कुनै पनि घर बनाउँदा प्रयोग गरिने सरसामानले त्यसको स्वरूपमा महत्वपूर्ण भूमिका खेल्छ। सिमेन्ट, डन्डी, रङ लगायत जस्तै झ्याल–ढोकाको पनि धेरै महत्व हुन्छ।
यसअघि हामीले झ्याल-ढोकामा काठको चौकोसका बारेमा जानकारी दिएका थियौं। आज भने झ्यालमा राखिने सिसाको बारेमा जानकारी दिएका छौं।
पहिलेपहिले झ्यालमा काठको पल्ला (खापा) प्रयोग हुन्थ्यो। अचेल सिसा राखिन्छ। कोठामा उज्यालो छिर्ने, घामपानीले असर नगर्ने, सस्तो र आधुनिक देखिने भएकाले सिसाको चलन बढेको व्यवसायीहरू बताउँछन्।
त्यस्तै धेरैजसो सादा र पारदर्शी सिसा मात्र पाइने गरेकामा अचेल धेरै विकल्प भइसकेको अजुर्न हार्डवेयरका सञ्चालक अर्जुन भट्ट बताउँछन्।
'अहिले सादा, रंगीन र बुट्टेदार गरी विभिन्न प्रकारका सिसा पाइन्छ,' उनले भने, 'यी प्रकार पहिले पनि हुन्थे, तर चलनमा नभएकाले बजारमा धेरै हुँदैन थियो। आजभोलि त यी तीनै प्रकारका सिसा चल्तीमा छन्।'
रंगीनमा कालो, नीलो र हरियो रङको पाइन्छ। बुट्टेदारमा खोपेको र छापेको (प्रिन्टेड/स्टिकर) गरी दुई प्रकारको हुन्छ।
नेपालमा यस्तो सिसा बनाउने उद्योग छैन। त्यसैले भारत र चीनबाट ल्याइन्छ। भारतीयको तुलनामा चिनियाँ सिसा सस्तो छ। ग्राहकको रोजाइ भने भारतीय सिसा नै भएको अर्जुन बताउँछन्।
'चिनियाँ सिसा भारतीयभन्दा प्रतिवर्गफिट पाँच रूपैयाँ सस्तो छ,’ उनले भने, 'तर ग्राहकले भारतकै धेरै खोज्छन्।'
उनका अनुसार भारतीय सादा सिसाको मूल्य प्रतिवर्गफिट ८५ रूपैयाँ छ। रंगीन (कालो, नीलो र हरियो) को एक सय ५ रूपैयाँ पर्छ। जुनसुकै किसिमको बुट्टेदार (खोपिएको वा छापिएको) सिसा भने अलि महँगो छ, प्रतिवर्गफिट एक सय ५० रूपैयाँ पर्छ।
सादा चिनियाँ सिसाको प्रतिवर्गफिट ८० रूपैयाँ छ। रंगीनको एक सय र बुट्टेदारको एक सय ४५ रूपैयाँ पर्छ।
यी तीनै प्रकारका सिसाको आ–आफ्नै विशेषता भएको अर्जुन बताउँछन्।
वरिपरि अरू घरले छेकेको वा साँघुरो कोठा छ भने सकेसम्म उज्यालो कसरी छिराउने भन्नेमा ध्यान दिनुपर्छ। यस्तोमा सादा सिसा प्रयोग गर्नु उपयुक्त हुन्छ। फराकिलो घरमै पनि धेरै उज्यालो चाहिने भए सादा नै राख्न सकिन्छ। यो सिसा पारदर्शी हुन्छ, भित्र र बाहिर दुवैतिरबाट देखिन्छ।
रंगीन सिसा भने घरलाई आकर्षक र फरक देखाउन प्रयोग गरिन्छ। यो सिसा हालेको छ भने दिउँसोको समयमा बाहिरबाट भित्र देखिँदैन। भित्रबाट मात्र देखिन्छ। त्यस्तै बेलुका कोठामा बत्ती बाल्दा भित्रबाट बाहिर देखिँदैन। बाहिरबाट भित्र भने देखिन्छ।
'जता उज्यालो छ, त्यो ठाउँबाट हेर्दा यसको अर्कोपट्टि नदेखिने हुन्छ,' अर्जुनले भने, 'सादा सिसा दुवैतर्फ देखिने हो भने रंगीनलाई एकतर्फी सिसा भनेर बुझ्न सकिन्छ।'
अब दुवैतिरबाट नदेखिने चाहिने हो भने बुट्टेदारको काम आउँछ। बुट्टे सिसा बाहिर र भित्र कहीँबाट पनि देखिँदैन। यस्तो सिसा खासगरी बाथरूम/ट्वाइलेटमा प्रयोग हुन्छ। आवश्यकताअनुसार जहाँ पनि राख्न सकिन्छ।
यो त भयो सिसाको मूल्यको कुरा। अब एउटा घर बनाउँदा सिसामा कति खर्च अनुमान गर्नुपर्ला त?
हामीले यहाँ चार कोठाको घरलाई आधार लिएका छौं। घर निर्माण गर्दै आएको बिएल एन्ड कन्स्ट्रक्सन कम्पनीका सिइओ ध्रुवबहादुर कार्कीले हामीलाई झ्यालको सिसामा लाग्ने खर्चबारे जानकारी दिएका छन्।
सिसा कति लाग्छ भन्ने कुरा कोठा भएको झ्यालको संख्या र आकारमा फरक पर्छ।
कार्कीका अनुसार सामान्यतया कोठाको आकार हेरी प्रत्येकमा एउटादेखि दुइटा झ्याल राखिन्छ। त्यस्तै ट्वाइलेट/बाथरूममा एक/एकवटा झ्याल हुन्छ।
हरेक कोठामा एउटाका दरले झ्याल राख्दा चार वटा हुन्छ। त्यसबाहेक बाथरूम र भर्याङमा एक/एक वटा गरी थप दुइटा झ्याल राखिन्छ। यसरी कम्तीमा ६ वटा झ्यालका लागि सिसा अन्दाज गर्नुपर्छ।
सामान्यतया चार फिट लम्बाइ र छ फिट चौडाइ (४ बाइ ६) र साढे चार फिट लम्बाइ र छ फिट चौडाइ (४.५ बाइ ६) को झ्याललाई स्यान्डर्ड साइज मानिन्छ।
हामीले यहाँ साढे चार फिट लम्बाइको, काठको चौकोस भएको, बीचमा विभाजन गरिएको डिजाइनको झ्याललाई आधार मानेका छौं।
कार्कीका अनुसार यो आकारको झ्यालमा तीन वटा खापा हुन्छ। एउटा खापामा ६ वटा (पिस) सिसा लाग्छ, कुल ८ वर्गफिट सिसा चाहिन्छ।
यही हिसाबमा एउटा झ्यालको तीन वटा खापामा कुल २४ वर्गफिट सिसा लाग्छ। चार कोठाका झ्यालमा ९६ वर्गफिट चाहिन्छ।
त्यस्तै भर्याङको झ्याल सामान्यतया १० फिट लम्बाइ र ४ फिट चौडाइको हुन्छ। यसमा कुल ४० वर्गफिट सिसा लाग्छ।
ट्वाइलेट/बाथरूमको झ्याल भने अलि सानो हुन्छ। यसमा जम्मा ८ वर्गफिट सिसा प्रयोग हुन्छ। यसमा बुट्टेदार सिसा राखिन्छ।
अब भारतीय सादा सिसा हाल्ने हो भने अहिलेको भाउअनुसार कोठा र भर्याङको झ्यालमा ११ हजार ६ सय रूपैयाँ जति चाहिन्छ। बाथरूमको समेत जोड्दा १३ हजार रूपैयाँ हाराहारी खर्च लाग्ने देखिन्छ।
रंगीन सिसा हाल्दा बाथरूमसहित १६ हजार रूपैयाँ अनुमान गर्नुपर्छ।
चिनियाँ सिसा हाल्ने हो भने भारतीयभन्दा एक हजार जति कम खर्च हुन्छ।
सिइओ ध्रुवबहादुर कार्कीका अनुसार आजभोलि आलुमिनियमको चौकोस (फ्रेम) भएको झ्याल पनि राखिन्छ। यस्तो झ्यालमा राख्ने सिसा भने अलग र महँगो हुन्छ। कोठा/बाथरूममा काठकै र भर्याङमा मात्र आलुमिनियमका झेयाल राख्नेहरू पनि धेरै हुन्छन्।
'आलुमिनियममा राखिने सिसा प्रतिवर्गफिट साढे चार सयदेखि पाँच सय रूपैयाँ पर्छ,' कार्कीले भने, 'यदि भर्याङमा मात्र यो सिसा राख्ने हो भने १८ हजारदेखि २० हजार रूपैयाँसम्म थप खर्च हुने देखिन्छ। यो मूल्य सिसा पाइने ठाउँ र समय हेरेर फरक पर्न सक्छ।
यो पनि- घरको झ्याल-ढोकामा काठको चौकोस राख्दा कति लाग्छ खर्च?