अहिले घर तथा संरचना बनाउने उपयुक्त समय मानिँदैन। हरेक मनसुनमा निर्माण काम र सामग्रीको व्यापार सुस्त हुन्छ। तर धेरैले आगामी दिनमा घर बनाउने सोचेर रकम अनुमान गरिरहेका हुन्छन्।
घरका लागि अत्यावश्यक निर्माण सामग्रीको भाउ के-कस्तो छ भन्ने जिज्ञासा तपाईंहरूलाई पनि हुन सक्छ।
व्यवसायीहरूका अनुसार सिमेन्ट र गिटी–बालुवाको भाउ लामो समयदेखि स्थिर छ। इँटा र डन्डीको भाउ भने दुई महिनाअघिको तुलनामा थोरै तलमाथि भएको छ।
हेरौं कुन निर्माण सामग्रीको मूल्य कति पुग्यो।
इँटा
अहिले बजारमा इँटाको मूल्य गुणस्तर हेरेर गोटाको १३ देखि २२ रूपैयाँसम्म पर्ने नेपाल इँटा उत्पादक संघ महेन्द्र बहादुर चित्रकारले जानकारी दिए।
धादिङको लोकल इँटा प्रतिगोटा १३ देखि साढे १४ रूपैयाँसम्म पर्छ। त्यस्तै भक्तपुरे इँटा गोटाको १५ देखि १६ रूपैयाँ पर्छ। तराईको इँटा अलि महँगो छ। यो प्रतिगोटा २० देखि २१ रूपैयाँ पर्छ।
'पछिल्लो दुई-तीन महिनायता इँटाको भाउ एक/दुई रूपैयाँ घटेको छ,' उनले भने।
देशमा आर्थिक शिथिलता भएसँगै उपभोक्ताको किन्ने क्षमता कम भएको छ। यही कारण इँटाको भाउ अझै घट्ने संकेत देखिएको उनी बताउँछन्।
'घर बनाउनेको संख्या घट्दो छ। त्यसैले इँटाको मूल्य अझै घट्न सक्छ,' उनले भने।
गिटी–बालुवा
क्रसर व्यवसायी महासंघका महासचिव पुरूषोत्तम रेग्मीका अनुसार करिब साढे दुई वर्षदेखि गिटी–बालुवाको भाउ लगभग स्थिर छ।
अहिले उपभोक्ताले गिटी–बालुवा प्रतिटिपर २५ हजारदेखि ३० हजार रूपैयाँमा पाइरहेका छन्।
काठमाडौंका निर्माण क्षेत्रमा धादिङको माधवबेसी, बैरेनी, गजुरी, सिन्धुपाल्चोकको मेलम्ची खोला, भकुन्डेबेसी लगायत ठाउँबाट गिटी–बालुवा आउँछ। सिन्धुपाल्चोकको तुलनामा धादिङबाट आउने गिटी–बालुवा गुणस्तरीय मानिन्छ। त्यसैले तुलनात्मक रूपमा धादिङको गिटी–बालुवा महँगो छ भने मेलम्चीको तीन-चार हजार रूपैयाँ सस्तो पर्छ।
'धादिङको गिटी–बालुवा २९ देखि ३० हजार पर्छ,' उनले भने, 'मेलम्चीको २४ देखि २६ हजार छ।'
सिमेन्ट
सिमेन्टको भाउ पनि लामो समयदेखि स्थिर छ।
भाउ जान्नुअघि हामीकहाँ प्रयोग हुने सिमेन्टबारे थाहा पाउन जरूरी हुन्छ। हामीकहाँ निर्माणमा ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) गरी दुई प्रकारका सिमेन्ट प्रयोग गरिन्छ।
ओपिसी छिटो सुक्छ। जुन निर्माण छिटो सक्नुपर्ने हुन्छ वा छिटो फर्मा खोल्नुपर्ने हुन्छ, त्यहाँ यो सिमेन्ट प्रयोग गरिन्छ। ओपिसी स्ल्याब, पिलर, पुल ढलान आदि काममा प्रयोग हुन्छ।
ढलानका लागि ओपिसी मात्रै प्रयोग हुन्छ भन्ने चाहिँ होइन। लामो फर्मा नखोली राख्न सकिने ढलानमा पिपिसी प्रयोग गर्न सकिन्छ। पर्खाल वा गारोको मसला, प्लास्टर, भुइँ ढलान आदिमा पिपिसी धेरै प्रयोग हुन्छ।
हाल ओपिसी बोराको ६ सय ५० रूपैयाँ र पिपिसी ५ सय ७५ रूपैयाँमा कारोबार भइरहेको निर्माण सामग्री व्यवसायी दीपक श्रेष्ठले बताए।
'माग नभएकाले मूल्य स्थिर भएको हो,' उनले भने।
डन्डी
पछिल्ला दुई महिनायता डन्डीको भाउ केही घटेको छ। व्यवसायी श्रेष्ठका अनुसार डन्डीको मूल्य किलोमा १५ रूपैयाँसम्म घटेको छ।
अहिले ब्रान्डअनुसार डन्डी किलोको एक सयदेखि एक सय दुई रूपैयाँसम्म पर्ने उनले जानकारी दिए। यसअघि प्रतिकिलो एक सय १५ रूपैयाँसम्म पुगेको थियो।
एक तले घर बनाउन कति लाग्छ इँटा, गिटी-बालुवा, सिमेन्ट र डन्डीमा खर्च?
यहाँ हामीले काठमाडौंमा आठ सयदेखि एक हजार वर्गफुटमा (तीन/चार/पाँच आना जग्गामा) बनाउन सकिने चारकोठे घरमा यी निर्माण सामग्रीको लागत अनुमान विवरण तयार पारेका छौं।
विभिन्न निर्माण कम्पनीका इञ्जिनियर तथा प्राविधिकहरूसँगको कुराकानीपछि हामीले यो विवरण तयार पारेका हौं।
इँटा
प्राविधिकहरूका अनुसार घरको जग र पहिलो तलामा नौ इन्च गारो लगाउँदा राम्रो हुन्छ। जगमा बलियो पार्नुपर्ने र पहिलो तला तुलनात्मक रूपमा ओसिलो हुनाले मोटो गारो लगाउन सुझाव दिइन्छ।
गारोको उचाइ र मोटाइ हिसाब गरेर कुनै पनि घरमा लाग्ने इँटाको संख्या पत्ता लगाउन सकिन्छ। झ्याल र ढोकाको आकारले इँटाको लागत फरक पार्छ। प्रत्येक कोठामा स्ट्यान्डर्ड आकार (लम्बाइ छ फिट र चौडाइ चार फिट) को दुइटा झ्याल र एक वटा ढोका राखेर नौ इन्चको गारो लगाउँदा करिब २८ हजार वटा इँटा अनुमान गर्नुपर्छ।
अहिले इँटा १३ देखि २२ रूपैयाँ गोटासम्मका पाइन्छन्। यो हिसाबले एक तले घरमा तीन लाख ६४ हजारदेखि ६ लाख १६ हजार रूपैयाँ बराबरको इँटा किन्नुपर्छ।
गिटी–बालुवा
चार कोठे घरका लागि १५ टिपर गिटी–बालुवा चाहिन्छ। हालको मूल्यका हिसाबले गिटी–बालुवामा तीन लाख ७५ हजारदेखि चार लाख ५० हजार रूपैयाँसम्म छुट्ट्याउनुपर्छ।
फिनिसिङ, गारोको आकारले बालुवाको लागत निर्धारण हुन्छ। मूल्य तलमाथि भएको अवस्थामा लागतमा पनि कम बढी हुन्छ। त्यस्तै छत ढलान नगरी बनाइने एकतले घरमा भने गिटी–बालुवाको लागत एक तिहाइ कम हुन्छ।
सिमेन्ट
एक तले घरमा लाग्ने सिमेन्टको अनुमान गर्दा घरमा राखिने पिलर र बिमको आकारलाई ध्यान दिनुपर्छ। त्यस्तै गारोको आकारले पनि लागत निर्धारण गर्छ।
सामान्यतया आठ सयदेखि एक हजार वर्गफिटमा बन्ने घरका लागि बढीमा तीन सय बोरा ओपिसी अनुमान गर्नुपर्छ। पिपिसी पनि यति नै लाग्छ। दुवै मिलाएर करिब छ सय बोरा सिमेन्ट चाहिन्छ।
अहिलेको मूल्यका हिसाबले ओपिसीमा करिब दुई लाख रूपैयाँ खर्च हुन्छ। त्यस्तै पिपिसीमा करिब एक लाख ७३ हजार रूपैयाँ अनुमान गर्नुपर्छ।
यसरी दुवैथरी सिमेन्टमा करिब तीन लाख ७३ हजार रूपैयाँसम्म खर्च हुन्छ।
डन्डी
पिलर, भित्रको पर्खाल आदिले डन्डीको लागत निर्धारण गर्छ। प्राविधिकका अनुसार जग राख्दा जमिनबाट कम्तीमा पाँच फिट गहिरो हुनुपर्छ। जगबाट पिलर उठाउँदा प्रति पिलर १ सय २५ किलोभन्दा बढी डन्डी लाग्छ।
जगसँगै राखिने बिम, डिपिसी बिम, झ्यालको तल र माथि, पहिलो तलाको ढलान अड्ने बिम, भर्याङ र ढलानमा गरी करिब साढे ५ टन (पाँच हजार ५ सय किलो) डन्डी आवश्यक पर्छ।
हालको डन्डीको भाउअनुसार एकतले घरका लागि कम्तीमा साढे पाँच लाख रूपैयाँ लगानी गर्नुपर्छ।
यसरी हेर्दा चार कोठे घर बनाउन इँटा, सिमेन्ट, गिटी-बालुवा र डन्डीमा मात्र लगभग १७ लाखदेखि २१ लाख रूपैयाँ अनुमान गर्नुपर्ने देखिन्छ।
यो हिसाब काठमाडौंका व्यवसायीहरूले दिएको जानकारीअनुसार तयार पारिएको हो। घरको डिजाइन, आवश्यकता र ठाउँअनुसार खर्चको हिसाब फरक पर्छ।
यसबाहेक घर बनाउँदा खर्च हुने ठाउँ धेरै हुन्छन्। ठेकेदार ज्यालादेखि नक्सा र डिजाइन, झ्याल ढोका, पाइप जडान, ट्यांकी, बिजुली, रंगरोगन, भान्सा, बाथरूम लगायत पनि धेरै खर्च हुन्छ।