर्षीय अधिकारी करिब दस वर्ष भरतपुर बसेर पढ्दै जागिर गरे। त्यसपछि रोजगारीका लागि साउदी अरेबिया पुगेका थिए। त्यहाँ पाँच वर्ष उनले दुग्धजन्य पदार्थ उत्पादन गर्ने मेसिनको अपरेटर भएर काम गरे।
'त्यो सुख्खा र उच्च तापक्रम भएको ठाउँमा पनि गाई पालेर दूध उत्पादन गरेर निर्यात गरिरहेको देखेँ। त्यहाँ एसीबिना बस्नै सकिँदैन। गाई पाल्न पनि एसी चाहिन्छ। जंगल छैन। रसियाबाट ट्यांकरमा घाँस ल्याएको देखिन्थ्यो। त्यो देख्दा आफ्नो ठाउँमा गएर यही व्यवसाय सुरू गर्ने सोच पलायो,' अधिकारीले भने, 'यहाँ त हामीसँग सबै कुरा छ नि। तापक्रमले साथ दिन्छ। घाँस, पानीको कमी छैन। वरिपरि जंगलै जंगल छ।'
पाँच वर्षपछि उनी काम छाडेर नेपाल फर्किए। यहाँ कसरी व्यवसाय सुरू गर्ने भन्ने विषयमा करिब एक वर्ष अध्ययन गरे। त्यसपछि उनले नाताले दाइ पर्ने ताराप्रसाद पराजुलीसँग सहकार्य गरी आफ्नै ठाउँमा डेरी स्थापना गरेका हुन्।
यो व्यवसायमा उनीहरूले १४ लाख रूपैयाँ लगानी गरेका छन्। अधिकारीले गरेको लगानी विदेशको कमाइ हो।
उनीहरू अहिले व्यवसाय बिस्तार गर्न कम्मर कसेर लागेका छन्।
तर ठूला डेरीहरूले खरिद नगरिदिँदा किसानले उत्पादन गरेको दूध ठूलो परिमाण आफूले लिन नसकेको उनी बताउँछन्।
केही समयसम्म सिद्धेश्वर डेरीले दैनिक ५ सय लिटर दूध संकलन गर्थ्यो। दुई दिनमा एक पटक पाँच सय लिटर दूध अर्को डेरीलाई पठाउँथ्यो। तर अहिले उक्त डेरीले दूध किन्न छाडेको छ। देशभर देखिएको आर्थिक मन्दीको असर यहाँ पनि परेको छ।
'ठूलो डेरीलाई दिने दूध कटौती गरेर सकेजति आफैंले बिक्री गर्न थालेका छौं। उताको भर पर्दा किसानहरू डुब्ने अवस्था आउन थाल्यो। लागत मूल्य पनि नपाउने भएपछि पठाउनै छाड्यौं,' अधिकारीले भने, 'मागअनुसार मात्रै किसानबाट दूध खरिद गर्छौं।'
उनीहरूले ठोरीका किसानहरूबाट वर्षमा एक करोड रूपैयाँको दूध खरिद गरिरहेका छन्। धेरै दूध बेच्ने किसानले महिनामा ६० हजार रूपैयाँ यहाँबाट बुझ्ने गरेको उनको भनाइ छ।
अधिकारी आफैंले पनि चारवटा गाई पालेका छन्। तीनवटा दुहुना गाईले दैनिक ११ लिटर दूध दिन्छन्। त्यसबाट मात्रै मासिक २० हजार रूपैयाँ आम्दानी हुन्छ।
डेरीले अहिले उनीहरूको घर खर्च चलेको छ। उनीहरूको लक्ष्य यसलाई फैलाउँदै लैजाने हो।
'कम्तीमा यो व्यवसायले मेरो रोजगारीका लागि विदेश जाने सोच हटाएको छ। अहिले धेरै आम्दानी नभए पनि राम्रो व्यवस्थापन गर्दै व्यवसाय फैलाउने र आम्दानी बढाउँदै जाने लक्ष्य छ,' अधिकारीले भने।
दूधको बजारको समस्या नभए उत्पादन बढाउन किसानहरू तयार रहेको उनले बताए। बजार अभावमा अहिले किसानहरूले थोरै परिमाणमा मात्रै दूध उत्पादन गरिरहेको उनी बताउँछन्।
'हाम्रो व्यवसाय चाहिँ सानो परिमाणमा चलेकाले होला, खासै समस्या छैन। तर दूध व्यवसायीहरूका कुरा सुन्दा समस्या नै समस्या छ। समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्छ,' अधिकारीले भने, 'यो किसानसँग प्रत्यक्ष जोडिएको समस्या हो। किसानलाई उत्साहित बनाउनु सरकारको दायित्व नै हो नि।'