तुलसीपुर उपमहानगरपालिकाको कार्यालय प्रवेश गर्ने मूल गेटमा नगरभित्रका होमस्टे को नाम, ठेगाना र सम्पर्क व्यक्तिका फोन नम्बर स्पष्ट देखिने गरी लेखेर राखिएको छ।
तर यीमध्ये अधिकांश होमस्टे बन्द भएका छन्।
उपमहानगर कार्यालयको गेटमा राखिएको जानकारीअनुसार सम्पर्क व्यक्ति खोज्दै हालै एउटा टोली अवलोकन र अनुगमनमा निस्केको थियो।
टोलीमा मेयर टीकाराम खड्का, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी, पर्यटन शाखाप्रमुख झरेन्द्र खरेल र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी लगायत संलग्न थिए।
पर्यटन शाखाका प्रमुख खरेलले केही सञ्चालकहरूलाई फोन सम्पर्क गरी आफूहरू अनुगमनमा आउन लागेको सूचना दिएका थिए।
अनुगमन टोली सबैभन्दा पहिला वडा नम्बर ८, बटोलपुरमा रहेको ‘थारू होमस्टे’ मा पुगेको थियो।
त्यहाँ होमस्टे रहेको कुनै संकेत थिएन। उपमहानर कार्यालयले उपलब्ध गराएको होमस्टे नम्बर पनि थिएन। थारू होमस्टेको कुनै पनि संकेत नदेखिएपछि अनुगमन टोली ‘बटोलपुर होमस्टे’ खोज्दै बटोलपुर गाउँको पुछारसम्म पुगेको थियो।
खोजी गर्दै जाँदा ‘बटोलपुर होमस्टे’ सञ्चालक समितिका कार्यवाहक अध्यक्ष ५२ वर्षीय महेन्द्र चौधरी भेटिए।
उनले होमस्टेमा पाहुनाका नआएको सात महिना पूरा भएको बताए। उनका अनुसार बटोलपुर होमस्टे अन्तर्गत पाँच वटा होमस्टेहरूको एउटा समूह थियो।
उनले भने, ‘अहिले यहाँका पाँच वटै होमस्टे बन्द छन्, चलेका छैनन्। पाहुना बस्ने कोठामा मुसाले डेरा गरेको छ।’
मेयर खड्का र प्रमुख प्रशासकीय अधिकृत डाँगीले पाहुना बस्ने कोठा हेर्ने चाहना राखे। महेन्द्रले स्थानीयवासी ५० वर्षीया देउकुमारी चौधरीले चलाएको होमस्टेमा पुर्याए। देउकुमारीको होमस्टे निकै राम्रो मानिन्थ्यो।
मेयरसहितको टोली देखेपछि देउकुमारी छक्क परिन्। मेयरले आफू आउनुको उद्देश्य बताए।
‘तपाईंहरूले हेर्न लायक केही पनि छैन,’ देउकुमारीले यथार्थ अवस्था जानकारी गराइन्, ‘पाहुना नआएपछि ओढ्नेओछ्याउने सबै बाँधेर कुटुरो पारी कुनामा राखेका छौं।’
पाहुनाका राख्न सजाइएका कोठामा घरायसी सामग्री असरल्ल थिए। ती कोठामा परिवारकै सदस्यहरू सुत्ने गरेको उनल बताइन्।
उनका अनुसार उपमहानगर कार्यालयले उपलब्ध गराएका सिरकडसना केही पोको पारेर कुनामा थन्काइएका छन् त केही परिवारकै सदस्यहरूले प्रयोग गरेका छन्।
आफूले होम होमस्टे खोलेको भए पनि बास बस्ने गरी कहिल्यै पाहुना नआएको उनले बताइन्। सुरुको एक–डेढ वर्षसम्म दिउँसो चियाखाजा खाने पाहुना फाटफुट आए पनि बिस्तारै त्यो पनि ठप्प भयो।
‘कोही पनि पाहुना नआएपछि कति दिन घर कोठा त्यतिकै खाली छोड्ने,’ उनले भनिन्, ‘हामी खेत किसानी गर्ने मान्छेलाई अन्नपात र सरसामान राख्न कोठा चाहिन्छ।’
पाहुना आउने आशमा कोठा सफा गरेर खाली छोड्ने गरे पनि मुसाले घर बनाउन थालेपछि ओढ्नेओछ्याउने पोको पारेर थन्क्याउनु परेको उनले बताइन्।
उनले भनिन्, ‘होमस्टे चाहियो, बस्न आउनुपर्यो भनेर कतैबाट पनि फोन आउँदैन। होमस्टे त नामको मात्रै भएको छ। अब त कसैले फोन नगरे हुन्थ्यो।’
उनका अनुसार बटोलपुर थारू होमस्टेमा कुल पाँच युनिट छन्। एक पटकमा दस जनासम्म पाहुना बास बस्न मिल्ने सुविधा भए पनि हालसम्म रात बिताउने गरी पाहुना आएका छैनन्।
उपमहानगरले यहाँका हरेक होमस्टे लागि ओड्नेओछ्याउने दिएको थियो।
अनुगमन टोली बटोलपुरबाट वडा नम्बर ७, पर्सेनीको ‘कुमाल गाउँ होमस्टे’ पुग्यो। यहाँको अवस्था पनि बटोलपुरको भन्दा फरक थिएन। होमस्टे रहेको कुनै संकेत थिएन।
होमस्टे सञ्चालकहरूमा कुनै उत्साह थिएन। होमस्टे खोलेका ५२ वर्षीय तिखे कुमालले निराश थिए।
उनले भने, ‘पाहुना नआएपछि कोठा खाली राख्न सकिँदैन। फाइदा हुँदैन भने होमस्टे भनेर मात्र भएन।’
उनका अनुसार सुरुको करिब दुई वर्ष कुमाल गाउँका होमस्टेमा पाहुनाको राम्रै चहलपहल थियो तर बिस्तरै हरायो।
उनले होमस्टेल चलाउनुका केही व्यवाहारिक कठिनाइ अनुभव गरेको पनि बताए।
‘आफू बस्ने घरमै पाहुना राख्नु अलिक अप्ठेरो रहेछ,’ तिखेले भने, ‘श्रीमती र जवान छोरी भएका घरमा कोही पाहुना मनपरी छाडा बोल्ने र कसैले (रक्सी) खाएर नराम्रो व्यवहार देखाउने भएपछि अप्ठ्यारो हुँदो रहेछ।’
कुमाल गाउँबाट मेयरसहितको अनुगमन टोली त्यही वडाको शान्ति उद्यान पुगेको थियो। यहाँ सञ्चालित ‘राप्ती शान्ति सामुदायिक होमस्टे’ बन्द भएको छ।
होमस्टे समितिका अध्यक्ष लगायत केही पदाधिकारीहरूलाई फोन गरेर अनुगमनमा आउन लागेको खबर गरे पनि उनीहरूले बेवास्ता गरेका थिए। त्यहाँ अनुगमन टोलीले होमस्टे सञ्चालक समितिका कसैलाई पनि भेटेन।
‘राप्ती शान्ति सामुदायिक होमस्टे’ सञ्चालक समितिका उपाध्यक्ष ढुण्डिराज पराजुलीले आफ्नो ठाउँका सबै होमस्टे बन्द भइसकेको सेतोपाटीलाई बताए।
उनले होमस्टे सञ्चालनमा केही व्यावहारिक कठिनाइ रहेको पनि बताए।
‘पाहुना रमाइलो गर्न आउने हुन्। मादक पदार्थ सेवन गर्न र नाचगान गर्न चाहन्छन्। होहल्ला पनि गर्न खोज्छन्। होमस्टे भनेपछि घरमै राख्नुपर्यो तर घरपरिवारमा नकारात्मक प्रभाव पर्ने देखियो,’ उनले भने, ‘होमस्टेको अवधारणा राम्रो भए पनि केही गतिविधि घरपरिवार र सामुदायलाई पाच्य नभएपछि सेवा बन्द गर्नुपर्ने अवस्था आयो।’
वडा नम्बर ४ को पहाडी क्षेत्रमा रहेको ‘मूलकोट चमेरे गुफा सामुदायिक होमस्टे’ पनि बन्द भएको छ।
सुरुमा पाहुनाको चहलपहल भए पनि हाल त्यहाँका होमस्टे बन्द छन्। बाटो राम्रो नहुनु र असुरक्षा जस्ता कारणले पाहुनाको रुचि नदेखिएको स्थानीयवासीको भनाइ छ।
यहाँका होमस्टेलाई उपमहाननगरले अनुदान उपलब्ध गराएको थियो। ‘छाया नेपाल’ नामको संस्थाले होमस्टे चलाएका पाँच परिवारलाई एकएक थान फ्रिज (रेफ्रिजरेटर) पनि दिएको थियो। लुम्बिनी प्रदेश सरकारले पनि आर्थिक सहयोग गरेको थियो।
आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारको अनुदानमा ‘मूलकोट चमेरे गुफा सामुदायिक होमस्टे भवन’ निर्माण गरिएको छ तर प्रयोगमा छैन। त्यसमा विगत तीन वर्षदेखि ताला लागेको छ।
भवन निर्माणको काम २०७७ फागुनमा पूरा भए पनि हालसम्म सञ्चालनमा आउन नसकेको स्थानीयवासी द्रोणबहादुर पुनले बताए। होमस्टे सञ्चालनका लागि सरकारका कुनै पनि निकायले खास चासो नदिएको उनको गुनासो छ।
अनुगमन टोली मूलकोटबाट वडा नम्बर ३ धामास्थित ‘भैरव नरसिंह सामुदायिक होमस्टे’ पुगेको थियो। त्यहाँका सञ्चालकहरू भने केही उत्साहित देखिन्थे।
धामा दाङको तुलसीपुर र सल्यानको कपुरकोट गाउँपालिकाको सीमाना जोडिएको क्षेत्र हो।
सञ्चालक समितिका अध्यक्ष ५० वर्षीय लालबहादुर पुनका अनुसार त्यहाँ पाहुनाहरू आउजाउ गरिरहन्छन्। पाहुनाको चाहनाअनुसार परिकार खुवाउने र स्थानीय कला संस्कृति देखाउने गरिएको छ।
मगर समुदायको बसोबास रहेको धामामा प्रदेश सरकारको अनुदानमा रोधीघर बनेको छ तर बजेट अभावले पूरा हुन सकेको छैन।
यहाँ पाहुनाले शाकाहार, मांसाहार सहित टिमुरको अचार, सिस्नो, ढिँडो लगायत स्थानीय परिकार खान पाउँछन्।
पाहुना आउने गरेका भए पनि समुदायले अपेक्षा गरेअनुरूप होमस्टे चल्न र फाइदा हुन नसकेको लालबहादुरको भनाइ छ।
उनी भन्छन्, ‘सधैं होइन, फाटफुट रूपमा पाहुना आउनुहुन्छ। पाहुना आइरहने हुँदा मात्र राम्रो तयारी र व्यवस्थापन गर्न सकिन्छ। अहिले त कामचलाउ मात्र भएको छ।’
धामापछि अनुगमन टोली बिजौरी क्षेत्र हुँदै अर्को पहाडी क्षेत्र छिल्लीकोटमा रहेको होमस्टे अवलोकनका लागि पुग्यो।
वडा नम्बर १९ छिल्लीकोटको ‘मल्ला गिरी होमस्टे’ मा व्यवसाय सन्तोषजनक देखियो। तुलसीपुरका अन्य ६ ठाउँमा सञ्चालित होमस्टेको तुलनामा छिल्लीकोट पाहुनाको रोजाइमा परेको देखियो।
छिल्लीकोट भौगोलिक रूपमा विकट भए पनि प्राकृतिक सौन्दर्यले भरपूर छ। पहाडी सुन्दरता र दाङ उपत्यकाका फाँट अवलोकन गर्न पाइन्छ।
पाहुनाले ढिंडो र सिस्नोका परिकार, लोकल कुखुराको मासु, अन्य स्थानीय परिकार र फलफूल खान पाउँछन्।
स्थानीयवासी रमेशघर्ती भन्छन्, ‘पाहुनाले फरक स्वादका परिकार खान पाउँछन्। सुन्दर र शान्त ठाउँमा रमाउन पाउँछन्। छिल्लीकोटको वातावरण नै सबैलाई मोहनी लगाउने खालको छ।’
छिल्लीकोटका बाहेक अन्य ठाउँका होमस्टे सञ्चालकहरूमा कुनै उत्साह थिएन। उनीहरू धेरैको गुनासो साझा थियो– सरकारले आवश्यक आर्थिक सहयोग गरेन, प्रचारप्रसारमा ध्यान दिएन, तालिमको व्यवस्था छैन।
उपमहानगरका पर्यटन शाखाप्रमुख खरेल राज्यले नीतिगत सहयोग गर्ने र सञ्चालनको जिम्मेवारी सञ्चालककै हुने बताउँछन्।
तुलसीपुर उपमहानगरपालिकाले २०७६ पुसमा ‘होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि’ पारित गरेको थियो। सोही कार्याविधिअनुसार ६ ठाउँका होमस्टेका लागि अनुदान सहयोग गरेको थियो।
उपमहानगरकासञ्चालक समितिको काम, कर्तव्य र अधिकारको व्यवस्था छ। नियमित अनुगमन गर्ने, स्थानीय भ्रमण प्याकेज बनाउने, स्थानीय भ्रमण म्याप बनाउने लगायतको जिम्मेवारी तोकिएको छ।
नेपाली कांग्रेसका स्थानीय एक नेताले तुलसीपुर उमहानगरले लहडका भरमा होमस्टे खोल्न उक्साएको आरोप लगाए।
उनले भने, ‘पहिलेका मेयरले एमाले निकटका मान्छेलाई होमस्टे खोल्न लगाए। राजनीतिक फाइदा सोचेर हचुवाका भरमा गरेको काम सफल भएन।’
तुलसीपुरमा पूर्ववर्ती मेयर र हालका मेयर दुबै नेकपा एमालेबाट विजयी भएका थिए।
पर्यटन शाखाका प्रमुख खरेलका अनुसार होमस्टेको अनुगमनपछि उनले प्रतिवेदन तयार पारेका छन्। प्रतिवेदन अब हुने कार्यपालिका बैठकमा पेस हुनेछ।
होमस्टे प्रभावकारी रूपमा सञ्चालन हुन नसक्नुका कारणबारे सञ्चालकका धारणा समेटेर आफूले प्रतिवेदन तयार पारेको उनले बताए।