पछिल्लो समय घरजग्गा कारोबार ओरालो लाग्दै गएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार २०७८/०७९ कात्तिकमा भएको कारोबार संख्याको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० को यही महिनामा घरजग्गा कारोबार ६० प्रतिशतले घटेको हो।
गत वर्ष कात्तिकमा काठमाडौं उपत्यकामा तीन हजार आठ सय ३९ संख्यामा घरजग्गा कारोबार भएको थियो। यो वर्षको कात्तिकमा घरजग्गा कारोबार संख्या एक हजार पाँच सय ४७ मात्र छ।
२०७९ कात्तिकमा कित्ताकाट पनि घटेको छ। गत वर्ष कात्तिकमा सात सय १९ कित्ता जग्गा टुक्र्याएर एक हजार नौ सय ९४ टुक्रा पुर्याइएको थियो। यो वर्ष कात्तिकमा तीन सय ८७ कित्ता जग्गालाई टुक्र्याएर एक हजार एक सय ६० कित्ता पुर्याइएको छ।
केही समयदेखि घरजग्गा कारोबारमा मन्दी आइरहेका कारण कारोबार घटेको विभागको भनाइ छ। अहिले स्थानीय तहबाट जग्गा वर्गीकरणको काम भइरहेकाले पनि कारोबार भएको छैन।
त्यस्तै बैंकको ब्याजदरमा भएको वृद्धि, कर्जा लगानीमा भएको सुस्तताले यसमा प्रभाव पारेको छ।
२०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ। स्थानीय भू–उपयोग परिषदबाट भइरहेको जग्गा वर्गीकरणले पनि जग्गाको कारोबारमा कमी आएको विभागका अधिकारीहरू बताउँछन्।
अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन्। विभागका अनुसार हालसम्म केही स्थानीय तहले मात्र जग्गा वर्गीकरणको काम सकेका छन्। सरकारले मंसिर भित्रमा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएको छ।
जानकारहरूका अनुसार बैंकमा आएको तरलताको असर घरजग्गा कारोबारमा देखिएको छ। बैंकहरूमा निक्षेप स्रोत अभाव भएसँगै निक्षेपको ब्याजदर बढाएका छन्। यसले कर्जाको ब्याजदरमा पनि वृद्धि भइरहेको छ।
नेपाल रियलस्टेट अर्गनाइजेसनका महासचिव विनोद सुवेदी कारोबार बढ्न अझै केही समय लाग्न सक्ने बताउँछन्।
'अहिले पनि बैंकबाट जाने कर्जामा कडाइ छ। व्यवसायीहरू चालु पुँजी कर्जालाई सीमामा ल्याउनु पर्ने दबाबमा रहेकाले लगानीको वातावरण बन्न सकेको छैन,' सुवेदीले भने।
कोरोनापछि विश्वकै अर्थतन्त्र मन्दीमा छ। यो नसुध्रेसम्म हामीकहाँ हुने घरजग्गा कारोबार बढ्न नसक्ने उनी बताउँछन्।
'अहिले विश्वमै आर्थिक मन्दी छाएको छ। यसले रेमिटेन्स बढ्न सक्दैन,' उनले भने, 'यसको प्रभाव यहाँ घरजग्गा कारोबारमा पर्छ।'
सुवेदीका अनुसार रूस–युक्रेनको द्वन्द्वले पनि रियल–स्टेट क्षेत्रमा प्रभाव पारेको छ। अमेरिका लगायत ठूला युरोपियन देशले युक्रेनलाई सहयोग गरिरहेका छन्। रूस–युक्रेनको द्वन्द्व नचलेको भए ठूला देशले गर्ने आर्थिक सहयोग लगानीमा परिणत हुन्थ्यो र रोजगारी सिर्जनामा सहयोग पुग्थ्यो।
केहीले चुनावपछि बैंकमा निक्षेप बढ्न सक्ने अनुमान पनि गरेका छन्। हाल रेमिटेन्समा पनि केही सुधार आइरहेको छ। यसले बिस्तारै घरजग्गा कारोबार बढाउँदै जाने अपेक्षा व्यवसायीहरूको छ।
काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्ः कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु। यी कार्यालयहरूलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ। ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन्।
अहिले काठमाडौंमा भएको कारोबारमध्ये सबैभन्दा बढी कलंकी मालपोत कार्यालयबाट भएको छ।
कलंकी कार्यालयबाट कात्तिकमा ५ सय ३५ संख्यामा घरजग्गा कारोबार भएको छ। यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरि, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन्।
दोस्रो ठूलो कारोबार गर्नेमा चाबहिल मालपोत कार्यालय छ। यो कार्यालयबाट कात्तिकमा तीन सय ८४ संख्यामा घरजग्गा किनबेच भएको छ। आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र यसका कार्यक्षेत्र हुन्।
त्यस्तै मनमैजु कार्यालयबाट कात्तिकमा घरजग्गा कारोबारै भएको छैन। असोजमा पनि यस कार्यालयबाट कारोबार भएको थिएन। यही सालको भदौमा भने यस कार्यालयबाट दुई सय ५४ संख्यामा कारोबार भएको थियो। यो कार्यालयको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा हुन्।
डिल्लीबजार कार्यालयबाट कात्तिकमा एक सय ३६ संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयले काठमाडौं महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा हेर्छ।
त्यस्तै साँखु कार्यालयबाट कात्तिकमा तीन सय ७७ संख्यामा घरजग्गा किनबेच भएको छ। यसको कार्यक्षेत्र बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका हुन्।
टोखा कार्यालयबाट कात्तिकमा एक सय १५ संख्यामा घरजग्गा किनबेच भएको छ। यसले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ र ७, टोखा नगरपालिका, तारेकश्वर नगरपालिका वडा नम्बर १ हेर्छ।
२०७९ कात्तिकमा देशभर २७ हजार नौ सय ३९ संख्यामा घरजग्गा कारोबार भएको छ। गत कात्तिकमा देशभर ५० हजार संख्यामा घरजग्गा कारोबार भएको थियो।