हाल बजारमा डीडीसी घ्यूको अभाव देखिएको छ । दूग्द्य विकास संस्थान (डीडीसी)ले संकलन गर्ने दूधमा कमी आएकोले डीडीसी घ्यूको अभाव देखिएको हो ।
डीडीसीका बजार प्रबन्धक सञ्जीव कुमार झाका अनुसार सुख्खा सिजन भएकोले दूधको उत्पादनमा ह्रास आएको छ भने चाडपर्वको समय शुरू भएसँगै किसान स्वंय तथा स्थानीयस्तरमै उत्पादित दूधको खपत बढेको छ । ‘चाडपर्वको बेला दूधको खपत स्थानीयस्तरमै बढेर जान्छ जसले गर्दा डेरीसम्म पर्याप्त दूध आउन पाउँदैन,’ उनले भने।
घ्यूलाई चाहिने पर्याप्त मख्खन अपुग भएकाले बजारमा वितरण गर्न नसकिएको हो । उनले भने, ‘डीडीसीको पहिलो प्राथमिकता बजारमा दूधको सहज आपूर्ति गर्नु नै हो, दूध प्रशोधन गर्दा पर्याप्त मख्खन निस्किए मात्र हामीले त्यसलाई घ्यू उत्पादनमा प्रयोग गर्ने गरेका छौँ तर हाल दूधलाई आवश्यक पर्ने मख्खन नै अपुग रहेकाले घ्यू उत्पादनमा आधा भन्दा बढीले कमी आएको छ ।’
झाले बताएअनुसार हाल काठमाडौंमा दैनिक ६ देखि ७ लाख लिटरसम्म दूधको माग रहेको छ । जसमा डीडीसीले एक लाख २० हजार बराबर लिटर आपूर्ति गर्ने गर्छ ।
काठमाडौं उपत्यकाको बजार सन्तुलन कायम राख्न डीडीसीको बालाजुमा भएको कारखानामा ६० हजार लिटरबाहेक हेटौंडा र बुटवलबाट १५ हजार लिटर दूध ल्याइँदै आएको छ ।
त्यस्तै, भारतको पटना डेरीबाट दैनिक १५ हजार लिटर दूध आयात गरिँदै आएको छ । डीडीसी र पटनाको डेरीबीच स्वदेशमा उत्पादन कम भएको बेला दूधको कारोबार गर्न सकिने सम्झौता छ । तर यसो गर्दा कच्चा दूध आयात गर्दा तिर्नुपर्ने रकमसँगै ढुवानी गर्दा लाग्ने शुल्कको भार समेत संस्थानलाई थपिएको छ । यति गर्दा पनि डीडीसीलाई करीब २५ हजार लिटर दूधको अभाव रहेको झाले बताए । उनले भने, ‘हामीले बजार सन्तुलन कायम गर्न सक्दो प्रयास गरिरहेकै छौँ तर यसका बाबजुद पनि कच्चा दूध नै नपाएपछि पाउडरले मात्रै कहिले सम्म धान्ने?’
डीडीसीको प्रति लिटर घ्युको मूल्य ८ सय रुपैंयाँ छ भने निजी डेरीहरुले ८ सय ५० देखि ९ सयसम्म लिने गर्छन् । हाल निजी क्षेत्रलाई पनि दूध उपलब्धताको व्यापक समस्या रहेको निजी डेरी सञ्चालकहरु बताउँछन् । दूधको उपलब्धता घटेकै कारण निजी डेरीहरुले सुख्खा सिजनको मागलाई धान्न विदेशबाट पाउडरको आयात गर्दै आएका छन् ।
पशुपालनबाट किसान पलायन हुनु, सामूहिक तथा व्यवस्थित रुपमा गाइभैंसी पालन नहुनु, भूकम्पको समयमा धेरै संख्यामा चौपाया मरेको लगायतका कारणले गर्दा दूधको उत्पादन घट्दै गएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक व्यक्तिको प्रति वर्ष ९१ लिटर दूधको उपलब्धता हुनुपर्नेमा नेपालमा भने प्रतिवर्ष उपलब्धता ७१ लिटर भन्दा बढ्न सकेको छैन ।
तथ्यांकका अनुसार उत्पादित कच्चा दूधको १५ प्रतिशत मात्र डेरी लगायतका औपचारिक क्षेत्रमा आइपुग्छ भने ३५ प्रतिशत स्थानीयस्तरका चियापसल, मिठाई पसल तथा बाँकी ५० प्रतिशत किसान स्वंयले खपत गर्ने गर्छन् ।
हाल बजारमा दैनिक १५ सय लिटर डीडीसी घ्यूको माग भएपनि उत्पादन भने ६ सयभन्दा बढ्न सकेको छैन ।