रेमिटेन्स रकम वृद्धि भएपछि मुलुकको विदेशी मुद्रा सञ्चिति २९ महिनायताकै उच्च भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको ११ महिनाको वित्तीय अवस्थाले यस्तो देखाएको हो।
अहिले विदेशी मुद्रा सञ्चिति १४ खर्ब ८० अर्ब रूपैयाँ (११ अर्ब २९ करोड डलर) पुगेको छ। यस्तो सञ्चितिले ९ अहिलेकै दरमा महिना १८ दिनको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्छ।
रेमिटेन्समा उच्च वृद्धि भएसँगै मुलुकबाट बाहिरिने रकमको तुलनामा मुलुक भित्रिने रकम (भुक्तानी सन्तुलन) पनि बढ्दै गएको छ। मुलुकको भुक्तानी सन्तुलन २ खर्ब २८ अर्ब रूपैयाँले धनात्मक छ।
गत आर्थिक वर्षको सुरूदेखि नै ऋणात्मक देखिएको भुक्तानी सन्तुलनमा चालु आर्थिक वर्षको तेस्रो महिना (असोज) देखि सुधार देखिन थालेको हो।
यो अवधिमा सरकारले केही वस्तुको आयात पूर्ण प्रतिबन्ध र केहीको आयात क्रममा अनिवार्य नगद मार्जिन व्यवस्था गर्यो। यसपछि यसमा सुधार हुँदै गएको थियो। नाै महिनाअघिसम्म ऋणात्मक रहेको भुक्तानी सन्तुलनमा त्यसयता सुधार आएको हो। भुक्तानी सन्तुलन ३४ महिनायताकै उच्च भएको छ।
विदेशी मुद्रा सञ्चिति कम भएसँगै आयातमा प्रतिबन्ध र कडाइ गरिएको थियो। तर पछिल्लो समय बजार मागमा कमी आउँदा आयात घटेको छ।
आयातमा देखिएको कमी र रेमिटेन्समा उच्च दरमा भइरहेको वृद्धिका कारण मुलुकको भुक्तानी सन्तुलनमा छ अर्थात् शोधानान्तर बचतमा छ।
यसपटक ११ महिनामै आर्थिक वर्ष २०७९/८० भरिमा भित्रिएभन्दा धेरै रेमिटेन्स भित्रिएको छ। गत आर्थिक २०७९/८० मा १० खर्ब ७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। यस वर्ष ११ महिनामै ११ खर्ब १२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।
मासिक आधारमा पनि रेमिटेन्स भित्रिने दर बढेको छ।
वैशाखमा एक खर्ब एक अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो भने जेठमा एक खर्ब सात अर्ब रूपैयाँ भित्रिएको छ।
वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएसँगै रेमिटेन्स पनि वृद्धि भइरहेको हो।
गत आर्थिक वर्ष २०७८/७९ मा रेमिटेन्स भित्रिने दर कम र आयात बढी हुँदा विदेशी मुद्रा सञ्चितिमा ह्रास आएको थियो। औसत ६ महिनाको वस्तु तथा सेवा आयात मात्र धान्ने अवस्था थियो।
पछिल्लो समय भने रेमिटेन्ससँगै विदेशी मुद्रा आम्दानीका अरू स्रोतहरूमा पनि सुधार भइरहेको छ। नेपालले यो साउनदेखि जेठसम्म, ११ महिनामा ८ अर्ब ३९ करोड रूपैयाँको बिजुली बेचेको छ। हुन त यही अवधिमा भारतबाट नेपालले १८ अर्ब ७ करोड रूपैयाँ बराबरको बिजुली पनि आयात गरेको छ।
पर्यटकबाट हुने आम्दानीमा ९४ प्रतिशतले वृद्धि भएको छ। यस्तो आम्दानी ५८ अर्ब ८७ करोड रूपैयाँ पुगेको छ।
आयात १६ प्रतिशतले कम भएर १४ खर्ब ८० अर्बमा सीमित भएको छ। निर्यातमा पनि २२.७ प्रतिशतले कमी आएर एक खर्ब ४३ अर्ब रूपैयाँमा सीमित भएको छ।
स्थिर पुँजी निर्माणका वस्तुहरूको आयात अहिले पनि निकै कम छ। गत वर्षसम्म कुल आयातमा यस्तो वस्तुको हिस्सा १० प्रतिशत थियो। हाल घटेर ८.४ प्रतिशत छ। मूल्य अभिवृद्धि गर्न सक्ने वस्तुको हिस्सा ५३.४ प्रतिशत हाराहारीमै छ।
उपभोक्ताले सोझै उपभोग गर्न सक्ने वस्तुहरूको आयात हिस्सा ३६.८ प्रतिशतबाट बढेर ३८.२ प्रतिशत पुगेको छ। यसले न त यहाँ मूल्य अभिवृद्धि गराउँछ न त पुँजी निर्माण नै। यो हिस्सा बढ्दै जानु चिन्ताको विषय हो।
त्यस्तै नेपालबाट विदेशमा अध्ययनका लागि जानेले समेत यो ११ महिनामा ८९ अर्ब रूपैयाँ बाहिर लगेका छन्। यस्तो रकममा ४८.७ प्रतिशतको वृद्धि छ। त्यस्तै विदेश भ्रमणमा जाने क्रममा मुलुकबाट एक खर्ब १९ अर्ब रूपैयाँ बाहिरिएको छ।