तीन महिनाअघि काठमाडौंबाट अर्डर आएको थियो– सय वटा ‘टेबल म्याट’ बनाएर पठाइदिनू।
सुर्खेतकी ४० बर्षीया बिर्माकुमारी थलाल (कसेरा) ले गत जेठ २५ गते ती सामान बनाएर पठाइन्। करिब डेढ महिना लगाएर उनले बनाएका ती सामान बुझ्नेबित्तिकै अर्डर गर्ने व्यक्तिले उनलाई अनलाइन भुक्तानी गरिदिए।
लगत्तै फेरि उनै व्यक्तिले बिर्मालाई थप सामान अर्डर गरेका छन्। यसपालि उनले ‘टिम्याट’ र ‘टेबल म्याट’ गरी ६० पिस मगाएका छन्। ती सामान बनाउन उनलाई झण्डै एक महिना लाग्नेछ। त्यसैमा अहिले बिर्मा व्यस्त छिन्।
वीरेन्द्रनगर नगरपालिका–१२, गाग्रेतालकी बिर्मा केराको बोटको बोक्रा (दाम्चा) बाट घरेलु सामान बनाउँछिन्। उनले यो काम सुरू गरेको आठ महिना भयो।
गत वर्ष भदौमा केही घरेलु सामग्री बनाउने तालिम लिएकी थिइन्। तालिम लिएर काम सुरू गरेको एक वर्ष नहुँदै काठमाडौंको अर्डर आएको हो।
उनीसँग तालिमका क्रममा पाएका दुई वटा तान छन्। गाउँमा यस्तो सीप जानेकी उनी मात्र हुन्। एक महिनाको तालिमपछि गत वर्ष मंसिरमा घरेलु उद्योग दर्ता गराइन्।
उनी चियाको कप राख्ने टी–म्याट, टेबल म्याट, टेबल रनर लगायत पाँच प्रकारका सामान बनाउँछिन्।
बिर्माले आफ्नो उत्पादनको खास प्रचार गरेकी छैनन्। जति बनाउन सक्छिन् त्यति नै बेच्छिन्। बढी माग भए पुर्याउन सक्दिनँ भन्ने उनलाई लाग्छ। जनशक्ति हुने र सानै भए पनि उद्योगको संरचना बनाउन सके व्यवसाय निकै राम्रो हुने थियो भन्ने उनलाई लागेको छ। लगानी जुटाउन सक्दा आफ्नो सीपबाटै निकै ठूलो व्यवसायी बन्छु भन्ने उनको विश्वास छ।
बिर्माका एक छोरा छन् तर श्रीमानसँग सम्बन्ध राम्रो हुन सकेन। बाह्र कक्षा पढ्दै गर्दा पढाइ छाडिन्। हाल माइतीमै बस्छिन्।
उनमा शारीरिक अपांगता छ। चार वर्षको उमेरमा एउटा खोप लगाएपछि खुट्टामा संक्रमण भयो। अस्पतालमा शल्यक्रिया भयो तर खुट्टो कमजोर भयो।
बिर्माकी आमाका अनुसार शल्यक्रियामा नसा चुँडियो। आखिर एउटा खुट्टो कमजोर भयो। धेरै बेर हिँड्न र गह्रौं भारी बोक्न सक्दिनन्।
बीर्माले केराको दाम्चाबाट घरेलु सामान बनाउने तालिम लिनुअघि बंगुर, कुखुरा र बाख्रा पालेकी थिइन् तर नाफा कमाउन नसकेपछि काम छाडेर खाली बसेकी थिइन्।
उनले भनिन्, ‘कहिले बंगुर पाल्ने; कहिले कुखुरा र बाख्रा पाल्ने गर्दै थिएँ। लगानी गर्न सकिनँ। सरसापट गरी पालेका पशुवस्तु बेचेर यतिकै बसेकी थिएँ।’
गत वर्ष एक दिन घरेलु उद्यमको तालिम दिने एक जना प्रशिक्षकसँग भेट भयो। प्रशिक्षक थिइन् जाजरकोटकी शीला नेपाली। शीला ‘महिला उद्यमी संघ’ को कर्णाली प्रदेश अध्यक्ष पनि हुन्। उनीहरूको भेट सुर्खेतमै भएको थियो।
भेटमा कुरा हुँदै जाँदा बिर्माले आफू बेरोजगार बस्नु परेको बताइन्। शीलाले उनलाई सीप सिक्न सल्लाह दिइन् र आफूले निःशुल्क सिकाइदिने वचन पनि दिइन्। सीप सिक्न चाहने आफूजस्ता दिदीबहिनी भए जम्मा गर्न पनि आग्रह गरिन्।
‘उहाँ (शीला) ले म तपाईंहरूलाई तालिम दिन्छु, पैसा तिर्नुपर्दैन भन्नुभयो,’ बिर्माले भनिन्, ‘घरेलु उद्यम गर्न सजिलो छ भनेर मलाई हौसला दिनुभयो।’
शीलाले भनेअनुसार बिर्माले १० जना दिदीबहिनी जुटाइन्। तालिम सुरू भयो तर सात जनाले बीचमै छाडिदिए। तीन जनाले तालिम लिए तर अरू दुई जनाले सीपको सदुपयोग गरेनन्।
तालिम सकिनेबित्तिकै बिर्माले सामान बनाउन सुरू गरिन्। उनको जाँगर देखेर शीलाले दुइटा तान जुटाइदिइन्। तान किन्न पैसा खर्च गर्नु परेन।
केही सामान तयार भएपछि आसपासका मानिसहरूले मन पराए, किनेर लगे। बिर्मालाई आफ्नो सीपले आम्दानी गर्छ भन्ने विश्वास भयो। उनले गतमा ‘प्राकृतिक रेसा उद्योग’ नाम राखेर घरेलु उद्योग दर्ता गराइन्।
उद्योग दर्ता गरेको केही दिनपछि नेपालगञ्जमा औद्योगिक मेला लाग्यो। शीलाले बिर्मालाई आफूले बनाएका सामान लिएर औद्योगिक मेलामा सहभागी हुन सुझाव दिइन्। उनले धमाधम केही सामान बनाइन्।
सुझावअनुसार उनी केही सामान लिएर मेलामा गइन्। दुई दिनमै सबै सामान बिक्री भयो।
‘एक्लैले धेरै बनाउन सकिनँ। जम्माजम्मी १५ हजार रुपैयाँको सामान लिएर गएकी थिएँ, दुई दिनमै बिक्री भयो,’ उनले भनिन्, ‘जनशक्ति भएको भए अझ धेरै बनाएर लैजान हुन्थ्यो। त्यो मेलामा मलाई धेरैले सामान ल्याइदेऊ भन्नुभयो।’
मेलाबाट फर्केपछि ढुक्कले सामान बनाइन्। ती सामान लिएर काठमाडौंमा आयोजित औद्योगिक मेलामा गइन्। मेला नसकिँदै सामान सकियो, ५० हजार रुपैयाँको व्यापार भयो।
उनका अनुसार मानिसले केराको दाम्चाबाट बनेको सामान शुद्ध मान्छन्। पूजामा बस्ने चकटी र पूजाको सामान राख्ने डाली राम्रो मान्छन्।
काठमाडौंको मेलाबाट फर्केपछि बिर्मा कतै जानु परेको छैन। अर्डर पूरा गर्दैमा ठिक्क छ। नेपालगञ्ज र काठमाडौंका मेलाले उनलाई आफ्नो सीपको महत्व थाहा भयो। राम्रो आम्दानी गर्न सक्छु भन्ने विश्वास भयो।
बिर्माले भनिन्, ‘नेपालगञ्जमा मलाई जुम्लाका उद्यमी महिलाहरूले धेरै हौसला दिनुभयो।’
उनले मासिक कम्तीमा २५ हजार रुपैयाँसम्म कमाउन सकेको बताइन्। कमाइलाई उनले बचतकै रूपमा राख्न भने सकेकी छैनन्। घर खर्चमा उनलाई यो कमाइले मद्दत गरेको छ।
‘यसमा लगानी छैन, मेहनत मात्र हो। दिनभरि काम गर्दा राम्रै कमाइ हुन्छ,’ उनी भन्छिन्, ‘धेरै सामान बनाउन सक्दा आम्दानी पनि धेरै हुन्छ। सामान खोज्ने मान्छे घरमै आउँछन्।’
केराको दाम्चा जम्मा गर्ने काम उनकी आमा पूर्णकली गर्छिन्। उनी केराबारी भएका आसपासका घरमा पुग्छिन्। त्यहाँ केरा पाकेर ढालिएका बोटका दाम्चा जम्मा गर्छिन्। बुवाले पनि यही काममा उनलाई सघाउँछन्। सामग्री बनाउने काममा भने बिर्माका छोरा र बहिनीहरूले सामान्य रूपमा सघाएका छन्।
‘छोरी (बिर्मा) को खुट्टो बलियो छैन, भारी बोक्न सक्दिन। म केराको बोटको बोक्रा (दाम्चा) ल्याइदिन्छु,’ उनी भन्छिन्, ‘केराका रूख ढालेका ठाउँमा गएर बोक्रा निकालेर ल्याउने हो। सबैले दिन्छन्।’
गाईभैंसी पालेका रहेछन् भने दिँदैनन्। केराको बोट गाईभैंसीलाई खुवाउँछन्। आजकाल त गाउँका मान्छेले केराको बोट ढालेको छ छनेर पूर्णकलीलाई खबर पनि गर्छन्।
आजसम्म केराको बोटका लागि पैसा तिर्नुपरेको छैन तर धेरै उत्पादन गर्न कच्चा पदार्थ अभाव हुने बिर्माको अनुमान छ। भन्छिन्, ‘यो क्षेत्रमा केराखेती छैन। घरमा खानलाई लगाएको केराबाट मात्र कच्चा पदार्थ पुग्दैन।’
बिर्माका अनुसार सामान बनाउन छिप्पिएको बोट चाहिन्छन्। दुई तीन पत्र दाम्चा मात्र काम लाग्छ। दाम्चा चिरेर मसिनो त्यान्द्रा बनाइन्छ र घाममा सुकाइन्छ। राम्ररी सुकेपछि हलुका डोरीजस्तो हुन्छ। त्यसलाई पानीमा भिजाएर तान हालेर सामान बनाइन्छ।
उनी स्थानीय महिलाहरूलाई तालिमका लागि जुटाउने प्रयासमा छिन्। केही दिदीबहिनीलाई भनिन् पनि तर उनीहरूले इच्छा देखाएका छैनन्।
सीप भएको जनशक्ति नभएकै कारणले बिर्माले उनकोमा आउने माग पूरा हुनेगरी सामान बनाउन सकेकी छैनन्। आफ्नो उद्योगको प्रचार पनि गरेकी छैनन्।
भन्छिन्, ‘मैले प्रचार गरेकै छैन। कसैले मलाई चाँडै ५० वटा टेबलम्याट चाहियो भन्यो भने दिन सक्दिनँ। अर्डरको सामान बनाउँदैमा ठिक्क छ।’
उनी दिदीबहिनीलाई तालिम दिएर उत्पादन बढाउने प्रयासमा छिन्। दिदीबहिनीले आआफ्नै घरमा बसेर सामान बनाए भने पनि सबै किनिदिने उनको योजना छ।
तालिमप्राप्त जनशक्ति हुने हो भने उद्योग निकै राम्ररी चलाउन सकिने र आम्दानी पनि हुने बिर्माको विश्वास छ।
'अब त लगानी जुटाउन सक्छु भन्ने आँट पनि पलाएको छ। धेरै पैसा कमाउने र ठूलो उद्यमी बन्ने हो नि म त,' उनले भनिन्।