'सबै गुमिसकेको छ, तिमी किन अझै आश गरिरहेछौ?'
भाटभटेनीमा दन्किरहेको आगोको भिडियो सामाजिक सञ्जाल टिकटकमा राख्दै भाटभटेनी सुपरमार्केटले आफैंलाई प्रश्न गरेको छ।
सोही भिडियोमा थप भनिएको छ, 'किनकी हाम्रा कर्मचारीहरू अथक परिश्रम गरिरहेका छन्। यिनै हाम्रा लागि अग्नी नियन्त्रक हुन्, नायक हुन्।'
भिडियोमा कर्मचारीहरू मानव साङ्लो बनाएर सरसफाइमा जुटेको देखिन्छन्। कतिपय खरानी पन्छाउँदै सरसफाइ गरिरहेका छन्। केही भवनमा लागिरहेको आगो निभाइरहेका छन्। केही चोरी र आगलागीबाट बचेको सामग्री सम्हालिरहेका छन्। फेरि उठ्ने प्रयासमा जुटिरहेका छन्।
तोडफोड र चोरीपछि थिलथिलो बनेको कलंकी भाटभटेनीमा कर्मचारीहरूले सरसफाइ गरेर फोहोर पन्छाउन थालेका छन्।
इटहरी लगायत अन्य शाखामा पनि सरसफाइ लगायत काम गरिरहेका छन्।
भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा भाटभटेनी सुपरमार्केटका २१ शाखामा क्षति पुगेको छ। देशका विभिन्न स्थानमा रहेका २८ वटा शाखा मध्ये सात वटामा मात्रै क्षति हुनबाट जोगिएका छन्।
भाटभटेनीका प्रतिनिधि पानु पौडेलका अनुसार यी २१ शाखाहरूमा प्रदर्शनकारीले चोरी, तोडफोड र आगजनी गरेका छन्।
१२ वटा शाखामा लुटपाटपछि आगो लगाइएको हो। ९ वटामा तोडफोड र लुटपाट गरिएको छ।
यसअघि २०८१ चैत १५ मा दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा पनि कोटेश्वरको भाटभटेनीमा तोडफोड र चोरी भएको थियो।
अहिले अत्यधिक धेरै क्षति पुगेको छ। तर कति क्षति भयो भन्नेबारे यकिन गरिनसकेको भाटभटेनी सञ्चालक मीनबहादुर गुरूङले बताए।