सिमेन्टको भाउ निरन्तर बढेपछि व्यापारी र ग्राहक दुवै मर्कामा परेका छन्।
एकातिर भाउ बढ्ने, अर्कातिर भनेका बेला नपाइने भएपछि सिमेन्टको आपूर्ति शृंखला खलबलिएको व्यापारीहरूले बताएका छन्।
विगत १२ वर्षदेखि ललितपुरको इमाडोलमा आइपी इन्टरप्राइजेज हार्डवेयर पसल चलाउँदै आएका पुष्प आचार्यले सिमेन्ट व्यापारमा अहिलेजस्तो समस्या कहिल्यै नभोगेको बताए।
'सिमेन्ट उद्योगहरूले उत्पादन कम गरेर भाउ बढाइरहेका छन्। उत्पादन कम हुँदा व्यापारीले माग अनुसार पाउन सकेका छैनन्,' उनले भने, 'उद्योगले भाउ बढाएको बढायै गर्छन्, ग्राहक हामीसँग रिसाउँछन्। व्यापार गरेर खानै नसकिने भइयो।'
पछिल्लो समय उनले हरेकपटक सिमेन्ट माग गर्दा मूल्य बढेर आएको छ। बारम्बार यस्तो हुँदा ग्राहकलाई् मूल्य भन्न समेत असहज भएको उनले बताए।
'ग्राहकलाई हामीले भाउ बढाएर बेचिरहेका छौं भन्ने लाग्छ नि,' पुष्पले भने, 'यस्तो भएपछि ग्राहकको विश्वास कायम राख्न मुस्किल हुन्छ।'
अर्का निर्माण सामग्री व्यापारी विजय कर्माचार्यको गुनासो पनि उस्तै छ। उनी कमल विनायकमा जय याक्टी अजिमा हार्डवयेर पसल चलाउँछन्।
'पैसा भएर पनि सिमेन्ट पाउन सकिएको छैन। उद्योगीले कोटा लगाएका छन्। कोटा अनुसार पालो कहिले आउँछ, थाहै हुँदैन,' उनले भने।
अहिले सिजनका बेला सिमेन्ट नभएर ग्राहकलाई रित्तै पठाउन परेको उनको भनाइ छ। माग अनुसार सिमेन्ट नपाउनु र भाउ पनि बढिरहँदा व्यापारमा असहज भइरहेको उनले बताए।
'ग्राहक सिमेन्ट लिन आउँछन्, हुँदैन। अनि त्यो दिनको भाउमा अग्रिम बुकिङ गर्छन्। पछि सिमेन्ट भाउ बढेर आउँछ। त्यो बीचको घाटा कसले बेहोर्ने,' उनले भने, 'बढेको मूल्यमा नलिए उद्योगहरू सिमेन्ट नै पठाउँदैनौं भन्छन्।'
पछिल्लो केही समययता सिमेन्टको भाउ निरन्तर बढिरहेको छ। यही बेला उद्योगहरूले बजारमा समयमा सिमेन्ट पठाइरहेका छैनन्।
व्यापारीहरूका अनुसार पहिले सिमेन्ट माग गरेकै दिन आइपुग्थ्यो। अहिले एक सातादेखि दस दिनसम्म लाग्छ। यो अवधिमा तय भएको खरिद मूल्य पनि बढिसक्ने भएकाले समस्या सिर्जना भएको छ।
नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौंका सल्लाहकार अनसन साखःले सिमेन्ट उद्योगीको यो व्यवहार सरकारले नजरअन्दाज गरेको बताए।
उनका अनुसार अरू निर्माण सामग्री इँटा, गिटी, बालुवा लगायतको मूल्य यथावत छ। डन्डीको भाउ अन्तर्राष्ट्रिय मूल्य अनुसार घटबढ हुन्छ, अहिले थोरै बढेको छ। सिमेन्टको भने बिनाकारण भाउ बढाएर उद्योगहरूले अभाव सिर्जना गरेको उनको भनाइ छ।
'सिमेन्टमा हामी आत्मनिर्भर छौं। ९५ प्रतिशत कच्चा पदार्थ यहीँ पाइन्छ। बढ्नुपर्ने कारण के छ?' साखःले प्रश्न गरे, 'सिजनमा महिनामा प्रतिबोरा २०/२५ रूपैयाँ बढ्नु स्वाभाविक हो। अहिले त सातामै बढाइरहेका छन्।'
सिमेन्टको मूल्य वृद्धिबारे वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा गुनासो समेत आएकाले उत्पादकहरूसँग स्पष्टीकरण माग गरिएको विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए।
'हामीले हिजो (आइतबार) सिमेन्ट उत्पादकलाई मूल्य वृद्धिबारे छलफल गर्न बोलाएका थियौं,' उनले भने, 'के कति कारणले मूल्य वृद्धि भएको हो, त्यसबारे सात दिनभित्र स्पष्टीकरण दिन माग गरिएको छ। कारण पुष्टि गर्न नसके कानुन बमोजिम कारबाही हुनेछ।'
उद्योगीहरूले अहिले पर्याप्त बिजुली उपलब्ध नभएकाले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेको पनि बताइरहेका छन्। त्यसबारे पनि अध्ययन भइरहेको महानिर्देशक पौडेलले बताए।
हामीले यसबारे सिमेन्ट उत्पादक संघका निवर्तमान अध्यक्ष ध्रुव थापालाई पनि सोध्यौं। उनले अहिले भाउ बढाउँदा समेत प्रतिबोरा ४० देखि ५० रूपैयाँ घाटा भएको दाबी गरे।
कुनै बेला सिमेन्ट प्रतिबोरा एक हजार रूपैयाँसम्म थियो। माग नबढ्दा क्रमशः घटेर पाँच सय रूपैयाँसम्म आयो। दसैंअघिसम्म काठमाडौंमा पाँच सयदेखि ६ सय २५ रूपैयाँसम्म (पिपिसी र ओपिसी) पाइन्थ्यो। सिजन सुरू भएसँगै उद्योगहरूले निरन्तर मूल्य बढाएका छन्। गत शुक्रबारबाट सिमेन्ट बोराको ६ सय ५० देखि सात सय ८० रूपैयाँसम्म पर्न थालेको छ।