२०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको थियो।
स्थानीय भू–उपयोग परिषदबाट जग्गा वर्गीकरणको काम सुरू भएपछि जग्गाको कित्ताकाट रोकिएको थियो। योसँगै कारोबारमा पनि कमी आयो।
घरजग्गा कारोबारमा मन्दी आउँदा अर्थतन्त्रमा प्रभाव परेको भन्दै वैशाख ५ गते बसेको मन्त्रिपरिषद बैठकले कित्ताकाट खुलाउने निर्णय गरेको थियो।
भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले कित्ताकाट सहज बनाउने गरी नियमावली संशोधन गर्दैछ।
मन्त्रालयका सचिव दामोदर रेग्मीका अनुसार वर्गीकरणको समय थप गरिने तथा अशंबण्डा र मोहियानी हकदाबीमा आएको समस्या समाधान हुने गरी संशोधन गर्नेबारे छलफल भइरहेकोे छ।
सरकारको उक्त निर्णयसँगै घरजग्गाको कारोबार बढ्ने धेरैले अनुमान गरेका थिए।
तर, कारोबार बढ्नुको साटो काठमाडौं उपत्यकामा झनै घटेको छ।
चालु आर्थिक वर्ष २०७९/८० को वैशाख महिनामा काठमाडौं उपत्यकामा घरजग्गा कारोबार घटेको छ। चैतको तुलनामा घरजग्गा कारोबार घटेको हो।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार यो वर्षको माघ र फागुनमा उस्तैउस्तै संख्यामा कारोबार भएको थियो। चैतमा आएर थोरै संख्यामा उकालो लागेको घरजग्गा कारोबार वैशाखमा फेरि घटेको छ।
वैशाखमा काठमाडौं उपत्यकामा एक हजार नौ सय २१ संख्यामा घरजग्गा किनबेच भएको छ।
यस्तो किनबेच चैतमा काठमाडौं उपत्यकामा दुई हजार दुई सय ५५ संख्यामा थियो। त्यस्तै, माघमा दुई हजार एक सय ९० संख्यामा र फागुनमा जम्मा ६ मात्र बढेर दुई हजार एक सय ९६ पुगेको थियो।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा भने यो वर्ष समग्र कारोबार नै एकदमै कम छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि नै पोहोरभन्दा कम कारोबार भएको हो।
पोहोर साउनदेखि वैशाखसम्म कुल कारोबार संख्या ४५ हजार ६ सय ४ थियो। यस वर्ष यही अवधिमा जम्मा १९ हजार ६ सय ८८ संख्यामा मात्र घरजग्गा कारोबार भएको छ।
गत आर्थिक वर्षको वैशाखको कुरा गर्दा तीन हजार तीन सय ४६ संख्यामा घरजग्गा कारोबार भएको थियो।
कारोबार संख्या घटेसँगै जग्गा कित्ताकाटको संख्या पनि घटेको छ। चैतमा सात सय सात संख्यामा कित्ताकाट हुँदा वैशाखमा चार सय ८१ संख्यामा कित्ताकाट भएको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा भने यो वर्ष कित्ताकाट आधाभन्दा बढीले कम हो। गत आर्थिक वर्ष साउनदेखि वैशाखसम्म यस्तो कित्ताकाट संख्या ११ हजार पाँच सय ३० थियो। यसपालि यही समयमा भएको कित्ताकाट संख्या ४ हजार ९ सय ६९ मात्र छ।
जग्गा व्यवसायीहरू भने अहिले भइरहेको किनबेच पनि व्यावसायिक नभएको बताउँछन्।
यो नियमित कारोबार नभई व्यवहार मिलाउने उद्देश्यले किनबेच भइरहेको जग्गा व्यवसायी विनोद सुवेदीले बताए।
'अहिले साविकको जस्तो नियमित कारोबार भएको छैन। कतिपयले आफ्नो व्यवहार मिलाउन जग्गा दिएर व्यक्तिहरूसँग ऋण लिइरहेका छन्। कतिपय चाहिँ बैंकबाट ऋण लिएकाहरूको जग्गा बैंकले नै बिक्री गरिरहेका हुन्,' उनले भने।
जग्गा कारोबार बढ्न अझै केही समय लाग्ने उनको भनाइ छ।
बजारमा पैसाको प्रवाह बढेपछि मात्रै घरजग्गा बढ्ने उनको अनुमान छ।
'बैंकले कर्जा असुल गर्न सहज हुन्छ भन्ने लाग्यो भने मात्रै कर्जा दिइरहेको छ,' उनले भने, 'नभए दिएको छैन।'
काठमाडौंमा कहाँ कति भयो किनबेच?
काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन् कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु।
यी कार्यालयहरूलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ। ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन्।
यो वर्ष पहिलेका महिनामा झैं वैशाखमा पनि काठमाडौंमा भएको कारोबारमध्ये सबभन्दा बढी कलंकी मालपोत कार्यालयबाट छ।
कलंकी कार्यालयबाट यो आर्थिक वर्ष वैशाखमा ५ सय ८० संख्यामा घरजग्गा कारोबार भएको छ। यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन्।
दोस्रो ठूलो कारोबार गर्नेमा चाबहिल मालपोत कार्यालय हो। यस कार्यालयबाट चैतमा तीन सय ९४ संख्यामा कारोबार गरेको छ। आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र यसका कार्यक्षेत्र हुन्।
त्यस्तै, तेस्रोमा साँखु मालपोत कार्यालय छ। यस कार्यालयबाट ३ सय ८३ संख्यामा घरजग्गा कारोबार भएको छ। यसको कार्यक्षेत्र बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका हुन्।
मनमैजु कार्यालयबाट वैशाखमा दुई सय २९ संख्यामा कारोबार भएको छ। यो कार्यालयको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा हुन्।
डिल्लीबजार कार्यालयबाट एक सय ८१ संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयले काठमाडौं महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा हेर्छ।
टोखा कार्यालयबाट एक सय ५४ संख्यामा घरजग्गा किनबेच भएको छ। यसले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ र ७, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका वडा नम्बर १ हेर्छ।