दस वर्षकी एक बालिका आमाको पुरानो सारी बटुल्दै छिन्। एकछिनमा सियो, धागो, कैंची, ग्लू लगायत सामान खोज्न थाल्छिन्।
उनलाई आमाले देख्लान् भन्ने डर छ। त्यसैले कोठाको कुनामा बसेर सारी काट्छिन् र आफ्नो गुडियाका लागि लुगा सिउँछिन्।
ठिक त्यही बेला कोठाको ढोका खुल्छ।
छोरी खोज्दै हिँडेकी आमाको नजर गुपचुप सारी काटिरहेकी बालिकामा पर्छ।
आफूले लगाउने सारी चटचटी काटेको देखेर आमा रिसाउँछिन् र छोरीलाई गाली गर्न थाल्छिन्।
ती बालिकालाई भने जति गाली गरे पनि केही लाग्दैन। उनले यस्तो काम धेरै गरिसकिन्। आमाको सारी होस् वा बुबाको पुरानो कमिज; खोजखाज पारेर काट्छिन् र कहिले गुडियाका लागि लुगा सिउँछिन्, कहिले सानातिना झोला बनाउँछिन्।
उनको यो बानीले घरका सबै आजित भइसके। तर उनलाई कसैको मतलब छैन। टिभी वा पत्रपत्रिकामा राम्रो लुगा देख्यो कि उनी त्यस्तै डिजाइन उतार्न कम्मर कसिहाल्छिन्। बहिनीले लगाउने पुराना स्वेटर त धेरैचोटि उधारिसकिन्, आफ्नै हातले नयाँ स्वेटर बुन्न।
३७ वर्षपछि म तिनै बालिकासँग कुरा गर्दैछु, जो आज एक व्यावसायिक डिजाइनरका रूपमा परिचित छिन्। उनले सुरू गरेको 'नानुज् क्रिएसन' आज जिन्सका झोला, पर्स र अरू थुप्रै सामानका लागि परिचित ब्रान्ड बनेको छ।
उनको कामको शैली भने आज पनि उस्तै छ। पहिले आमाको सारी र बाबाको कमिज काटेजस्तै उनी अचेल पुराना जिन्स र पुराना कपडा काटकुट पार्छिन् र त्यसैबाट विभिन्न डिजाइनका सामान बनाउँछिन्। हरेकचोटि कैंची चलाउँदा कोठामा लुकेर आमाको सारी काटेको झझल्को उनलाई ताजा हुन्छ।
म कुरा गर्दैछु सुनीता श्रेष्ठको। उनी अहिले ४७ वर्षकी भइन्। एक छोरा र एक छोरी छन्। यो सुनीताले १० वर्ष उमेरदेखि पछ्याएको सपनाको कथा हो।

उनले विवाहपछि विभिन्न ठाउँमा काम सुरू गरिन्। स्कुलमा साना केटाकेटी पढाइन्, विभिन्न अफिसमा रिसेप्सनिस्ट पनि भइन्।
त्यसै क्रममा जापानी सहयोग नियोग (जाइका) मा काम गर्दा उनले सिलाइबुनाइ सिक्ने मौका पाइन्। त्यो सिकाइले सानैदेखिको हुटहुटी ह्वात्तै बढाइदियो। उनी कामबाट फुर्सत निकालेर घरैमा लुगा, झोला लगायतका सामान बुन्न थालिन्।
यति मात्र होइन, आफ्नो सपनामा पखेटा हाल्न आइइसी कलेज अफ आर्ट एन्ड फेसनबाट १५ महिनाको फेसन डिजाइनिङ डिप्लो कोर्स पनि पूरा गरिन्।
यहाँनिर सुनीताको व्यक्तिगत जीवनमा ठूलो उतारचढाव आयो। श्रीमानसँग सम्बन्ध सहज नभएपछि उनी छोराछोरी लिएर एक्लै बस्न थालिन्।
'म छोराछोरीको स्कुल ब्याग र एक–एक जोर लुगा लिएर घरबाट निस्केकी थिएँ। अहिले मेरो छोरा २८ वर्ष र छोरी २१ वर्षका भए। दुवैलाई एक्लै हुर्काएँ। सँगसँगै सानैदेखि देखेको सपना पनि हुर्काउँदै लगेँ,' पाटनढोकामा डेरा लिएर बस्ने सुनीताले भनिन्, 'संघर्षका ती दिनमा मलाई यही सिपले छोराछोरी हुर्काउन मद्दत गर्यो।'
उनले अगाडि भनिन्, 'घरपरिवारका मान्छे मेरो कामलाई लिएर खिसी गर्थे, मलाई भने यसले खुसी दिन्थ्यो। त्यसमाथि छोराछोरी हुर्काउन सजिलो भएपछि त मैले यसलाई नै व्यवसाय बनाउने निधो गरेँ।'
सुरू सुरूमा उनी आफ्ना साथीभाइसँग पुराना जिन्स र पुराना लुगाफाटा मागेर ल्याउँथिन्। तिनै लुगाफाटा काटेर विभिन्न डिजाइनका झोला, चप्पल लगायत सजावटका सामान बनाउँथिन्। मुख्य जोड भने झोलामै हुन्थ्यो। आफूले बनाएका सामान बिक्री गर्न साथीभाइले निकै मद्दत गरेको उनी बताउँछिन्।
तिनै साथीभाइको सहयोगमा सुनीताले १५ वर्षअघि आफ्नो डिजाइनलाई ब्रान्डको रूप दिइन् र नाम राखिन् — नानुज् क्रिएसन।
'म बच्चाहरूको भविष्यका लागि घर छाडेर हिँडेकी थिएँ। यो काम गरेको पनि उनीहरूकै लागि हो। त्यसैले नानुज् नाम राखेँ,' उनले भनिन्।
अहिले उनको ब्रान्डमा जिन्सको झोलादेखि जिन्सकै पर्स र पुराना कपडाबाट बनाइएका रूमाल, चप्पल, साँचो राख्ने रिङ (किरिङ) लगायतका सामान उपलब्ध छन्। यी सामानको मूल्य ५० देखि १५०० रूपैयाँसम्म पर्छ। सबभन्दा सस्तो सामान किरिङ हो भने झोलाहरू १२०० भन्दा बढी मूल्यका छन्। सादा डिजाइनको सानो पर्स २०० रूपैयाँ पर्छ। त्यही पर्समा इम्ब्रोइडरी गरिएको छ भने मूल्य दोब्बर हुन्छ।
यीमध्ये सबभन्दा धेरै बिक्ने मेकअप राख्ने जिन्सको पर्स हो। साइड ब्याग पनि धेरै बिक्छन्। यस्ता ब्याग र पर्समा ग्राहकले भनेअनुसार इम्ब्रोइडरी गर्न सकिन्छ। कतिपयले आफ्नै नाम लेखाएका हुन्छन्।
'अचेल त इम्ब्रोइडरी गरिएका सामानको अर्डर विदेशबाट पनि आउन थालेको छ,' सुनीताले भनिन्।


उनी यस्ता सामान बनाउन पुराना कपडा मात्र प्रयोग गर्छिन्। यही नै 'नानुज् क्रिएसन' को विशेषता हो। अहिले पनि चिनजानका मान्छेले पुराना जिन्स र पुराना कपडा आफूलाई दिने गरेको उनी बताउँछिन्। त्यसबाहेक कपडा कारखानाहरूसँग पनि उनको सम्पर्क छ। त्यहाँ खेर गएका कपडा उनी लिएर आउँछिन्। लुभूको एउटा कारखानाबाट बढी भएको धागो प्रयोग गर्छिन्।
'यो व्यवसायमा लागेपछि धेरै जनासँग चिनजान भयो। म पुरानो कपडाबाट नयाँ सामान बनाउँछु भन्ने थाहा पाएपछि धेरैले आफै फोन गरेर पुराना कपडा दिन ल्याउनुहुन्छ,' उनले भनिन्, 'अहिलेसम्म यसबाटै मेरो व्यवसाय चलिरहेको छ।'
डिजाइनिङका अतिरिक्त उनी ललितपुर महानगरपालिकाका विभिन्न वडामा गएर महिलाहरूलाई सिलाइबुनाइ तालिम दिन्छिन्। उनले तालिम दिन थालेको ६ वर्ष भयो। ललितपुर महानगरका १ देखि २९ वडासम्म पालैपालो जानुपर्ने हुँदा उनी हरेक दिन व्यस्त रहन्छिन्।
यसबाहेक विभिन्न गैरसरकारी संस्थाबाट पनि सिलाइबुनाइ तालिम दिन बोलावट आउँछ। जहाँबाट बोलाए पनि उनी नाइँ भन्दिनन्।
'आफूले जानेको सिप अरूलाई सिकाउन पाउँदा खुसी लाग्छ,' उनले भनिन्, 'तालिम लिएकामध्ये १० जना उत्कृष्ट विद्यार्थीलाई विभिन्न तरिकाले आफ्नो कामसँग जोड्ने गरेकी छु। यसले उनीहरूलाई रोजगारी हुन्छ, मलाई पनि दक्ष कामदारको कमी हुँदैन। कतिपयले त तालिमपछि आफ्नै व्यवसाय गर्नुभएको छ। उहाँहरू पनि मैलेजस्तै पुरानो कपडाबाट नयाँ सामान बनाउनुहुन्छ।'
'मेरो कारणले धेरै जना स्वरोजगारमा लागेका छन्। आफ्नो खुट्टामा उभिएका छन्। जिन्दगीमा योभन्दा ठूलो खुसी अरू के होला?' सुनीताले भनिन्।
वडा कार्यालयदेखि गैरसरकारी संस्थाहरूमा तालिम दिनुको एउटा फाइदा छ — ती तालिम केन्द्रबाट उनलाई चाहिने पुराना कपडा सजिलै उपलब्ध हुन्छन्।
व्यवसाय सञ्चालन र तालिमका अतिरिक्त सुनीता प्रदर्शनीहरूमा भाग पनि लिन्छिन्। यसले स्वदेशी तथा विदेशीहरूसँग सम्पर्क बढाएको र व्यवसाय विस्तार गर्न सघाउ पुगेको उनी बताउँछिन्।
'विदेशीहरू मेरो डिजाइनमा धेरै रूचि राख्नुहुन्छ,' उनले भनिन्, 'उहाँहरू मैले बनाएका सामान किनेर पनि लैजानुहुन्छ।'

पहिले उनी आफ्नै स्टलबाट मात्र सामान बेच्थिन्। पछिल्लो समय नानुज् क्रिएसनका सामान यति लोकप्रिय भएका छन्, अरू बिक्री केन्द्रबाट पनि उनलाई अर्डर आइरहन्छ। माइतीघरको थ्रिफ्ट स्टोर र बखुण्डोलको एउटा पसलबाट आफ्नो सामान बिक्री भइरहेको उनले जानकारी दिइन्। चितवनको एउटा पसलमा पनि उनी सामान पठाउँछिन्।
सुनीताले १५ वर्षको व्यावसायिक जीवनमा थुप्रै नियमित ग्राहक कमाएकी छन्। पन्ध्र वर्षदेखि आफूले बनाएको झोला वा पर्स मात्र प्रयोग गरिरहेका मान्छे टन्नै भएको उनको भनाइ छ। अरू ठाउँको ब्याग वा पर्स छिट्टै बिग्रिन्छ, तपाईंकहाँ किनेको सामान लामो समय टिक्छ — ग्राहकहरूको मुखबाट यस्तो प्रतिक्रिया सुन्दा सुनीता दंग पर्छिन्।
'अहिले मान्छेहरू नयाँ नयाँ डिजाइन खोज्छन्। ग्राहकको रूचिअनुसार बनाउन समय लाग्छ,' उनले भनिन्, 'धेरै किसिमका डिजाइनको नमूना बनाएपछि बल्ल एउटा डिजाइन ग्राहकले मन पराउनुहुन्छ। यसका लागि प्रशस्त समय दिनुपर्छ।'
सुनीताको सफलता देखेर अचेल उनका परिचितहरू पनि अचम्म मान्छन्। यस्तो काम गरेर कसरी घर चलाउँछौ, कसरी छोराछोरी हुर्काउँछौ भन्नेहरू उनको तारिफ गरेर थाक्दैनन्।
आफ्नै बलबुतामा केही गरेर देखाउँछु भन्ने आत्मविश्वासका साथ घर छाडेर हिँडेकी सुनीतालाई आज पनि त्यो निर्णयमा पछुतो छैन।
'मैले जे गरेँ ठिक गरेँ,' उनले भनिन्, 'घरबाट निस्केपछि आफू भएर बाँच्न पाएँ। आफ्नै सर्तमा जिन्दगी बिताउन पाएँ। आफ्नै तरिकाले छोराछोरी हुर्काउन पाएँ। म आज खुसी छु, सन्तुष्ट छु।'
सबभन्दा ठूलो कुरा त, ३७ वर्षअघि कोठाको कुनामा लुकेर आमाको पुरानो सारी काट्दै बस्ने ती १० वर्षे बालिकाको सपना साकार भएको छ; उनी आज स्टार डिजाइनर बनेकी छन्।
त्यो सपनालाई अझै उचाइ दिन सुनीता त्यसमा नयाँ पखेटा उन्दै छिन्।
भविष्यमा आफ्नै कारखाना खोल्ने र आफूले तालिम दिएका महिलालाई रोजगार दिएर नयाँ नयाँ डिजाइनका सामान बजारमा ल्याउने उनको योजना छ।
***




