पछिल्लो समय विभिन्न मुलुकमा डिजिटल मुद्राको चलन बढ्दै गएको छ। यस्तोमा के राष्ट्र बैंकले नेपालमा पनि डिजिटल मुद्रा जारी गर्ला?
अहिलेसम्म नोट र सिक्का मात्र जारी गर्दै आएको राष्ट्र बैंकले भविष्यमा डिजिटल मुद्रा जारी गर्न त्यसको आर्थिक लागत र उपयोगिताबारे सम्भाव्यता अध्ययन गर्नुपर्ने जनाएको छ।
राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको अवधारणापत्रमा यस्तो अध्ययनको आवश्यकता औंल्याएको हो।
'हाल राष्ट्र बैंकमा रहेको जनशक्ति, उनीहरूको दक्षता र बजेटजस्ता उपलब्ध प्राविधिक स्रोत र यसको पर्याप्तताको समेत अध्ययन हुनुपर्नेछ,' राष्ट्र बैंकको अवधारणापत्रमा भनिएको छ।
राष्ट्र बैंक ऐनअनुसार नोट र सिक्का मात्र छापेर चलनचल्तीमा ल्याउने व्यवस्था छ। डिजिटल मुद्रा जारी गर्ने भए सबभन्दा पहिला राष्ट्र बैंक ऐनमै संशोधन हुनुपर्ने छ। यसबाहेक अन्य विभिन्न ऐन, नियम पनि संशोधन हुनुपर्नेछ।
डिजिटल मुद्रा जारी गर्दा विद्युत र इन्टरनेट आपूर्ति नियमित हुनुपर्ने भएकाले राष्ट्र बैंकले विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायतसँग सहकार्य गर्नुपर्ने देखिन्छ।
कागजी नोट छाप्न वार्षिक औसत एक अर्ब ३३ करोड रूपैयाँ लाग्छ। करिब ६ खर्ब ३२ अर्ब रूपैयाँ बराबर नोट बजारमा प्रवाह भइरहेको छ। डिजिटल मुद्रा जारी भए लागत घट्ने र हालको तुलनामा वित्तीय पहुँच वृद्धि हुने मानिएको छ।
केन्द्रीय बैंकहरूले जारी गर्ने डिजिटल मुद्रा पनि क्रिप्टोकरेन्सीहरू जस्तै 'ब्लक चेन प्रविधि' मा आधारित हुन्छ। यस्तो मुद्रा निश्चित दरसम्म मात्र जारी गर्न सकिन्छ।
अन्य क्रिप्टोकरेन्सीको तुलनामा यसको फरक भनेको यो केन्द्रीकृत हुन्छ। अन्य नोट वा सिक्काजस्तै डिजिटल मुद्रा पनि राष्ट्र बैंकको नियमनमा चल्छ। जबकि, क्रिप्टोकरेन्सीको प्रवाहमा केन्द्रीय बैंकको नियमन हुँदैन। त्यसैले यो मुलुकको औपचारिक अर्थतन्त्रभन्दा बाहिर हुन्छ।
डिजिटल मुद्रा जारी भएको खण्डमा अन्य नोट वा सिक्काजस्तै यसको पनि सम्पूर्ण रेकर्ड केन्द्रीय बैंकहरूमा रहन्छ। क्रिप्टोकरेन्सीका हकमा भने यस्तो रेकर्ड कुनै निश्चित व्यक्ति वा संस्थासँग मात्र हुँदैन।
'क्रिप्टोकरेन्सीको रेकर्ड भनेको यस्तो मुद्रा प्रयोग गर्ने हजारौं व्यक्तिहरूको कम्प्युटरमा रहन्छ। तर त्यो रेकर्डमा मान्छेको परिचय नखुल्ने गरी कोडिङ गरिएको हुन्छ,' सिभिल बैंकका प्रमुख कार्यकारी सुनिलकुमार पोखरेलले भने, 'राष्ट्र बैंकले जारी गर्ने डिजिटल मुद्रामा भने त्यसको रेकर्ड केन्द्रीय बैंकसँग हुन्छ र उसले नियुक्त गरेका बैंक वा भुक्तानी सेवाप्रदायकहरूसँग पनि रहन्छ।'
क्रिप्टोकरेन्सीमा बैंकजस्ता एजेन्टहरू सहभागी हुँदैनन्। केन्द्रीय बैंकले जारी गर्ने डिजिटल मुद्रामा भने रेकर्ड राख्न बैंककै प्रयोग हुनसक्छ। विभिन्न मुलुकको उदाहरण हेर्ने हो भने कतै यस्तो प्रयोजनका लागि बैंकलाई नै राखिएको छ भने कतै भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवाप्रदायकहरू राखिएका छन्।
अहिलेसम्म १० वटा मुलुकले डिजिटल मुद्रा प्रयोगमा ल्याइसकेका छन्। विश्व अर्थतन्त्रको ९५ प्रतिशत हिस्सा ओगट्ने १०५ मुलुक यसलाई अभ्यासमा ल्याउन प्रयासरत छन्।
चीनले केन्द्रित र विकेन्द्रित दुवै किसिमका डिजिटल मुद्रा प्रयोगमा ल्याइसकेको छ। तर चीनका केही प्रान्तमा मात्र डिजिटल मुद्रा प्रयोग भइरहेको छ।
डलरका माध्यमबाट विश्व अर्थतन्त्रमा वर्चश्व कायम गरिरहेको अमेरिका भने हालसम्म डिजिटल मुद्रामा गएको छैन।
पछिल्लो समय दक्षिण एसियाली मुलुकहरूबीच डिजिटल मुद्रा जारी गर्न सहकार्य हुनुपर्नेमा धेरैले जोड दिँदै आएका छन्।