चैत महिनामा चालु आर्थिक वर्षकै सबभन्दा धेरै रेमिटेन्स भित्रिएको छ। चैतमा मात्र एक खर्ब नौ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो।
साउनदेखि चैतसम्ममा भने कुल नौ खर्ब तीन अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। यो अवधिमा ६ लाख ५ हजार नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएका छन्। गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो ३१ प्रतिशतले धेरै हो।
वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएसँगै रेमिटेन्स पठाउने दरमा पनि वृद्धि भइरहेको हो।
गत आर्थिक वर्ष २०७८/७९ मा रेमिटेन्स भित्रिने दर घट्दा र आयात बढ्दा मुलुकको विदेशी मुद्रा सञ्चितिमा समेत ह्रास आएको थियो। औसत ६ महिनाको वस्तु तथा सेवा आयात मात्र धानिने अवस्था थियो।
तर २०७८ चैतदेखि २०७९ पुससम्म विभिन्न वस्तुको आयातमा लगाइएको प्रतिबन्ध, आयातको क्रममा राख्नुपर्ने अनिवार्य नगद मौज्दात लगायत व्यवस्थाले विदेशी मुद्रा सञ्चितिमा सुधार आएको छ। विदेशी मुद्राको सञ्चिति १४ खर्ब ३३ अर्ब रूपैयाँ पुगेको छ। यस्तो सञ्चितिले ९ महिना १२ दिनको आयात धान्न सक्छ।
पछिल्लो समय रेमिटेन्ससँगै अन्य विदेशी मुद्रा आम्दानीका स्रोतहरूमा पनि सुधार भइरहेको छ। नेपालले यो साउनदेखि चैतसम्म, नौ महिनामा १३ अर्ब १९ करोड रूपैयाँको बिजुली बिक्री गरेको छ।
यो अवधिमा नेपाल भित्रिने पर्यटकबाट हुने आम्दानीमा ९४ प्रतिशतले वृद्धि भएको छ। यस्तो आम्दानी ४४ अर्ब १६ करोड रूपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संख्या लगायतले यो नौ महिनामा अवधिमा ३७ अर्ब १९ करोड रूपैयाँ ऋण ल्याएका छन्। यसमा अघिल्लो वर्षको यही अवधिको तुलनामा ११० प्रतिशतले वृद्धि देखिएको छ।
तर सरकारले पाउने अनुदान र मुलुक भित्रिने प्रत्यक्ष वैदेशिक लगानीमा सुधार देखिएको छैन। सरकारले यो अवधिमा पाँच अर्ब ८८ लाख रूपैयाँ अनुदान प्राप्त गरेको छ। त्यस्तै प्रत्यक्ष वैदेशिक लगानी ८४ प्रतिशतले घटेर दुई अर्ब ६२ करोड रूपैयाँ मात्रै भित्रिएको छ। सरकारले लिने वैदेशिक ऋण पनि अघिल्लो वर्षको यही अवधिको तुलनामा २.६ प्रतिशतले घटेर ५४ अर्ब तीन करोड रूपैयाँमा सीमित भएको छ।
आयातमा भने गत वर्ष यही अवधिको तुलनामा १८.१ प्रतिशतले कमी आएर १२ खर्ब एक अर्बमा सीमित भएको छ। यो नौ महिनामा मासिक सरदर एक खर्ब ३३ अर्ब हाराहारीकव आयात भइरहेको छ। मासिक रूपमा अधिकतम एक खर्ब ४३ अर्ब र न्यूनतम एक खर्ब २६ अर्ब बराबरको आयात छ।
स्थिर पुँजी निर्माणका वस्तुहरूको आयात अहिले पनि निकै कम छ। गत वर्षसम्म कुल आयातमा यस्तो वस्तुको हिस्सा १० प्रतिशत थियो। हाल घटेर ८.३ प्रतिशत छ।
मूल्य अभिवृद्धि गर्न सक्ने वस्तुको हिस्सा ५३.२ प्रतिशत हाराहारीमै छ। उपभोक्ताले सोझै उपभोग गर्न सक्ने वस्तुको आयात हिस्सा ३६.३ प्रतिशतबाट बढेर ३८.३ प्रतिशत पुगेको छ। यसले न त यहाँ मूल्य अभिवृद्धि गराउँछ न त पुँजी निर्माण नै। यो हिस्सा बढ्दै जानु चिन्ताको विषय हो।
त्यस्तै विदेशी मुद्रा आर्जनको स्रोत निर्यात पनि २६ प्रतिशतले घटेर एक खर्ब १८ अर्ब रूपैयाँमा सीमित भएको छ।
नेपालबाट विदेशमा अध्ययनका लागि जानेले समेत यो नौ महिना अवधिमा ६७ अर्ब रूपैयाँ बाहिर लगेका छन्। यो रकममा ५२ प्रतिशतको वृद्धि छ।
विदेश भ्रमणमा जाने क्रममा मुलुकबाट ९१ अर्ब रूपैयाँ बाहिरिएको छ।
मुलुकको खर्चको तुलनामा आम्दानीमा सुधार भइरहेकाले शोधानान्तर समेत एक खर्ब ८० अर्ब रूपैयाँले बचतमा छ।