मुलुकबाट बाहिरिने रकमको तुलनामा भित्रिने रकम (भुक्तानी सन्तुलन) २३ महिनायताकै उच्च भएको छ।
चालु आर्थिक वर्ष २०७९/८० को दस महिना अर्थात् वैशाख अन्त्यसम्म आइपुग्दा भुक्तानी सन्तुलन दुई खर्ब १४ अर्ब रूपैयाँ छ।
गत आर्थिक वर्षको सुरूदेखि नै भुक्तानी सन्तुलन ऋणात्मक थियो। चालु आर्थिक वर्षको तेस्रो महिना (असोज) देखि भने यसमा सुधार देखिन थालेको हो। यो अवधिमा सरकारले केही वस्तुको आयातमा पूर्ण प्रतिबन्ध र आयातको क्रममा अनिवार्य नगद मार्जिनको व्यवस्था गरेकाले पनि यसमा सुधार हुँदै गएको थियो।
पछिल्लो समय यी प्रतिबन्ध र कडाइ खुला भए पनि बजार मागमा कमी आएको छ। यस कारण आयात घटेको छ। अर्कातिर रेमिटेन्स भने बढ्दो छ। गत आर्थिक वर्षको तुलनामा चालु वर्षको दस महिना (साउनदेखि वैशाख) मा रेमिटेन्स २३ प्रतिशत वृद्धि भएको छ।
आयातमा देखिएको कमी र रेमिटेन्समा भएको वृद्धिकै कारण मुलुकको भुक्तानी सन्तुलनमा छ। अर्थात् शोधानान्तर बचतमा छ।
गत चैतको तुलनामा भन वैशाखमा रेमिटेन्स केही कम छ। चैतमा एक खर्ब ९ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकामा वैशाखमा एक खर्ब एक अर्ब रूपैयाँ मात्र छ। तैपनि यो उच्च नै हो। केही महिनाअघिसम्म त रेमिटेन्स मासिक ६१ अर्ब रूपैयाँमा सीमित थियो।
चालु आर्थिक वर्ष साउनदेखि वैशाखसम्म साढे ६ लाख नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएको तथ्यांक छ। गत वर्ष यही अवधिको तुलनामा यो करिब ३० प्रतिशत धेरै हो। वैदेशिक रोजगारीमा जानेहरू बढेसँगै रेमिटेन्स पठाउने दरमा पनि वृद्धि भइरहेको हो।
गत आर्थिक वर्ष २०७८/७९ मा रेमिटेन्स भित्रिने दर घट्दा र आयात बढ्दा हाम्रो विदेशी मुद्रा सञ्चितिमा समेत ह्रास आएको थियो। औसत ६ महिनाको वस्तु तथा सेवा आयात मात्र धान्ने अवस्थामा थियौं।
रेमिटेन्स सुधारिँदै र आयातका लागि बाहिरिने रकम कम भएसँगै अहिले विदेशी मुद्रा सञ्चिति १४ खर्ब ७० अर्ब रूपैयाँ पुगेको छ। यस्तो सञ्चितिले ९ महिना २१ दिनको आयात धान्न सक्छ।
पछिल्लो समय रेमिटेन्ससँगै विदेशी मुद्रा आम्दानीका अन्य स्रोतहरूमा पनि सुधार भइरहेको छ। नेपालले यो साउनदेखि वैशाखसम्म ८ अर्ब रूपैयाँ हाराहारीको विद्युत बेचेको छ। हन त यही अवधिमा भारतबाट नेपालले करिब साढे १६ अर्ब रूपैयाँ बराबरको विद्युत किनेको पनि छ। तर किन्ने मात्र हुँदा पैसा बाहिरिन्थ्यो मात्र, अहिले बेचेको पनि भएकाले पैसा भित्रिएको पनि छ।
त्यस्तै पर्यटकीय आम्दानी पनि बढेको छ।
सन् २०२२ जनवरीदेखि मेसम्म झन्डै दुई लाख पर्यटक आएका थिए। सन् २०२३ यही अवधिमा पर्यटक संख्या १०८ प्रतिशतले बढेर चार लाख चार हजार रूपैयाँ पुगेको छ। पर्यटकबाट हुने आम्दानीमा ९४ प्रतिशतले वृद्धि भएको छ। यस्तो आम्दानी झन्डै ५३ अर्ब रूपैयाँ पुगेको छ। यही अवधिमा बैंक तथा वित्तीय संख्या लगायतले ४० अर्ब हाराहारी ऋण ल्याएका छन्। यसमा अघिल्लो वर्षको यही अवधिको तुलनामा एक सय तीन प्रतिशतले वृद्धि देखिएको छ।
सरकारले पाउने अनुदान र मुलुक भित्रिने प्रत्यक्ष वैदेशिक लगानीमा सुधार देखिएको छैन। सरकारले यो दस महिनामा मात्रै सात अर्ब २२ करोड रूपैयाँ अनुदान प्राप्त गरेको छ। त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी ६४ प्रतिशतले घटेर ६ अर्ब १६ करोड रूपैयाँ भित्रिएको छ। सरकारले लिने वैदेशिक ऋण पनि अघिल्लो वर्षको यही अवधिको तुलनामा १० प्रतिशतले बढेर ६४ अर्ब ९१ करोड रूपैयाँमा पुगेको छ।
आयात १६.८ प्रतिशतले कम भएर १३ खर्ब ३५ अर्बमा सीमित भएको छ। यो अवधिमा मासिक सरदर एक खर्ब ३० अर्ब हाराहारीको आयात भइरहेको छ। महिनामा मासिक अधिकतम एक खर्ब ४३ अर्ब र न्यूनतम एक खर्ब २६ अर्ब रूपैयाँ बराबर छ।
स्थिर पुँजी निर्माणका वस्तुहरूको आयात अहिले पनि निकै कम छ। गत वर्षसम्म कुल आयातमा यस्तो वस्तुको हिस्सा १० प्रतिशत थियो। हाल घटेर ८.४ प्रतिशत छ। मूल्य अभिवृद्धि गर्न सक्ने वस्तुको हिस्सा ५३.२ प्रतिशत हाराहारीमै छ।
उपभोक्ताले सोझै उपभोग गर्न सक्ने वस्तुहरूको आयात हिस्सा ३६.८ प्रतिशतबाट बढेर ३८.४ प्रतिशत पुगेको छ। यसले न त यहाँ मूल्य अभिवृद्धि गराउँछ न त पुँजी निर्माण नै। यो हिस्सा बढ्दै जानु चिन्ताको विषय हो। त्यस्तै, विदेशी मुद्रा आर्जनको स्रोत निर्यात पनि २४.५ प्रतिशतले घटेर एक खर्ब ३० अर्बमा सीमित भएको छ।
नेपालबाट विदेशमा अध्ययनका लागि जानेले समेत यो दस महिनामा ७५ अर्ब रूपैयाँ बाहिर लगेका छन्। रकम अघिल्लोपटक ४६.४ प्रतिशत बढी हो। त्यस्तै, विदेश भ्रमणमा जाने क्रममा मुलुकबाट एक खर्ब दुई अर्ब रूपैयाँ बाहिरिएको छ।