अब युट्युब, फेसबुक लगायत सामाजिक सञ्जालमा श्रव्य-दृश्य सामग्री प्रसारण गरेवापत् आम्दानी गर्ने व्यक्तिले पाँच प्रतिशत कर तिर्नुपर्ने भएको छ। यसअघि यस्तो आम्दानीमा एक प्रतिशत मात्र कर लाग्ने व्यवस्था थियो।
आन्तरिक राजस्व विभागका प्रवक्ता राजु प्याकुरेलका अनुसार यो कर श्रव्य-दृश्य सामग्री अपलोड गर्ने तर व्यवसाय सञ्चालनमा संलग्न नरहेका व्यक्तिहरूको आम्दानीमा मात्र लाग्छ।
श्रव्य-दृश्य सामग्री प्रसारण गर्ने संस्थाहरूले आयकर तिरेका हुन्छन्। त्यसैले यस्तो कर त्यसैमा समायोजन हुने प्रवक्ता प्याकुरेलले बताए।
'नियमित कमाउने व्यक्तिहरू पनि आयकरको दायरामा त आउँछन्। तर जो यसरी श्रव्य-दृश्य सामग्री राखेर आम्दानी गरिरहेका छन् र आयकरको दायरामा आएका छैनन्, यस्तो कर उनीहरूको आयमा लाग्ने हो।'
यस्तो आयमा पहिले पनि कर लाग्दै आएको थियो। त्यही कर एक प्रतिशतबाट बढेर अहिले पाँच प्रतिशत भएको हो।
यस्तो कर कसरी तिरिन्छ?
युट्युब, फेसबुक लगायत सामाजिक सञ्जालमा श्रव्य-दृश्य सामग्री प्रसारण गरेर हुने आम्दानीको कर आफैं कट्टा हुन्छ। आम्दानी गर्ने व्यक्तिले कहीँ गएर बुझाउन पर्दैन।
सामाजिक सञ्जालहरू विदेशी कम्पनी भएकाले यस्तो आम्दानी विदेशबाटै सम्बन्धित व्यक्तिको यहाँ रहेको बैंक खातामा जम्मा हुन्छ। पैसा जम्मा हुने बेलामै बैंकका कर्मचारीहरूले तोकिएको कर काटेर बाँकी रकम आम्दानीकर्ताको खातामा राखिदिन्छन्।
त्यस्तै कर तिरेको विवरण आम्दानीकर्ताको स्थायी लेखा (पान कार्ड) मा अभिलेख पनि हुन्छ।
जति कमाए पनि पाँच प्रतिशत नै कर लाग्ने हो?
यस्तो आम्दानीमा काटिने अन्तिम कर पाँच प्रतिशत होइन। यो अग्रिम कर मात्र हो।
वार्षिक रूपमा यदि यस्तो आम्दानी आयकरको सीमाले तोकेभन्दा बढी हुन्छ भने सबैलाई लागू हुने आयकरकै नियमअुनसार कर लाग्छ।
यसलाई यसरी बुझौं।
अहिले कुनै एक व्यक्तिले जागिर गरेर वार्षिक पाँच लाख रूपैयाँसम्म कमाउँछ भने उसको आम्दानीबाट एक प्रतिशत कर अग्रिम रूपमा काटिन्छ। तर उसको कमाइ पाँच लाखभन्दा बढी छ भने, पाँच लाखसम्मको एक प्रतिशत र बाँकी जति रकम बढी छ, त्यसमा दस प्रतिशत कर लाग्छ। यो दस प्रतिशत सात लाखसम्मको कमाइमा हो। योभन्दा बढीका लागि फेरि रकमअनुसार कर तोकिएको छ।
सामाजिक सञ्जालबाट गरिएको कमाइमा पनि यस्तै नियम लागू हुने हो। फरक यत्ति हो, सामाजिक सञ्जालको कमाइमा अग्रिम कर नै पाँच प्रतिशत लाग्ने भएको छ।
वार्षिक रूपमा कुनै व्यक्तिले सामाजिक सञ्जालबाटै पाँच लाखभन्दा बढी कमाउँछ भने माथिको व्यक्तिगत आयकरकै नियम लाग्छ। आयकरको सीमा नाघेपछि जागिरे होस् वा अन्य व्यक्ति, सबैलाई एकै दरमा कर लाग्छ।
त्यसैले अब सामाजिक सञ्जालबाट वार्षिक पाँच लाख रूपैयाँसम्म कमाउनेलाई अग्रिम कर पाँच प्रतिशत लाग्छ र योभन्दा धेरै कमाउनेले आयकरकै दरअनुसार तिर्नुपर्छ।
उसो त अहिलेसम्म व्यक्तिगत रूपमा सामाजिक सञ्जालबाट कमाइ गर्ने सबै व्यक्ति आयकरको दायरामा आएका छैनन्। राज्यबाट पनि यसको खोजीनिति भएको छैन। तर कसैले आयकर लाग्ने सीमाअनुसार आम्दानी गरिरहेको र कर नतिरेको उजुरी आएमा कारबाही हुने विभागले बताएको छ।
सरकारको निर्णयबाट निराश आम्दानीकर्ता
युट्युब, फेसबुक लगायत सामाजिक सञ्जालमा श्रव्य-दृश्य सामग्री राखेर कमाइ गरिरहेकाहरू सरकारको यो निर्णयबाट निराश भएका छन्। विदेशबाट आउने यस्तो आम्दानी यहाँ आफ्नो खातामा जम्मा हुँदा नै कर काटिएरै आउने भएकाले आफूहरू दोहोरो मारमा पर्ने उनीहरूको भनाइ छ।
'अहिले नै हाम्रो आम्दानीमा विदेशी मुलुकको नियमअनुसार २४ देखि ३० प्रतिशतसम्म कर काटेर आइरहेको हुन्छ,' युट्युब च्यानल समेत चलाइरहेका पत्रकार जीवन पराजुलीले भने, 'अब सरकारले यहाँ पनि कर बढाएपछि दोहोरो मारमा पर्छौं हामी। बरू काम बन्द गरेर बसे हुने देखियो।'
पराजुलीका अनुसार अमेरिकामा अहिले खपत हुने सामग्री (हेरिने-सुनिने श्रव्य-दृश्य) को आधारमा आम्दानीमा ३० प्रतिशतसम्म कर काटिन्छ।
यस्ता सामग्री अपलोड गरेर कमाइ गर्नेले त्यहाँको एक विशेष किसिमको फारम भरेको हुनुपर्छ। यो फारम भरेको छैन भने त्यही सामग्रीले अन्य मुलुकबाट गरेको आम्दानीमा थप २४ प्रतिशत कर काटिन्छ। फारम भरेकाहरूको भने अरू मुलुकबाट हुने आम्दानीमा कुनै शुल्क वा कर काटिँदैन।
सामाजिक सञ्जालमा श्रव्य-दृश्य सामग्रीको कमाइ कति हुन्छ भन्ने यकिन हुँदैन। यस्तो आम्दानी ती सामग्रीमा आउने विज्ञापन, त्यसमा प्रयोग भएको भाषा, त्यो हेर्ने दर्शकको संख्या लगायतको आधारमा फरकफरक हुन्छ। त्यस्तै कुन देशमा सामग्री हेरिएको/सुनिएको हो भन्नेले पनि फरक पार्छ। खपत हुने मुलुकका आधारमा पनि यस्तो आम्दानी फरकफरक हुन्छ।
आम्दानी निश्चित नहुने र दोहोरो करको मारमा पर्ने भएकाले युट्युब, फेसबुक लगायत सामाजिक सञ्जालमा श्रव्य-दृश्य सामग्री राखेर कमाउनेहरू सरकारको निर्णयप्रति असन्तुष्ट बनेका हुन्।