काठमाडौंका पुराना म:म पसल कसरी चलिरहेका छन् भनेर हेर्न मैले यो शृंखला लेख्न थालेकी हुँ। अघिल्लो अंकमा काष्ठमण्डपस्थित 'राम म:म कर्नर' को कुरा गरेकी थिएँ। आज कुरा गर्दैछु, गुच्चा म:मको।
फुटपाथबाट सुरू भएको यो मःम पसल अहिले वसन्तपुर, प्याफल र इन्द्रचोक गरी तीन ठाउँमा सञ्चालित छ।
यसका संस्थापक राजन श्रेष्ठ हुन्। उनले करिब ३० वर्षअघि वटुबाट म:म बेच्न सुरू गरेका थिए। त्योभन्दा अगाडि लुगा पसलमा काम गर्थे।
अरूको पसलमा लामो समय काम गरेपछि उनलाई आफ्नै व्यवसाय गर्ने सोच आयो। काठमाडौंमा म:मको जस्तो क्रेज अरू कुनै खाजाको छैन। त्यो बेला त झन् खाजा भनेकै म:म थियो।
राजनले वटुको फुटपाथमा बसेर टपरीमा म:म बेच्दै व्यवसाय सुरू गरे। लोकल स्वादको बफ (राँगाको मासु) म:म कम समयमै लोकप्रिय भयो।
केही समयपछि उनी इन्द्रचोकबाट असन जाने बाटोतिर सरे। पसल सरे पनि ग्राहकको कमी भएन। गुच्चा म:म खान मान्छेहरू खोजी खोजी आउन थाले।
यो क्रम ३० वर्षपछि पनि जारी छ।
राजन अहिले ५३ वर्षका भए। आधाभन्दा बढी उमेर म:म बेचेर बिताइसके। अहिले पनि इन्द्रचोकको पसल आफै हेर्छन्। यो साँझ मात्र खुल्छ।
वसन्तपुर र प्याफलको पसल भने उनका दुई जना छोराले चलाउँछन्। जेठा छोरा रोम श्रेष्ठ वसन्तपुरको पसलमा बस्छन्, कान्छा मनोज श्रेष्ठ प्याफलमा।
मैले मनोजलाई कुराकानीको सुरूमै सोधेको थिएँ, 'यो नाम चाहिँ कसरी जुर्यो?'
जबाफमा उनले भने, 'हरेक मःमको आफ्नै विशेषता हुन्छ। हाम्रो म:मको विशेषता यसको आकार हो। यो अरू ठाउँको भन्दा सानो छ। ग्राहकहरूले 'गुच्चा जस्तो म:म' भन्दाभन्दै नामै यही रह्यो।'
उनले अगाडि भने, 'गुच्चा म:म भन्नेबित्तिकै सबैले बुझ्छन्। पुरानो समय सम्झन्छन्। त्यसैले नयाँ ठाउँमा पसल खोल्दा पनि यही नाम राख्ने निधो गर्यौं।'
आफूहरूले यही नामबाट पसल दर्ता गरेको भए पनि अरू धेरैले आफूखुसी प्रयोग गरिरहेको मनोजको गुनासो छ।
'अरूले पनि यही नाम त राख्न नपाउनुपर्ने हो। तर कहाँ उजुरी गर्ने, कसरी गर्ने थाहा नपाएर चुपचाप बसेका छौं,' उनले भने, 'नेपालमा सरकारी काम फत्ते गर्न सजिलो छैन। यही पसल दर्ता गर्न पनि थुप्रै झन्झट भोग्नुपर्यो।'
गुच्चा म:मको प्याफल शाखा। तस्बिर: आर्या श्रेष्ठ/सेतोपाटी
रोम र मनोजले सबभन्दा पहिला प्याफलमा म:म पसल खोलेका थिए। यो १० वर्षअघिको कुरा हो। त्यति बेला रोम २२ र मनोज १८ वर्षका थिए।
'हामी दाजुभाइले सानै उमेरबाट काम सुरू गर्यौं। म ९ कक्षा हुँदा नै लुगा पसलमा काम गर्थेँ। कक्षा १० पछि फ्लेक्स बोर्ड पनि बनाएँ। मेरो दाइ पनि बाहिर काम गर्नुहुन्थ्यो,' मनोजले भने, 'यसरी अरूको काम गर्नुभन्दा आफ्नै गर्न राम्रो हुन्छ भनेर बुबाको बाटो समात्यौं।'
त्यो बेला मनोजका धेरै साथी विदेश गइरहेका थिए। उनले पनि कोसिस गरे। सफल भएनन्।
'अहिले सोच्दा ठिकै भयो भन्ने लाग्छ,' म:म व्यवसायबाट सन्तुष्ट मनोजले भने।
उनी सानैदेखि बुबालाई मःम बनाउन सघाउँथे। यो काम उनलाई रमाइलो लाग्थ्यो। त्यही अनुभवले स्वतन्त्र व्यवसाय गर्न सहज भएको उनको भनाइ छ।
यी दाजुभाइले प्याफलको म:म पसल खोल्न घरबाट एक पैसा लिएका थिएनन्। आफैले जम्मा गरेको ७० हजार रूपैयाँ लगानी गरेका थिए। सुरूमा एउटा सटर मात्र लिए। लोकल पारामा म:म बेच्ने उनीहरूको सोच थियो। त्यो सोच कायम छ। उनीहरूको पसल अहिले पनि पुरानो ढाँचाकै छ। भुइँतलामा मान्छे बस्ने ठाउँ नपुगेर माथिल्लो तल्लामा विस्तार भने गरेका छन्।
उनीकहाँ बुबाको पालाका ग्राहकहरू धेरै आउँछन्। बुबाको हातबाट टपरीमा गुच्चा म:म खाएको सम्झना सुनाउँछन्। अनि, मनोजतिर हेरेर खुसी हुँदै भन्छन्, 'तिमीलाई सानो बेला देखेको थिएँ।'
प्याफलको पसल स्थापित भएपछि तीन महिनाअघि यी दाजुभाइले वसन्तपुरको झोछेँमा गुच्चा म:मको नयाँ शाखा खोलेका छन्। यहाँ करिब ३ लाख ५० हजार रूपैयाँ लगानी गरिएको मनोज बताउँछन्।
वसन्तपुरमा हालै खुलेको गुच्चा म:मको नयाँ शाखा।
पहिले दाजुभाइ दुवै प्याफलको पसलमा काम गर्थे, अहिले नयाँ पसल खुलेपछि त्यसको जिम्मा दाइले सम्हालेका छन्। वसन्तपुरको पसल आधुनिक शैलीको छ।
वसन्तपुर र प्याफल दुवै ठाउँ गरी ६ जना कर्मचारी काम गर्छन्। दुवै पसल बिहान ९ बजे खुल्छ। बिहान कलेजका विद्यार्थी धेरै आउँछन् भने दिउँसो अफिसका कर्मचारी र स्थानीय आउँछन्। बढी भिड लाग्ने साँझतिर हो। पर्यटन क्षेत्रमा पर्ने भएकाले विदेशीहरू पनि आइरहन्छन्।
मनोजका अनुसार इन्द्रजात्रापछि जाडो महिनाभरि ग्राहकको भिड धेरै हुन्छ। त्यो बेला दिनकै आठ–नौ सय प्लेट मःम बिक्छ। गर्मीमा भने बिक्री कम हुन्छ। दिनको तीन–चार सय प्लेटभन्दा बढी जाँदैन।
गुच्चा म:मको मूल्य अरू ठाउँभन्दा सस्तो छ। यहाँ एक प्लेट बफ म:मको सय रूपैयाँ पर्छ। दस वर्षअघि पसल खोल्दा ७० रूपैयाँ थियो। त्यसो त राजनले ३० वर्षअघि प्रतिप्लेट २० रूपैयाँबाट म:म बेच्न थालेका थिए।
पहिले म:म मात्र पाइने उनीहरूको पसलमा अचेल सेकुवा, ससेस र फोक्सो पनि पाइन्छ। यहाँ ५० देखि १२० रूपैयाँसम्मका परिकार पाइन्छन्। चिया, कफी लगायत विभिन्न पेय पदार्थ पनि राखेका छन्।
'केही काम गर्न धैर्य हुनुपर्छ भन्ने मैले यही पसल चलाएर सिकेँ,' मनोजले भने, 'सुरू सुरूमा ग्राहक कम आउँदा पनि हामीले हार नमानी काम गर्यौं। हाम्रै मिहिनेतले आज गुच्चा मःम फेरि एकपटक चर्चित भएको छ।'
'आगामी दिनमा गुच्चा म:मको ब्रान्डलाई अरू ठाउँमा पनि विस्तार गर्दै जाने हाम्रो योजना छ।'
***
रोम श्रेष्ठ
मनोज श्रेष्ठ


