पछिल्लो दुई दिनमा सुनको मूल्य प्रतितोला साढे १८ हजार रूपैयाँले घटेको छ।
मंगलबारको लागि एक तोला सुनको मूल्य एक लाख ४८ हजार सात सय रूपैयाँ पुगेको छ। नेपाल सरकारले सुनमा लगाएको भन्सार महसुल आधाले घटाएको र अन्तर्राष्ट्रिय बजारमा समेत मूल्य घटेपछि एकैपटक यति धेरै भाउ घटेको हो।
करिब एक महिना अघि (कात्तिक १५ गते) स्थानीय बजारमा सुनको मूल्य एक लाख ७१ हजारसम्म पुगेको थियो। एक महिनाको अवधिमा नै १२ प्रतिशतले मूल्य घटेर डेढ लाखभन्दा तल झरेपछि पसलहरूमा उपभोक्ताको भिड देखिन थालेको छ।
व्यवसायीहरूका अनुसार हिजो सोमबार विशेषगरी न्युरोडका पसलहरूमा उपभोक्ताको घुइँचो देखिएको थियो। अन्य पसलहरूमा पनि सामान्य अवस्थामाभन्दा बढी माग आएको व्यवसायीहरूले बताएका छन्।
'उपभोक्ताको चासो बढेको छ, लामो समय कारोबार नै नभएकोमा अब बढ्ने अपेक्षा गरेका छौं,' तनहुँको दमौलीमा सुन पसल सञ्चालन गरेका नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मोहनकुमार सुनुवारले भने।
न्युरोडका व्यवसायीले भने हिजो सुनको अर्डर समेत लिन नसकेको बताएका छन्।
'मूल्य घटेपछि सुन किन्नेको घुँइचो नै लागेको छ। मेरो पसलमा मात्रै होइन न्युरोडका सबै पसलमा यस्तै अवस्था छ। तर, हामीसँग सुन नै छैन,' लामो समयदेखि न्युरोडमा सुनचाँदीको व्यवसाय गर्दै आएका तेजरत्न शाक्यले भने, 'उपभोक्ताको घुइँचो बढेर के गर्नु हामीले त अर्डर नै लिन सकेका छैनौं। न हामीसँग सुन छ न त बैंकसँग।'
नेपाल सुन चाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्रचार्य पनि उपभोक्ताको चासो बढेको प्रतिक्रिया दिन्छन्। उनले काठमाडौंको बानेश्वरमा सुन पसल सञ्चालन गरेका छन्।
चालु वर्षको औसत दिनमा वैधानिक आयात भएको सुनको औसत कारोबार डेढदेखि दुई केजी भएकोमा हिजो पसलहरूमा स्टक भएको करिब पाँच केजी सुनको कारोबार भएको हुन सक्ने आकलन गरिएको छ।
नेपाल भारतमा सुनको मूल्यमा ठूलो अन्तर भएपछि वैधानिक आयात भएको सुनको कारोबार नगन्य मात्रै हुने गरेको व्यवसायीको गुनासो रहेको थियो।
वैधानिक सुनको कारोबार नहुने तर खुला सीमानाको फाइदा उठाएर भारतीय बजारबाट सुनको कारोबार बढ्ने भएपछि सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो।
यो निर्णय कार्यान्वयन गर्नको लागि आइतबार दिउँसो भन्सार विभागलाई निर्देशन दिइएको थियो भने व्यवसायीहरूलाई सर्कुलर गरिएको थियो।
जसको प्रभावले सोमबार मात्रै सुनको मूल्य करिब १६ हजार रूपैयाँले घटेको थियो। यसमाथि अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेपछि मंगलबार थप दुई हजार छ सय रूपैयाँले मूल्य घटेको छ।
मूल्य घटे पनि व्यवसायीले सुन नभएको प्रतिक्रिया दिएका छन्।
बिहेको सिजन आएकोले भोलिका दिनमा सुन बढ्न सक्ने आकलनका कारण पनि सर्वसाधारण तत्काल सुन किन्न खोजेका छन्। तर व्यावसायीले पनि सुन नपाएको प्रतिक्रिया दिएका छन्।
'उपभोक्ताको माग बढेसँगै हामीले बैंकहरूसँग सुन माग गरेका छौं। अब ३/४ दिनमा आउने छ,' संघका उपाध्यक्ष बज्रचार्यले भने।
नेपालमा सुनको वैधानिक आयात वाणिज्य बैंकहरूले मात्रै गर्ने गरेका छन्।
पछिल्लो समय वाणिज्य बैंकहरूले गत कात्तिक १२ गते आयात गरेका थिए। उनीहरूले तिहारको धनतेरसलाई केन्द्रित गरेर ३२ केजी सुन आयात गरेका थिए।
व्यवसायीहरूले त्यस दिन ५० केजी बढी सुन बिक्री भएको प्रतिक्रिया दिए पनि बैंकबाट भने एक केजी पनि सुन बिक्री भएको थिएन।
त्यसपछिको एक महिनामा भने ३२ केजी सुन व्यवसायीहरूले खपत गरेको बैंकरहरूले बताएका छन्। व्यवसायीबाट सुनको माग नभएको कारण बैंकहरूले सुन आयात गरेका थिएनन्।
नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले अहिले बैंकमा सुन मौज्दात नरहेको बताए।
सोमबारबाट नै व्यवसायीहरूले सुनको माग गरेको उनले प्रतिक्रिया दिएका छन्।
'व्यवसायीहरूले हिजोबाट नै सुनको माग गर्नु भएको छ। हामी पेपर कलेक्सनको क्रममा छौं, अब आयात गर्नुपर्ने हुन्छ,' शर्माले भने।
वाणिज्य बैंकहरूले पालो गरेर सुन आयात गर्ने गरेका छन्।
चालु आर्थिक वर्षको चार महिनाको अवधिमा बैंकहरूले १३२ केजी मात्रै सुन आयात गरेका छन्। आर्थिक वर्ष २०८०/८१ कात्तिकसम्म भने एक हजार केजी सुन आयात भएको थियो।