बाँकेको राप्ती सोनारी गाउँपालिका–१ स्थित कुसुम बजारको दुरीबारे यात्रुलाई जानकारी दिन ठाउँ ठाउँमा 'माइल स्टोन' राखिएको छ। कुसुम बजारबाट १७ किलोमिटर पश्चिमको अगैया बजारबारे भने त्यस्तो जानकारी पाइँदैन।
तर अगैया बजार चर्चित छ।
पूर्व–पश्चिम राजमार्गमा कोहलपुरबाट पूर्व ढकेरी–शम्शेरगञ्ज हुँदै अगैया पुगिन्छ। अगैयापछि सिक्टागाउँ, गाभर, सौरी र कुसुम बजार पुगिन्छ।
स्थानीयवासी जानकारहरूका अनुसार सडक कार्यालयले बेवास्ता गरेर वा भुल भएर अगैया बजारको दुरीसंकेत लेख्न छुटाएको होइन। खासमा त्यस बेला अगैया चर्चामै थिएन। त्यहाँ बजार नै थिएन।
त्यसो भए अगैया बजार कसरी बन्यो? किन चर्चामा आयो?
अगैयाका बासिन्दा अजय चौधरीका अनुसार उनी सानो छँदा अहिलेको अगैया बजार पूर्व–पश्चिम राजमार्गको सतहबाट झन्डै १५ मिटर तल थियो।
'मैले थाहा पाउँदा अगैयामा राजमार्गको सतहमा आधा दर्जन जति छाप्रा थिए,' ३० वर्षीय अजयले भने, 'ती छाप्रामा स्थानीयवासीले किराना पसल र राप्ती नदीका माछा बेच्ने पसल चलाएका थिए। ट्रक चालकहरू अगैयामा माछा खान रोकिन्थे। कहिलेकाहीँ किनेर पनि लैजान्थे।'
तिनै चालकहरूका माध्यमबाट माछा खोज्दै मान्छेहरू अगैया आउन थाले। बिस्तारै यो माछा पाइने ठाउँ भनेर चिनिन थाल्यो। निजी सवारीसाधन पनि रोकिन थाले। राजमार्ग सतहभन्दा तलै स्थानीयवासीले माछाका परिकार पकाएर खुवाउने र माछा सुकाएर बेच्ने पसल चलाए। एकपछि अर्को होटल खुल्न थाले।
राप्ती नदीमा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत 'सिक्टा सिँचाइ आयोजनाको बाँध' बनाउने क्रममा निस्केको बालुवासहितको माटोले पुरेर राजमार्ग र अगैया बजारको सतह मिलाएको अजय बताउँछन्।
अजय चौधरी
'यसरी राजमार्ग किनारमा उचालिएर बनेको मैदानमा धमाधम घर र टहरा बने। त्यसमै बजार बन्यो। अनि राप्तीका माछाको व्यापार बढ्यो,' उनले भने।
अगैया बजार सिक्टा सिँचाइको बाँधसँग जोडिएको छ। अहिले अगैया वा सिक्टा जे भने पनि हुने भएको छ। स्थानीय थारू अगुवाका अनुसार यहाँ 'अगै' नामको रूख पाइने भएकाले अगैया नाम रहेको हो। अगैको फलको अचार खाने चलन छ। त्यस्तै थारूहरू चट्टानलाई सिक्टा भन्छन्। बाँध बनेकै ठाउँमा ठूलो चट्टान रहेकाले सिक्टा नाम रह्यो।
अगैया चर्चित भएको भने माछाकै कारण हो। हाल यहाँ माछाका परिकार बेच्ने सय वटाभन्दा बढी होटल छन्।
अजयले पनि कक्षा बाह्रको पढाइ पूरा गरेपछि १० वर्षअघि 'अजय नास्ता पसल' नामको सानो होटल खोले। उनको होटल बाँधबाट झन्डै सय मिटर उत्तरमा छ। परीक्षणका लागि खोलेको होटलबाट राम्रो व्यापार भएपछि पाँच वर्षअघि उनले सरकारी कार्यालयमा दर्ता गराए।
होटलमा अजय र उनकी श्रीमती मिलेर काम गर्छन्। दुई जना सहयोगी छन्।
उनीहरू राप्ती नदीमा पाइने माछा, माछाको सुकुटी र लोकल भालेको मासु बेच्छन्।
'म राप्तीकै माछाको परिकार खुवाउँछु। भाले पनि गाउँघरकै हुन्छ,' अजयले भने, 'दैनिक कम्तीमा पाँच हजार रूपैयाँको व्यापार हुन्छ। कुनै दिन त ४० हजारसम्मको बेचेको छु।'
यो क्षेत्र बाँके राष्ट्रिय निकुञ्जमा पर्छ। निकुञ्जले प्रजननको समय भनेर असारदेखि भदौसम्म तीन महिना नदीमा माछा मार्न रोक लगाएको छ। त्यस्तै राति मात्र माछा मार्न पाइँदैन। माछा मार्न पनि अनुमति (लाइसेन्स) लिनुपर्छ जुन अहिले वादी र खुना जातिका मानिसले मात्रै पाएका छन्। अजय तिनै मछुवारसँग माछा किन्छन्।
चिसो मौसममा राप्तीको माछा निकै स्वादिलो हुने अजय बताउँछन्। असारमा माछाको प्रजनन सुरू हुने, पानी धमिलो हुने भएकाले खास स्वादिलो हुँदैन।


'अगैयामा माछा किन्नै भनेर टाढा टाढाबाट मानिसहरू आउँछन्। यताबाट यात्रा गर्ने अधिकांश यात्रु माछाका परिकार खान्छन् र सुकाएको माछा लैजान्छन्,' उनले भने।
निकुञ्ज स्थापना भएपछि सिक्टा क्षेत्रमा माछा धेरै पाइन थालेको छ। निकुञ्ज नहुँदा नदीमा कुनै नियन्त्रण थिएन। मानिसहरू विस्फोटक वस्तु प्रयोग गरेर, विषालु पदार्थ हालेर, करेन्ट लगाएर माछा मार्थे। निकुञ्जले त्यस्ता गतिविधिमा रोक लगाएपछि माछा पर्याप्त पाइन थालेको अजयको भनाइ छ।
निकुञ्ज प्रशासनले नियन्त्रित रूपमा मात्र माछा मार्न दिने भएकाले अगैयाका होटलहरूले माग अनुसार माछा भने पाउँदैनन्। माग पूरा गर्न बर्दियाको बढैया तालको माछा आउँछ।
आफूले भने कहिल्यै बढैयाको माछा नबेचेको अजयको भनाइ छ।
'अगैया बजार माछाले नै बनेको हो, माछाकै लागि चर्चित छ,' उनले भने, 'म यहाँको रैथाने हुँ, राप्तीकै माछा बेच्छु। पाइएन भने बेच्दिनँ।'
निकुञ्जलाई छलेर राति माछा मार्ने गरेकाले असारदेखि भदौसम्म पनि राप्तीको माछा अभाव भने नहुने स्थानीयवासीहरू बताउँछन्।
स्थानीय बासिन्दा झकबहादुर वादीले निकुञ्जबाट माछा मार्ने लाइसेन्स पाएका छन्। उनले लाइसेन्स पाएको ११ वर्ष भयो।
अहिले माछा मार्न नपाइने भएकाले फुर्सदमा उनी जाल बुनिरहेका छन्। सामान्य अवस्थामा भने राप्तीबाट दैनिक सरदर १० किलो माछा मार्छन्। किलोको चार सयदेखि पाँच सय रूपैयाँसम्म बेच्छन्।
'चैत, वैशाख र जेठ बढी माछा पाइने समय हो। यो अवधिमा महिनाको कम्तीमा एक लाख रूपैयाँ बचत हुन्छ,' ५० वर्षीय झकबहादुरले भने, 'कात्तिक र मंसिरमा चाहिँ निकै कम हुन्छ।'
झकबहादुर वादी
झकबहादुरको मूल घर दाङको साविक बागमारेमा हो। उनले राप्ती बबई क्याम्पसबाट आइए (बाह्र कक्षा) सम्मको पढाइ पूरा गरेका छन्। बिहेपछि, १६ वर्षअघि बसाइँ सरेर सिक्टा आएका हुन्। माछा मारेरै उनको गृहस्थी चलेको छ। दुई सन्तान छन् जो स्नातक तहमा पढ्दैछन्।
उनी 'राप्ती मच्छे समूह' का अध्यक्ष हुन्। निकुञ्ज प्रशासनले माछा मार्ने लाइसेन्स दिन यो समूहको सिफारिस माग्छ। हालसम्म ३१ जना पुरूष र आठ जना महिलाले लाइसेन्स पाएका छन्। लाइसेन्स वर्षमा दुई पटक नवीकरण गर्नुपर्छ। नवीकरण शुल्क सय रूपैयाँ छ। मछुवारले निकुञ्जको नियम नमानेको ठहर भए लाइसेन्स खारेज हुन सक्छ।
'माछा मार्दा हाते जाल (फेक्वा) र हाते बल्छी मात्रै प्रयोग गर्न पाइन्छ। म बल्छी चलाउँदिनँ। हाते जालमा धेरै ठूलो माछा पर्दैन,' झकबहादुरले भने, 'अहिलेसम्म एक पटक ६ किलोको माछा परेको छ। बल्छी चलाउनेले त ५० किलोसम्मको पार्छन्।'
माछा मार्नु सहज काम होइन। बगरमा खाली खुट्टा हिँड्नुपर्छ। सर्पले डस्ने डर हुन्छ। नदीमा गोही पनि छन्। गहिरो ठाउँमा त झन् डुब्ने सम्भावना हुन्छ।
'पानीको हाँगाबिँगा हुँदैन। गहिरो भूमरीमा परियो भने डुबेर मरिन्छ,' झकबहादुरले भने, 'यति जोखिमको काम छ। मेरा छोराछोरी मछुवार नहोऊन् भन्ने चाहन्छु।'
एकातिर माछाका कारण अगैया बजारको व्यापार चम्किरहेको छ, अर्कातिर यहाँको बस्ती नै हटाउन निकै प्रयास भइरहेको छ। किनभने, मुख्य बजार रहेको सबै जमिन ऐलानी हो।
स्थानीय बासिन्दाको विरोधका कारण अहिलेसम्म बस्ती हटाउने प्रयास सफल नभएको अगैया बजार व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज डाँगी बताउँछन्।
'सिक्टा (अगैया) बजार समयको माग हो। बजार बस्यो। अब यसलाई व्यवस्थित गर्नुपर्छ,' उनले भने।
तीर्थराजका अनुसार सम्वत् २०४० को दशकमा अगैयामा राजमार्ग छेउछाउ दुई–चार वटा झुपडी थिए। बाँध नहुँदा मानिसहरू डुंगाबाट नदी तर्थे। नदी वारिपारि गर्ने मानिसहरू प्रशस्तै हुन्थे तर खानेबस्ने ठाउँ थिएन।
'यहाँ सानोतिनो बजार आवश्यक देखियो। तर झुपडी बनाएर बसेकालाई वन कार्यालयले हटाउँथ्यो। केही दिनमा फेरि झुपडी बन्थे,' ६३ वर्षीय तीर्थराजले भने।
तीर्थराज डाँगी
२०४५ सालमा राजा वीरेन्द्र सुर्खेत आउने भए। तीर्थराजकै नेतृत्वमा एउटा समूहले सिक्टामा बजार आवश्यक रहेको कारणसहित एउटा निवेदन सुर्खेत पठायो। वीरेन्द्रले सिक्टाको बस्ती नउठाउनू भन्ने आदेश गरिदिए। केही दिनमा जनआन्दोलन भयो, बहुदलीय व्यवस्था आयो। तीव्र गतिमा बजार विस्तार भयो।
पछिका दिनमा पनि वन अतिक्रमण भयो भनेर बस्ती हटाउने प्रयास नभएको होइन। तर सम्भव भएन।
२०६३/६४ सालमा सिक्टा सिँचाइ आयोजना सुरू भयो। चिनियाँ कम्पनी 'सिनो हाइड्रो' ले बाँधको काम पायो। तीर्थराज मुआब्जा सम्बन्धी संयोजक भए।
बाँध बनाउने क्रममा निस्केको बलौटे माटोले अगैयाको जमिन पुरेर राजमार्गसँग सतह मिलाइयो। सिक्टा सिँचाइ आयोजनाका प्रमुख डिभिजनल इन्जिनियर माधव बेलबासेले सहयोग गरे, तीर्थराजले समन्वय।
'बजार उकास्न मौजुदा झुपडी र टहरा हटाउनुपर्थ्यो। मानिसहरू मानिरहेका थिएनन्। मेरो पनि एउटा टहरो थियो। मैले आफ्नो टहरो हटाएर माटो हाल्न लगाएँ। त्यसपछि सबै सहमत भए,' तीर्थराजले भने, 'यसरी बजार उकासियो। त्यसपछि धमाधम झुपडी र टहरा बने। घर पनि बने।'
बाँके राष्ट्रिय निकुञ्ज स्थापना हुनुअघि पनि यहाँ माछाको व्यापार हुन्थ्यो। तत्कालीन जिल्ला विकास समिति (जिविस) ले बाँके जिल्लाभरि माछा मार्ने ठेक्का लगाउँथ्यो। तीर्थराजले पनि ठेक्का पाएर दाङको तुलसीपुर र घोराहीमा माछा बिक्री केन्द्र राखे। सिक्टाको भन्दै प्रचार गरे पनि माछाले बजार पाएन।
अर्को वर्ष उनले अगैयामै बिक्री केन्द्र राखे। व्यापार राम्रो भयो। त्यही बेलादेखि यहाँ राप्तीको माछा पाइन्छ भन्ने प्रचार भयो। अगैया भएर पार हुने यात्रुले माछा किन्न थाले। अन्यत्रबाट पनि माछा किन्न आउन थाले। अनि बिस्तारै अगैया राप्तीको माछा पाइने बजारका रूपमा चिनियो।
'अगैयाको परिचय विस्तार गर्न माछाका परिकारहरू बनाए विदेश पठाउन व्यवसाय आवश्यक छ,' उनले भने।
सिक्टा सिँचाइको बाँधका कारण यो क्षेत्रमा पर्यटन पनि बढ्दो छ। बाँधले बनाएको तालमा मोटर बोट चलाउन सके पर्यटन व्यवसाय बलियो हुने सम्भावना छ। निकुञ्जको पर्यटनले पनि सिक्टा–अगैयालाई मद्दत हुनेछ।
'अगैयाको भविष्य धेरै सुन्दर छ। पर्यटकलाई राष्ट्रिय निकुञ्ज घुमाउने सफारी गाडी बनिसकेको छ,' उनले भने, 'अब यहाँ मोटर बोट ल्याउन जरूरी छ,'
अगैया बजारबाट करिब साढे दुई किलोमिटर पश्चिम गोभारपुरमा ठूलो लगानीमा 'सफारी रिसोर्ट' बन्दै छ। यसले सेवा सुरू गरेपछि अगैया झन् गुलजार हुने उनको विश्वास छ।
जंगलको बीचमा अगैया बजार विस्तार हुँदै गएपछि फोहोर व्यवस्थापन भने चुनौती बनेको छ। राप्ती सोनारी गाउँपालिकाले फोहोर व्यवस्थापन गर्न एउटा अटोरिक्सा दिएको छ। बजारबाट निस्किने फोहोर संकलन गरेर निकुञ्जले प्रशासनले तोकेको स्थानमा विसर्जन गर्ने व्यवस्था मिलाइएको छ।
