भारतले बिहीबार कनिकाको निर्यातमा पूर्ण प्रतिबन्ध लगाउनुका साथै बासमती र उसिनेकाबाहेकका चामलमा २० प्रतिशत कर लगाएको छ।
भारतले विश्वका एक सय ५० भन्दा बढी देशमा चामल निर्यात गर्छ। विश्वभर हुने चामलको व्यापारमा भारतको हिस्सा ४० प्रतिशत छ।
यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिन्छ। हामीले उपभोग गर्ने ४० देखि ५० प्रतिशत चामल भारतबाट भित्रिन्छ।
गत आर्थिक वर्ष २०७८/७९ मा भारतबाट मात्रै २५ अर्ब ३२ करोड मूल्य बराबरको ५० करोड किलो चामल आयात भएको छ।
भारतीय सरकारले चामल निर्यातमा २० प्रतिशत कर लगाउँदा यहाँ चामलको मूल्य बढ्ने नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुवोध कुमार गुप्ताले बताए।
'भारतले २० प्रतिशत कर लगाउँदा यहाँ पनि २० प्रतिशतले नै मूल्य बढ्छ,' उनले भने।
उनका अनुसार भारतीय सरकारले धान र चामल दुवै निर्यातमा २०/२० प्रतिशत कर लगाएको छ। यसले गर्दा यहाँका व्यवसायीले आयात गर्न सक्दैनन् यसले ग्रे मार्केट (अनौपचारिक बजार) लाई प्रोत्साहित गर्नेछ।
'धानमा १० प्रतिशत मात्रै कर लाग्नु पर्ने। बराबर कर लगाउँदा धान आउनै बन्द हुन्छ,' उनले भने, 'धेरैजसो चामल पनि ग्रे मार्केटबाट आउँछ।'
धान आयात गर्न नसकेपछि यहाँका अधिकांश चामल मिल बन्द हुनेछन्। उनका अनुसार यहाँ दुई हजार पाँच सयका हाराहारीमा चामल मिल छन्। ती उद्योगमा लगानी खर्बौको छ। उनले भने, 'एउटै उद्योगमा एक/दुई अर्ब लगानी हुन्छ। ती सबै लगानी डुब्ने भयो।'
यहाँका चामल मिल बन्द हुँदा बोइलर कुखरापालनमा पनि कमी आउने उनले बताए। उनका अनुसार चामलबाट निस्किएको भुस बोइलर कुखराको लागि प्रयोग हुन्छ।
भारतीय सरकारले कनिकामा पूर्ण प्रतबन्ध लगाउँदा यहाँका वियर उद्योग पनि धरासायी बन्नेछ।
नेपाल सरकारले भारत सरकारसँग तत्काल यो विषयमा कुरा नगर्ने हो भने दशैंको मुखमा महँगी बढ्ने उनी बताउँछन्।
'सरकारीस्तरबाट तुरून्तै भारत सरकारसँग कुरा गर्नुपर्छ। ढिलाइ गर्यो भने यसको असर दीर्घकालीन हुन्छ,' उनले भने, 'भोकमरी पनि आउन सक्छ।'
चीनले वस्तुभाउको आहाराको रूपमा र अफ्रिका जस्ता मुलुकले खानाका रूपमा कनिका प्रयोग गर्दै आइरहेको छ।
चिनी र गहुँ पछि भारतले चामलमा कर लगाएको हो।
यसले चामल उत्पादनमा राम्रो रहेको थाइल्याण्ड र भियतनामतर्फ माग बढ्ने अनुमान गरिएको छ।
भारतले २२ मेट्रिक टन चामल निर्यात गर्छ। यसले चालमको भाउ बढ्ने विश्लेषण गरिएको छ।
सेतो चामलको भाउ प्रति मेट्रिक टन चार सय डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ। हाल यसलाई तीन सय ५० डलर परिरहेको छ।
करको कारण भारतको निर्यातमा २५ प्रतिशतले गिरावट आउने विदेशी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
त्यहाँका व्यपारीहरूले हाल सम्झौता भइसकेर निर्यातको प्रक्रियामा रहेको चामलमा भने यस्तो कर नलगाउन सरकारलाई आग्रह गरेको छ।
नेपालमा भारतबाहेक चीन, थाइल्याण्ड, अमेरिकालगायत अन्य आठवटा मुलुकबाट पनि चामल आयत हुन्छ।
यी देशबाट गत आर्थिक वर्ष २०७८/७९ मा १८ करोड मूल्य बराबरको २३ लाख किलो चामल आयात भएको थियो।
भारतबाट जस्तो व्यवसायिक रूपमा अन्य देशबाट चामल आयात गर्न सहज नहुने चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष गुप्ता बताउँछन्।
ढुवानी खर्च धेरै लाग्ने भएकाले तत्काल चामल आयातका लागि भारतबाहेक अन्य विकल्प नभएको उनको भनाइ छ।
'अन्य देशबाट ल्याउन ढुवानी भाडा धेरै महँगो पर्छ,' उनले भने।