केही समयअघिको कुरा हो।
बागलुङका एक युवकले उत्पादन गरेको कोदोको बिस्कुटले राम्रो बजार पाइरहेको समाचार मिडियाहरूमा आइरहेको थियो।
रिबन कुकिज कम्पनीका सञ्चालक पशुपति भुसालले पनि सो समाचार पढे। उनलाई दिमागमा एक्कासि बत्ती बलेझैं भयो। ज्यानमा ऊर्जा आयो। आशा पलायो।
'कोरोना महामारीसँगै आएको आर्थिक मन्दीले उद्योग फस्टाउन सकेको छैन। के नयाँ गर्न सकिएला भनेर सोचिरहेको थिएँ,' पशुपतिले भने, 'कोदोको बिस्कुटको बजार माग राम्रो रहेछ भन्ने थाहा पाएपछि म पनि किन उत्पादन नगरूँ भन्ने भयो।'
उनका अनुसार बागलुङका युवकले कोदोको बिस्कुट स्थानीयस्तरमा उत्पादन गरेर त्यहीँ बिक्री गर्छन्।
'मेरो चाहिँ कोदोको प्रिमियम कुकिज उत्पादन गरेर ठूलो मात्रामा बजार पुर्याउने सपना छ,' उनले भने।
करिब एक महिनायता उनले कोदोको कुकिज उत्पादन गरेर बजार पठाउन थालेका छन्। हाल रिबन ब्रान्डको कोदोको कुकिज भाटभटेनी सुपरमार्केटका सबै शाखाहरूमा पाइन्छ।
अहिलेसम्म ग्राहकबाट राम्रो प्रतिक्रिया आइरहेको पशुपतिले बताए।
कम्पनीले बदाम मिसाइएको, चिनी बिनाको, थोरै मात्रामा चिनी राखिएको र तिल राखेको गरी चार प्रकारको कोदोको कुकिज बनाइरहेको छ। ग्राहकले यी कुकिज एक सय ७० ग्राम र तीन सय ग्राम तौलको प्याकेटमा पाउँछन्। मूल्य क्रमशः एक सय रूपैयाँ र दुई सय रूपैयाँ छ।
कुकिजलाई चारैतिर हावा नछिर्ने गरी आकर्षक तरिकाले प्लास्टिक बट्टामा प्याक गरिएको पशुपतिले बताए।
आगामी दिनमा सख्खर स्वादमा कोदो कुकिज ल्याउने योजना छ। पछिल्लो समय मानिसहरू स्वास्थ्यप्रति सचेत हुँदै गएकाले सख्खर स्वादमा कुकिज ल्याउन लागिएको उनले बताए।
'हामीले सुरूमा थोरै मात्रामा कुकिज बनाएर भाटभटेनीमा आउनेहरूलाई निःशुल्क चखाएका थियौं,' पशुपतिले भने, 'धेरैले मैदा र चिनी छ कि छैन भनेर सोधेका थिए। यसमा मैदा त मिसाइएकै हुँदैन। चिनीको विकल्पमा सख्खर स्वादको पनि ल्याउन लागेका हौं।'
कोदोको कुकिजमा केही मात्रामा ओट्स र गहुँ भने मिसाइएको छ। कोदोको मात्र बनाउँदा कुकिजको जस्तो स्वाद नआउने भएकाले यी खाद्यान्न मिसाइएको उनले बताए।
कम्पनीले हाल मेलम्ची, सिन्धुपाल्चोक र काभ्रेबाट कोदो ल्याएर कुकिज बनाइरहेको छ। कुकिजले राम्रो बजार पाए कृषकहरूसँग आफै सहकार्य गरेर कोदो उत्पादन गर्ने योजना पशुपतिले बनाएका छन्।
अहिले पशुपतिले विभिन्न ठाउँबाट पाँच/दस बोरा कोदो संकलन गरेर ल्याइरहेकाले त्यसको स्वाद फरक फरक छ। बजार बढेपछि गाउँगाउँबाट ठूलो परिमाणमा लिएर राख्ने उनको सोच छ।
पशुपतिले हालसालै कोदोको बिस्कुट बनाउन थाले पनि उनको उद्योग झन्डै डेढ दशक पुरानो हो। स्थायी घर अर्घाखाँची भएका पशुपतिको उद्योग भक्तपुरको राधेराधेमा छ। उनी इम्पेरियल फुड्स प्रालि कम्पनीमार्फत् तीसभन्दा धेरै प्रकारका कुकिज, पफ, ओट्स, चोकोज र कर्नफ्लेक्स उत्पादन गर्छन्। यी सबै उत्पादन रिबन ब्रान्ड नाममा बिक्री हुन्छ। कम्पनीमा हाल करिब ४० जना कर्मचारी छन्।
रिबनका कुकिज प्रति प्याकेट बीस रूपैयाँदेखि तीन सय रूपैयाँसम्ममा पाइन्छ। ओट्स, चोकोज र कर्नफ्लेक्सको भने तौलअनुसार मूल्य फरक छ।
कोदोको कुकिज कम्पनीको पछिल्लो उत्पादन हो।
'मन्दीले व्यापार २५ प्रतिशत पनि छैन। कोदोको कुकिज नयाँ उत्पादन भएकाले बजार पाउँछ कि भनेर ल्याएका हौं,' पशुपतिले भने।
नयाँ सामान उत्पादन गरेपछि बजार बनाउन गाह्रो हुन्छ। त्यसैले दुई महिना जस्तो उनले बजार अध्ययन गरेका थिए। सम्भावना राम्रो देखेपछि बल्ल व्यावसायिक रूपमा कोदो कुकिज उत्पादन गरेको उनी बताउँछन्।
सुरूमा उनले दस किलो कोदोको पिठोबाट कुकिज बनाएका थिए। कोदोको मात्र बनाइएकाले सबै बिग्रियो। त्यसपछि केही प्रक्रिया परिमार्जन गरेर ५० किलो पिठोको कुकिज बनाए। त्यो बेला भने आफूले सोचेजस्तै स्वाद भएको उनी बताउँछन्।
'त्यसपछि साथीभाइ, आफन्त र भाटभटेनीमा राखेर त्यहाँ आउने ग्राहकलाई चखायौं। सबैबाट राम्रो प्रतिक्रिया पाएपछि व्यावसायिक उत्पादन थालिएको हो,' उनले भने, 'ग्राहकको माग अनुसारै भाटभटेनीमा बेच्न राखिएको हो।'
उनका अनुसार केही किराना पसलमा पनि परीक्षणका लागि बेच्न राखिएको छ। केही समयपछि सबैतिर पुर्याउने उनको लक्ष्य छ। रिबन ब्रान्डका अन्य उत्पादन भने डेढ सय डिलरमाफर्त ७७ वटै जिल्लामा बिक्री-वितरण भइरहेको छ।
'मन्दीले दुई वर्ष निराश बनाए पनि अब केही आशा पलाउन थालेको छ,' पशुपतिले भने।