चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा देशभर ४३ हजार आठ सय ३५ संख्यामा घरजग्गा कारोबार भएको छ।
यो गत आर्थिक वर्ष सोही महिनाको तुलनामा ११.६४ प्रतिशतले बढी हो। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार गत वर्ष साउनमा देशभर ३९ हजार दुई सय ६३ संख्यामा कारोबार भएको थियो।
कारोबार संख्या बढेसँगै राजस्व पनि बढेको छ। सरकारलाई साउनमा घरजग्गा कारोबारबाट तीन अर्ब ८३ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ।
गत वर्ष साउनको तुलनामा यो वर्ष साउनमा ३१.७७ प्रतिशतले राजस्व वृद्धि भएको हो।
गत साउनमा दुई अर्ब ९१ करोड रूपैयाँ राजस्व प्राप्त भएको थियो।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।
सरकार परिवर्तन र मौद्रिक नीतिका कारण घरजग्गा कारोबारमा सामान्य सुधार देखिएको नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष भेषराज लोहनीले बताए।
'एकै महिनालाई आधार मानेर बढ्यो भन्न मिल्दैन। आगामी दिनमा के हुन्छ त्यो हेर्नुपर्छ,' उनले भने, 'सामान्य सुधार चाहिँ देखिएको हो।'
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा घरजग्गा व्यवसायीको लागि नयाँ व्यवस्था गरेको देखिँदैन।
माग गरिएअनुसार मौद्रिक नीतिमा सम्बोधन नभए पनि अन्य क्षेत्र चलायमान हुँदा घरजग्गा क्षेत्र पनि चलायमान हुनेमा व्यवसायीहरू आशावादी छन्।
सरकारले कर्जा आम्दानीको अनुपात र लोन टु भ्यालु रेसियो ८० प्रतिशत पुर्याए घरजग्गा कारोबार बढ्ने महासंघका अध्यक्ष लोहनीको भनाइ छ।
'धेरै समयदेखि ८० प्रतिशत पुर्याउन राष्ट्र बैंकलाई भनेका थियौं। मौद्रिक नीतिले पनि सम्बोधन गरेन, उनले भने, 'त्रैमासिक समीक्षाहरूमा सम्बोधन हुन्छ कि!'
नेपाल राष्ट्र बैंकले दुई करोड रूपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवास कर्जा अन्तर्गत राखेको छ।
यस्तो कर्जा लिँदा कर्जा र आम्दानीको अनुपात ६० प्रतिशत हुनुपर्ने व्यवस्था छ। अर्थात् आफ्नो मासिक आम्दानीको ६० प्रतिशत रकम बराबर मात्र किस्ता हुने गरी पैसा ऋण लिन सकिन्छ।
त्यस्तै, ५० लाख रूपैयाँसम्म कर्जा लिनेहरूको हकमा भने यस्तो अनुपात ७० प्रतिशतसम्म पुर्याइएको छ।
त्यस्तै, लोन टु भ्यालु रेसियो भनेको सम्पत्तिको मूल्यांकन गर्ने पद्धति हो। अहिले रियल स्टेटको हकमा ५० प्रतिशत र हाउजिङ कम्पनीको हकमा ६० प्रतिशत लोन टु भ्यालु रेसियो पुर्याइएको छ। अर्थात् तपाईंको सम्पत्ति एक करोड मूल्यको छ भने तपाईंले बैंकबाट ४० देखि ५० लाख रूपैयाँसम्म पाउनु हुनेछ।
व्यवसायीले भने यी दुवैलाई ८० प्रतिशत पुर्याउन माग राख्दै आएका छन्।
घरजग्गा व्यवसायीका अनुसार घरजग्गा व्यवसाय असारदेखि असोजसम्म अफ सिजन मानिन्छ। असोजदेखि जेठसम्मलाई भने घरजग्गा कारोबारको सिजन मानिन्छ।