धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरूङमार्ग तोकिएको अवधिमा नसकिने भएको छ। निर्माण अवधि करिब एक वर्ष बाँकी हुँदा हालसम्म आयोजनाको भौतिक निर्माण काम ४४ प्रतिशत मात्रै सकिएको छ।
अब बाँकी ५६ प्रतिशत काम तोकिएको अवधिमा सकिने अवस्था देखिँदैन।
आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो।
कोभिड महामारीका कारण पनि आयोजना निर्माण काम पछाडि धकेलिएको छ। कोभिडपछि हाज्मा आन्दो जेभीले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो। आयोजना कार्यालयले ८६ दिन म्याद थप गरेको छ। म्याद थपपछि आयोजना थपिएको समयअनुसार जुलाई, २०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्नेछ।
आयोजनाका सहायक प्रमुख माधव अधिकारी पनि तोकिएको अवधिमा काम सकिन मुस्किल हुने बताउँछन्।
'कोभिड लगायत विविध कारणले निर्माणमा ढिलाइ भयो। म्याद त थप्नैपर्छ। तर कति समय थप्ने भन्ने निर्णय भइसकेको छैन,' उनले भने।
सुरूङ निर्माण मात्रै भने आगामी असारसम्म सक्ने तयारी आयोजनाको छ।
'केही समस्या आएन भने हामी असारसम्म सक्छौं। बीचमा समस्या आयो भने त पछाडि धकेलिन पनि सक्छ,' उनले भने।
सुरूङ निर्माणमा पनि भौगर्भिक समस्या देखिएका कारण सोचेअनुसार काम हुन नसकेको उनको भनाइ छ।
निर्माणका क्रममा सुरूङभित्र डिफर्मेसन (पहिरो जाने) समस्या भएका कारण पनि ढिलाइ भएको उनले बताए। धादिङतर्फ स्थानीयको अवरोधका कारण पनि आयोजना निर्माणमा समस्या भइरहेको अधिकारीको भनाइ छ।
करिब दुई रोपनी जग्गाको क्षतिपूर्ति दिए पुग्ने ठाउँमा २२ रोपनीभन्दा बढी जग्गाको क्षतिपूर्ति माग गर्दै स्थानीयले त्यहाँ निर्माण काम गर्न नदिएको उनको भनाइ छ। सुरूङ निर्माणका क्रममा धादिङतर्फ भिरालो जमिनमा पहिरो गएको छ। त्यहाँको पहिरो रोकथामको काम गरेर आयोजनाले जमिनलाई खेतीयोग्य बनाइदिने तयारी गरेको अधिकारीले बताए। तर स्थानीयले सबै जग्गा सरकारले नै अधिग्रहण गरेर आफूहरूलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिरहेको उनको भनाइ छ।
'सुरूङको मुख नजिकैको जमिन खेतीयोग्य पनि होइन। एकदमै भिरालो मान्छे हिँड्न नसकिने भीर थियो। निर्माणका क्रममा पहिरो गयो। अहिले तलबाट पर्खाल लगाएर पहिरो रोकथाम गरेर खेतीयोग्य बनाइदिने भनिरहेका छौं। तर उहाँहरू पैसा नै चाहिने ढिपी कसिरहनुभएको छ,' उनले सेतोपाटीसँग भने।
अधिकारीका अनुसार पहिरो आसपास २२ रोपनीभन्दा धेरै जग्गा छ। पर्खाल लगाउँदा पर्खालले ओट्ने तथा अधिग्रहण गर्न आवश्यक पर्ने करिब दुई रोपनी जग्गाबाहेक सबै खेतीयोग्य बनाउन सकिन्छ। सोहीअनुसार काम गर्ने आयोजनाको योजना छ। योजनाअनुसार काम गर्न स्थानीयले नमानेका उनको भनाइ छ।
आयोजनाको मुख्य सुरूङ दुई हजार ६ सय ८८ मिटर लामो छ। हाल यस सुरूङको पूर्व (काठमाडौं) तर्फ ७८३.४० मिटर र पश्चिम (नागढुंगा) तर्फ बाट ८१०.४० मिटर गरेर जम्मा १५९३.८० मिटर खनिसकिएको छ। सुरूङको मात्र भौतिक प्रगति ६५.३० प्रतिशत भएको आयोजनाको भनाइ छ।
त्यस्तै 'इभ्याकुएसन' सुरूङको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर छ। यसको एक हजार सात सय ९९.४० मिटर सुरूङ खनिएको छ। त्यसमा पूर्वबाट नौ सय ६६.९० मिटर र पश्चिमबाट आठ सय ३२.५० मिटर सुरूङ खनिएको छ।
तीन वटा अन्डरपास निर्माण गर्नुपर्नेमा दुइटा पूरा भइसकेको आयोजनाले बताएको छ। त्यस्तै बक्स कलभर्ट चार वटै निर्माण सकिएको छ। एउटा ओभरपास पनि निर्माण भइसकेको छ। तीन वटै पुल निर्माण सकिएका छन्। फ्लाइओभर एउटा निर्माण गर्नुपर्नेमा यसको ८५ प्रतिशत काम सकिएको उल्लेख छ।
क्रस–प्यासेजको भने ७४.२० मिटर निर्माण भएको छ। त्यसको कुल लम्बाइ एक सय २८ मिटर छ।
नेपालको पहिलो आधुनिक सुरूङमार्गको रूपमा लिइएको नागढुंगा सुरूङमार्ग जापान सहयोग नियोग (जाइका) को सहयोगमा २०६९ देखि २०७२ सालसम्म सर्वेक्षण गरिएको थियो।
आयोजनाको ठेक्का र मुआब्जा गरेर कुल लागत करिब २२ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ। यसअघि २० अर्ब ६० करोड रूपैयाँमा अयोजना पूरा गर्ने उल्लेख थियो। जापानी येन बलियो हुँदै जाँदा लागत पनि बढेको हो।
कुल लागतमध्ये १६ अर्बभन्दा बढी जाइकाले सहुलियत ऋण उपलब्ध गराउनेछ। बाँकी ६ अर्बभन्दा बढी रकम नेपाल सरकारको हुनेछ। सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च हुने उल्लेख छ। जाइकाले उलब्ध गराएको रकम भने ठेक्कामार्फत आयोजना निर्माणमा खर्च भइरहेको छ।
सुरूङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको जाम हट्ने विश्वास लिइएको छ। यसले समयको बचत हुनुका साथै पेट्रोलियम पदार्थ खपतमा कमी आउने र वायु प्रदूषण कम हुने पनि विश्वास छ।
अहिले धादिङ हुँदै काठमाडौं प्रवेश गर्नेहरूले नौबिसेदेखि नै घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ। दैनिक तीनदेखि चार घन्टासम्मको जाम हुने यो स्थानमा सुरूङमार्ग सञ्चालन आएपछि नौबिसेबाट काठमाडौं २० देखि २५ मिनेटसम्ममा आइपुग्ने दाबी सरकारी अधिकारीहरूको छ।
१२ मिटर चौडाइको सुरूङमार्गको दायाँबायाँ पैदलयात्रीका लागि पेटी रहन्छ। पेटी दुवैतर्फ एक/एक मिटर उल्लेख गरिएको छ। आकस्मिक अवस्थाका लागि छुट्टै एक लेनको सहायक सुरूङ रहन्छ। सुरूङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ।
यो सुरूङमार्ग नेपाल आयल निगम थानकोट डिपो नजिकै निस्किन्छ र पुनः त्रिभुवन राजपथमा जोडिन्छ। त्यहाँबाट त्रिभुवन राजपथमा जोड्न २.२५ किलोमिटर लामो तीन लेनको एक्सेस रोड रहन्छ।