पेट्रोलियम पदार्थ अन्वेषणका लागि हालसम्म तीन किलोमिटर ड्रिलिङ गरेर सकिएको छ।
असार अन्तिमदेखि ड्रिलिङको काम सुरू गरिएको थियो।
अब बाँकी ड्रिलिङको काम पनि छिट्टै सकिने खानी तथा भूगर्भ विभाग अन्तर्गत पेट्रोलियम अन्वेषणका परियोजना प्रमुख दिनेश नेपालीले जानकारी दिए।
'प्राविधिक काम हो ठ्याक्कै यति नै समयमा सकिन्छ भन्न सकिँदैन,' उनले भने, 'अब एक/डेढ महिना लाग्ने अनुमान छ।'
उनकाअनुसार हालसम्म तीन हजार ८५ मिटर ड्रिलिङको काम सकिएको छ। अब ड्रिलिङका लागि नौ सय १५ मिटर बाँकी छ।
ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ।
हाल चिनियाँ र नेपाली गरी ६० जनाको समूहले ड्रिलिङको काम गरिरहेको छ। त्यसका साथै निरीक्षणका लागि विभागका कर्मचारी पनि ड्रिलिङ स्थलमा पुगेका छन्।
परियोजना क्षेत्रको सुरक्षाको लागि सशस्त्र प्रहरी खटिएका छन्।
यो परियोजना चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुरू भएको हो। दैलेखको पादुकास्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो।
सम्झौताअनुसार काम नभएपछि पुनः समयावधि थपिएको हो। सन् २०२४, फेब्रुअरी २८ मा सम्झौता सकिँदै छ।
सुरूआतमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भएको थियो। तर कोभिडका कारण सम्झौताअनुसार काम हुन सकेन। पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए।
यहाँ चार सय वर्ग किलोमिटर क्षेत्रफलमा पेट्रोलियम पदार्थ हुनसक्ने अनुमान छ। त्यहाँ चार किलोमिटर गहिरोसम्म ड्रिलिङ गर्ने काम कोरोना महामारीका कारण रोकिएको थियो। अहिले त्यसैलाई निरन्तरता दिइएको हो।
छिट्टै ड्रिलिङ सकिए पेट्रोलियम पदार्थको मात्रा थाहा पाउन सकिन्छ। ड्रिलिङ गर्दा पनि पेट्रोलियम पदार्थको भण्डार भेटिएन भने काम अघि बढ्दैन र अहिलेसम्मको सबै मेहनत खेर जान्छ।
उत्पादन कम हुने र खर्च बढी लाग्ने अवस्थामा पनि उत्पादन गरिँदैन। नेपालमै पेट्रोलियम पदार्थ उत्पादन गर्दा अहिलेको बजार मूल्यभन्दा सस्तो भए मात्रै त्यो फाइदाजनक हुनेछ।
ड्रिल गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ। खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुन्छ। त्यसपछि मात्रै उत्पादन गर्ने कि नगर्ने भन्ने निर्णय हुन्छ। भण्डार ठूलो रहेछ भने मात्रै उत्पादन हुन्छ।
तेल उत्पादन भने भूगर्भ विभागले गर्दैन। विभागले पेट्रोलियम पदार्थको मात्रा मात्र पत्ता लगाउने हो। सरकारले कुनै अन्य कम्पनी वा संस्थालाई उत्पादनको जिम्मेवारी दिनेछ।
नेपाल सरकार, खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेको संयुक्त टोलीले उक्त अनुसन्धान गरिरहेको छ।
लामो समयदेखि खोलाको पानीमा तेलजस्तो चिल्लो पदार्थ तैरिएको भेटिएपछि त्यो तेल हुनसक्ने भन्दै अनुसन्धान थालिएको हो।
पेट्रोलियम पदार्थको अन्वेषणका लागि यो नेपालमा भएको पहिलो अध्ययन भने होइन। यसअघि २०४५ सालमा मोरङको बाहुनीमा पेट्रोल खानी खोजी गरिएको थियो। त्यतिबेला सेल ट्राइटा कम्पनीले साढे तीन किलोमिटर गहिराइसम्म खन्दा पनि पेट्रोलियम पदार्थ नभेटिएपछि खोजी बन्द भएको थियो।