...झुम्के रूमाल खै, भन झुम्के रूमाल खै
कुरूसैले बुनेको, झुम्के रूमाल खै...।
फिल्म 'वडा नम्बर ६' को यो गीतमा भनिएजस्तो रूमाल बुन्ने कुरूस कहाँ बन्छ होला! कसरी बन्छ होला!
हामीले प्रयोग गर्ने कुरूस अधिकांशतः भारतबाट आउँछ। तर नेपालमै पनि कुरूस उत्पादन हुन्छ। निर्यात पनि हुन्छ।
यस्तो उद्योग छ कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ मा। उद्योगको नाम हो 'इम्बार्क इन्टरनेसनल'। यो उद्योगले कुरूस उत्पादन गर्न थालेको ६ वर्ष भयो।
उद्योग सञ्चालक मिर्जा राशिद बेगका अनुसार इम्बार्कले काठ, तामा र बाँसको कुरूस बनाउँछ। यी कुरूस १२० वटा आकारमा उपलब्ध हुन्छ। सबभन्दा छोटो दुई इन्च र लामो १४ इन्चसम्मको हुन्छ। मोटाइ सामान्यतया साढे दुई मिलिमिटरदेखि एक सेन्टिमिटरसम्म हुन्छ।
'साना कुरूस केटाकेटीका मोजा, पञ्जा, जुत्ता, टोपी, सल आदि बुन्न प्रयोग हुन्छ। कपडामा बुट्टा भर्न पनि प्रयोग हुन्छ। ठूला कुरूस चाहिँ वयस्कका लुगा बुन्न प्रयोग हुन्छ,' मिर्जाले भने।
कुरूस उत्पादन गर्न १७ किसिमको कच्चा पदार्थ चाहिन्छ। काठ, तामा र बाँस मुख्य कच्चा पदार्थ हुन्। कुरूस आकर्षक र मजबुत बनाउन रङ, रसायन, केबलतार, क्लिनिङ पाउडर इत्यादि प्रयोग गरिने उनले बताए।
तामाको कुरूसमा रङ लगाइँदैन। काठ र बाँसमा भने बलियो बनाउन र कीराबाट बचाउन खास किसिमको रसायन प्रयोग हुन्छ। आकर्षक देखाउन थरीथरी रङ प्रयोग गरिन्छ। यस्तो रसायन र रङले स्वास्थ्यमा असर नपुग्ने मिर्जाको भनाइ छ।
कुरूस बनाउन चाहिने सबै कच्चा पदार्थ आयात हुन्छ। काठ, तामा र बाँस चीन र रूसबाट आउँछ, अरू सामान भारतबाट।
'हामीलाई चाहिनेजस्तो उत्पादनका लागि यहाँ कच्चा पदार्थ पाइँदैन। आयात गर्नु बाध्यता हो,' उनले भने।
मिर्जाले २०७४ सालमा उद्योग स्थापना गरेर त्यसै वर्ष उत्पादन सुरू गरेका हुन्।
कृष्णनगरकै स्थायी बासिन्दा मिर्जाको परिवारको मुख्य पेसा कृषि थियो। उनले गाउँकै स्कुलमा आठ कक्षासम्म पढे र थप पढाइका लागि भारत गए।
बुबा मिर्जालाई डाक्टर बनाउन चाहन्थे। तर आर्थिक अभाव लगायत अन्य कारणले मिर्जालाई डाक्टर बनाउने इच्छा पूरा नहुने भयो। जीवविज्ञानमा कक्षा १२ पढिसकेर मिर्जा भारतबाट फर्के। र, काठमाडौंमा बिबिए (ब्याचलर इन बिजनेस एड्मिनिस्ट्रेसन) पढ्न थाले।
पहिलो सेमेस्टरको परीक्षा दिएपछि उनलाई महँगो काठमाडौं बस्न मन लागेन। तुलनात्मक रूपमा भारत बसाइ धेरै सस्तो थियो। उता केही आफन्तहरू पनि थिए। अन्ततः उनी नेपालको पढाइ छाडेर भारत पुगे। उतै फेरि बिबिए पढ्न भर्ना भए।
'घरको आर्थिक अवस्था निकै कमजोर थियो। मुख्य पेसा माछापालन थियो। खेती थोरै थियो,' उनले भने, 'माछा र खेतीको आम्दानीले मात्र घरखर्च टार्न मुस्किल थियो।'
अन्तिम परीक्षा दिइसकेर मिर्जाले खाडी मुलुक जाने सोचे। कतारको एउटा कम्पनीमा जागिरका लागि आवेदन दिए। फोनबाटै अन्तर्वार्ता भयो, उनी छानिए। सन् २००७ मा उनी कतार पुगे। उक्त कम्पनी खेलकुदका सामग्री उत्पादन गर्थ्यो। एकएक गरेर सामानमा बारकोड लगाउनु उनको काम थियो।
'म दैनिक बीस घन्टासम्म काम गर्थेँ। मार्केटिङको काम काम पनि गरेँ,' उनले भने।
मार्केटिङका सिलसिलामा चीन लगायत अन्य केही देश पुग्ने अवसर उनले पाए। यस्ता भ्रमण उनका लागि सिकाइको अवसर थियो।
मिर्जा कतारमा तीन वर्ष काम गरेर फर्के। त्यसपछि फेरि भारत गए र दुई वर्ष एमबिए (मास्टर्स इन बिजनेस एड्मिन्स्ट्रेसन) पढे। यसपछि उनले व्यवसाय गर्ने निधो गरे। कतारमा काम गर्दा खेलकुदका सामानको व्यावसायिक अनुभव थियो। उनी यस्तै सामानको व्यवसाय गर्ने सोचेर चीन गए। चीनमै 'इम्बार्क इन्टरनेसनल प्रालि' नाम राखेर कम्पनी दर्ता गरे।
'केही खाडी मुलुक र अमेरिकाबाट जर्सी मोजा, जुत्ता, ट्र्याकसुट, भलिबल, फुटबल, ट्रफी जस्ता सामान अर्डर लिएँ। अर्कैको कारखानामा बनाउन दिएर निर्यात गरेँ,' उनले भने।
व्यवसाय राम्रै भए पनि मिर्जा सन्तुष्ट भएनन्। उनी आफ्नै देशमा व्यवसाय गर्न चाहन्थे।
एक दिन रेस्टुरेन्टमा खाजा खाँदै गर्दा चपस्टिक देखेर उनलाई कुरूसको याद आयो। चीनमा हुने अन्तर्राष्ट्रिय व्यापारिक मेलामा जाँदा उनले कुरूस देखेका थिए। नेपालमा भारतबाट आयात हुन्छ भन्ने पनि थाहा पाएका थिए। त्यो दिन चपस्टिक हेर्दै उनले यसैगरी काठको कुरूस पनि बनाउन सकिन्छ होला भन्ने सोचे।
'त्यो बेला चीनमा गुगल चल्दैन थियो। चिनियाँ साइट भिभोमा कुरूस बनाउने तरिका खोजेँ। अन्ततः काठबाट कुरूस बनाउन सकिने निष्कर्षमा पुगेँ। चीनमै परीक्षण पनि गरेँ। सफल भयो,' उनले भने।
कुरूस बनाएर कहाँ बेच्ने भन्नेबारे पनि उनले निकै सोचे। मार्केटिङको अनुभव काम लाग्यो। केही कम्पनीमा प्रस्ताव गरे।
'अमेरिकाको एक कम्पनी कुरूस बेच्न तयार भयो तर ब्रान्ड अमेरिकी नै हुनुपर्ने सर्त राख्यो,' उनले भने, 'नेपाली उत्पादनको अमेरिकी ब्रान्ड! तर व्यवसायमा केही सम्झौता गर्नुपर्ने रहेछ।'
मिर्जाका अनुसार त्यो कम्पनीले यसैगरी सामान लिएर आफ्नो ब्रान्डमा बेच्थ्यो। मिर्जाले यो कुरा स्वीकार गरे। दुई कम्पनीबीच सम्झौता भयो- अमेरिकी कम्पनीले डिजाइन र ट्रेडमार्क नक्कल गर्न नपाउने, मिर्जाले मार्केटिङ र बिक्रीको जिम्मा अर्को कम्पनीलाई नदिने।
यसअनुसार कुरूसको ट्रेडमार्क, पेटेन्ट र बनाउने प्रक्रिया समेत अमेरिकामै दर्ता भयो।
बजार पक्का भएपछि मिर्जा सन् २०१८ मा उद्योग खोल्न नेपाल फर्किए। इम्बार्क इन्टरनेसनल दर्ता गरेर कपिलवस्तुमा आफ्नो घरनजिकै एउटा घर भाडामा लिए। आफ्नै जमिनमा एउटा गोदाम बनाए। मेसिन चीन र भारतबाट ल्याए। आफ्नै गाउँबाट पाँच जना श्रमिक लिए। एक जना प्राविधिक र एक जना इन्जिनियर भारतबाट बोलाए। भारतीय प्राविधिकहरूले नेपाली श्रमिकलाई काम सिकाए।
'उद्योग स्थापना गर्न कुल एक करोड रूपैयाँ खर्च भएको थियो,' उनले भने।
उनीसँग लगानीका लागि विदेशमा काम गर्दा र चीनमा व्यवसाय गर्दा जम्मा गरेको पैसा थियो। केही खोजखाज गरेर जुटाए।
मिर्जाले पहिलो खेपमा नमूनाका रूपमा दस लाख रूपैयाँ मूल्यको कुरूस अमेरिका पठाए। त्यसपछि माग गरेअनुसार पठाउन थाले।
तीन महिना काम गरेपछि मिर्जा आफ्ना दाइ र बहिनीलाई उद्योग जिम्मा लगाएर चीन फर्के। उद्योग व्यवस्थापनको धेरै काम अनलाइनबाटै हुने भएकाले उनी चीनबाटै गर्न सक्थे।
एक वर्षपछि चिनियाँ नयाँ वर्षको अवसर पारेर उनी नेपाल फर्केका थिए। त्यही बेला कोरोना फैलियो। चीनले भिसा नदिएपछि उनी उता जान पाएनन्। लकडाउनमा मिर्जाको कुरूस उद्योग पनि एक महिना बन्द भयो। त्यस अवधिमा मौज्दात सामान अमेरिका पठाए।
यतिन्जेल उनको उद्योगले काठको कुरूस मात्र बनाउँथ्यो। एक दिन इन्टरनेटमा तामाको कुरूस देखे। उनले सरकारी निकायको अनुमति लिएर तामाको कुरूस उत्पादन थाले। यसैगरी उनले बाँसको कुरूस पनि बनाए।
'अहिले वार्षिक ३० करोड रूपैयाँसम्मको कारोबार हुन्छ। २७० जना कर्मचारी छन्। तीमध्ये ६० प्रतिशत महिला हुन्,' उनले भने, 'उद्योगमा जग्गाबाहेकको लगानी १५ करोड रूपैयाँ पुगेको छ।'
इम्बार्कले नेपालमा बनाएको कुरूस अमेरिकी कम्पनीले ८४ वटा मुलुकमा बेच्छ। लाइकी कम्पनीले आफ्नो वेबसाइटमा पनि आफूले बेच्ने कुरूस अमेरिकामा बिक्री भएको अमेरकी निर्यातको सबै काम अमेरिकी कम्पनीले नै गर्छ। कुरूसमा 'मेड इन नेपाल' र ब्रान्ड नाम 'लाइकी' लेखिएको हुन्छ। एक प्याकेटमा १० जोरसम्म कुरूस हुन्छ। प्याकेजिङको पर्स अमेरिकाबाटै आउँछ। प्याकेटमा प्रयोगबारे जानकारी पनि हुन्छ।
'हाम्रो उत्पादन गुणस्तरीय भएकाले विदेशी ग्राहकको रोजाइमा परेको छ,' मिर्जा भन्छन्।
यसरी आफ्नो उद्योगको शतप्रतिशत उत्पादन निर्यात हुने भए पनि सरकारबाट केही सुविधा नपाएको उनको गुनासो छ।
'उद्योग दर्ता गर्नै निकै समस्या भयो। अझै पनि विद्युतको समस्या छ। पाँच लाख रूपैयाँ खर्च गरेर आफैले ट्रान्सफर्मर राखेका छौं। बाटोको समस्या छ,' उनी गुनासो गर्छन्।
उनका अनुसार सरकारले कुरूसलाई निर्यात हुने वस्तुको सूचीमा राखेको छैन।
त्यस्तै यस्तो उद्योग चलाउन दक्ष जनशक्ति अभाव छ। अहिले पनि उनको उद्योगमा १३ जना भारतीय प्राविधिक छन्। दक्ष नेपाली प्राविधिक नपाएकाले भारतीयलाई लिनुपरेको उनले बताए।
अब उनी आफूले बनाएको कुरूस नेपाली बजारमा पनि बेच्न चाहन्छन्।
'नेपाली बजारमा कसरी सस्तोमा बेच्न सकिन्छ भन्ने हेर्दैछु,' उनले भने।