बजारमा सिमेन्टको मूल्य बढेको छ।
निर्माण क्षेत्रको सिजन सुरू भएसँगै उद्योगीले सिमेन्टको मूल्य बढाएका हुन्।
समायोजन भन्दै उद्योगीहरूले धमाधम सिमेन्टको मूल्य बढाउन थालेको निर्माण व्यवसायी संघ, काठमाडौंका सल्लाहकार अनसन साखः ले जानकारी दिए।
'दसैंपछि सिमेन्टको मूल्य औसतमा प्रतिबोरा एक सय रूपैयाँले बढेको छ,' उनले भने।
उनका अनुसार कुनै कम्पनीको मूल्य एक सय रूपैयाँभन्दा माथि पनि बढेको छ। अहिले व्यवसायीले मूल्य वृद्धिलाई समायोजनको संज्ञा दिइरहेका छन्।
'मूल्य बढ्नुको कारण के हो थाहा छैन। हामीले सोध्दा मूल्य बढेको होइन समायोजन गरेको हो भन्छन्,' उनले सुनाए।
हामीकहाँ निर्माणमा ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) गरी दुई प्रकारका सिमेन्ट प्रयोग हुन्छन्।
छिटो सुक्ने भएकाले निर्माण चाँडै निर्माण सुक्नुपर्ने वा छिटो फर्मा खोल्नुपर्ने ठाउँमा ओपिसी प्रयोग गरिन्छ। लामो समय फर्मा नखोली राख्न सकिने ढलानमा पिपिसी प्रयोग गर्न सकिन्छ।
बजारमा धेरै कम्पनीका सिमेन्ट छन्। कम्पनी अनुसार मूल्य फरक–फरक छ।
साखः का अनुसार दसैंअघि बजारमा उपभोक्ताका लागि पिपिसी सिमेन्टको मूल्य काठमाडौंमा प्रतिबोरा पाँच सय रूपैयाँदेखि पाँच सय २५ रूपैयाँसम्म थियो। त्यस्तै, ओपिसी सिमेन्ट ६ सयदेखि ६ सय २५ रूपैयाँसम्म थियो।
अहिले बजारमा पिपिसी सिमेन्टको मूल्य काठमाडौंका ग्राहकका लागि प्रतिबोरा ६ सय रूपैयाँदेखि ६ सय ५० रूपैयाँसम्म छ। त्यस्तै, ओपिसी सिमेन्ट सात सयदेखि ७ सय ५० रूपैयाँसम्म पुगेको छ।
उद्योगीहरूले अझै एक सय रूपैयाँसम्म सिमेन्टको मूल्य बढ्ने जानकारी दिएको उनको भनाइ छ।
अहिले सिमेन्टको मूल्य वृद्धि गर्दा समेत सिमेन्ट उद्योगीहरूलाई प्रतिबोरा ४० देखि ५० रूपैयाँ घाटा भएको नेपाल सिमेन्ट उत्पादक संघका निवर्तमान अध्यक्ष ध्रुव थापाले बताए।
'हामीलाई अहिले मूल्य बढ्दा पनि सिमेन्टमा घाटा छ,' उनले भने।
उनका अनुसार सिमेन्ट उद्योगीहरूले घाटा पूर्ति गर्न सिमेन्टको मूल्य समायोजन गर्न खोजेको हो।
पहिले सिमेन्टको मूल्य प्रतिबोरा एक हजार रूपैयाँसम्म थियो। माग नबढ्दा क्रमशः सिमेन्टको मूल्य घटेर पाँच सय रूपैयाँसम्म आयो। अहिले सिजन सुरू भएसँगै घाटा कम गर्न सिमेन्ट उद्योगीहरू मूल्य बढाउन लागी परेका छन्।
आगामी दिनमा सिमेन्टको मूल्य बढ्ने सम्भावना भने कम रहेको उनी बताउँछन्।
'माग नै छैन के मूल्य बढ्नु,' उनले भने।
उनका अनुसार अहिले सरकारी क्षेत्रबाट विकास निर्माणका काम न्यून मात्रामा भएका छन्। सरकारले अझै निर्माण व्यवसायीहरूको भुक्तानी दिन सकिरहेको छैन। निजी क्षेत्रमा पनि घरजग्गाको कारोबार नबढेकाले सिमेन्टको खपत बढ्न सकेको छैन।
सरकारले विद्युत महसुल नतिरेका उद्योगको बिजुली आपूर्ति रोकिदिएकाले पनि त्यसको असर मूल्यमा परेको छ।
केही समयअघि विद्युत प्राधिकरणले महसुल नतिरेका उद्योगमा बिजुली आपूर्ति रोकिदिएको थियो। बिजुली नभएपछि उद्योग बन्द भयो।
उद्योग बन्द हुँदा पनि बैंकको ब्याज तिर्नु पर्दा धेरै सिमेन्ट उद्योगीको लागत बढेको छ। लागत घटाउन उद्योगीले मूल्य बढाएका हुन्।
नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट लगायतका निर्माण सामग्रीमा भएको मूल्य वृद्धि खारेज हुन पर्ने भन्दै विज्ञप्ति मार्फत विरोध जनाइरहेको छ।
निर्माण सामग्रीको कच्चा पदार्थमा मूल्य वृद्धि नहुँदा पनि मूल्य बढाएको भन्दै महासंघले विरोध जनाएको हो।