बजारमा अण्डाको मूल्य बढेको छ।
नेपाल लेयर्स कुखुरापालक संघका अनुसार मागअनुसारको उत्पादन नहुँदा मूल्य बढेको हो।
'हाम्रो हिजो बैठक थियो, आजबाट लागु हुने गरी अण्डाको मूल्य बढाएका छौं,' संघका अध्यक्ष विनोद पोखरेलले भने।
उनका अनुसार अहिले प्रतिक्रेट १५ रूपैयाँका दरले अण्डाको मूल्य बढेको छ। गत साता बुधबार पनि अण्डाको नयाँ मूल्य तोकिएको थियो।
अत्यधिक गर्मीका कारण अण्डाको उत्पादन घटेकाले मूल्य बढेको विनोदको भनाइ छ।
'माग बढी छ। उत्पादन छैन,' उनले भने, 'त्यसैले थोरै अवधिमै अण्डाको मूल्य बढेको हो।'
हाल बजारमा मध्यम, ठूलो, एक्सेल गरी तीन आकारका अण्डा पाइन्छ।
किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ६५, ठूलो अण्डा चार सय ९५ र एक्सेल अण्डा पाँच सय १५ रूपैयाँ तोकिएको छ।
यस अघि किसानले मध्यम आकारको अण्डा तीन सय २०, ठूलो अण्डा चार सय ५० र एक्सेल अण्डा तीन सय ७० रूपैयाँ पाएका थिए।
किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ।