एक युवकले केही वर्षदेखि नारायणगढमा कपडा पसल चलाइरहेका थिए। व्यापार–व्यवसाय राम्रै थियो। दिनभरिको आम्दानी साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गर्थे। सहकारीका कर्मचारी दिनहुँ वचत लिन आउँथे।
सानै उमेरमा सफल व्यवसायी बन्दै गएका युवक छिट्टै घर बनाउने तयारी गर्दै थिए।
एक दिन उनका एक आफन्तले साहारा सहकारीले मुद्दती खातामा दिने व्याजको विषयमा कुरा सुनाए। ती आफन्त त्यही सहकारीमा काम गर्थे। मुद्दती खातामा व्याज बढी पाउने लोभमा उनी परिहाले।
बैंकमा राखेको ८६ लाख रूपैयाँ निकालेर उनले साहारा सहकारीको मुद्दती खातामा जम्मा गरे।
उनले पैसा तीन महिनाका लागि जम्मा गरेका थिए। त्यतिखेर साहारा सहकारी संस्था भित्रभित्र खोक्रो भइसकेको थियो। जब मुद्दती खाताको अवधि सकिएर पैसा निकाल्न उनी सहकारी पुगे कर्मचारीहरूले उनलाई झुलाउन थाले। पैसा जम्मा गर्न प्रेरित गर्ने आफन्तसमेत उनको अघि निरिह बने।
केही समयमा त सहकारी संस्थामा ताला लागिहाल्यो। सञ्चालकदेखि जिम्मेवार कर्मचारीहरू सबै फरार भए।
‘व्यवसायबाट भएको आम्दानी र घरको केही पैसा बैंकमा जम्मा गरेको थिएँ। आफन्तले नै राम्रो छ भनेपछि हेरौं न त भनेर तीन महिनालाई सहकारीमा जम्मा गरेको त्यही बेलामा डुबेछ,’ उनले विलौना गरे, ‘पैसा फसेको एक वर्षभन्दा बढी भयो। घरमा भन्न सकेको छैन। यही डरले महिनौंदेखि घर जान पनि सकेको छैन।’
नारायणगढमा कार्यालय रहेको साहारा सहकारी संस्थाका सञ्चालकहरु यी युवक जस्ता ८ हजार बढी वचतकर्ताले जम्मा गरेको पैसा नदिइकन फरार भएका छन्। यहाँ सडकमा पोलेको मकै बेचेर दैनिक गुजारा चलाउनेदेखि सहरकै धनाढ्य व्यापारीसम्मले रकम वचत गरेका थिए। एक हजारदेखि ६ करोड रूपैयाँसम्म जम्मा गर्नेको ८५ करोड रूपैयाँ यहाँ जम्मा भएको थियो। साहारा चितवन पीडित संघर्ष समितिका संयोजक सालिकराम दुवाडीका अनुसार सहकारीका सञ्चालकले २०७९ पुस ७ गते भएको साधारणसभा यता ८५ करोड मध्ये करिब ३० करोड रुपैयाँ फिर्ता गरेका छन्। अहिले वचतकर्ताको ५५ करोड रुपैयाँ साहारा चितवनमा फसेको उनी बताउँछन्।
यो सहकारीमा अर्घाखाँची घर भएका विनोद आचार्यको २५ लाख रुपैयाँ फसेको छ। भरतपुरको सप्तगण्डकी चोकमा एप्रोन हाउस सञ्चालन गर्दै आएका आचार्यले केही वर्षदेखि यहाँ पैसा जम्मा गर्दै आएका थिए।
करोबारका क्रममा एक संस्थाले साहारा चितवन सहकारीको चेक दिएपछि पैसा निकाल्न जाँदा उनलाई यहाँको व्यवस्थापन मन परेको थियो।
‘पैसा जम्मा गर्न जानै नपर्ने, पसलमै कर्मचारी लिन आउने। कार्यालयको सेवा पनि चुस्त रहेछ। पहिलो पटकमै मलाई मनपर्यो,’ उनले भने, ‘अरूले दिएको चेक साट्न गएको म आफ्नै खाता खोलेर फर्किएँ।’
खाता खोल्नेक्रममै उनले यो सहकारी संस्थाको लगानी ग्यालेक्सी टेलिभिजनमा रहेको कुरा सुनेका थिए। तर उनले त्यो कुरामा त्यति वास्ता गरेनन्। कर्मचारीले उनलाई भरतपुरको सिनर्जी चोकमा आफ्नै जग्गा रहेको र छिट्टै त्यहाँ आफ्नै कार्यालय भवन बन्ने सुनाएका थिए।
‘यति राम्रो, ठूलो सहकारी डुब्ला भन्ने सोच्ने आधार नै थिएन। खाता खोलेर दैनिक वचत जम्मा गर्न थालें,’ आचार्यले सुनाए।
एक महिनामै उनले १० लाख रूपैयाँ यहाँको मुद्दती खतामा जम्मा गरे। ६ महिनापछि जब उनी पैसा निकाल्न सहकारी पुगे, त्यहाँका कर्मचारीले विभिन्न बाहना बनाएर फर्काउन थाले।
‘घरमा श्रीमतीको स्वास्थ्य समस्या भएको थियो। व्यवसायमा लगानी गर्नुपर्ने थियो। सामान ल्याएको पैसा तिर्नुथियो। तर जम्मा गरेको पैसा माग्दा सहकारीका कर्मचारीले एक दिन, दुई दिनपछि भन्दै फर्काउन थाले। कहिले सहकारी मर्ज हुँदैछ केही दिन पर्खनु भन्थे,’ आचार्यले भने।
उनले पर्खिएको एक वर्षभन्दा बढी भयो तर सहकारीमा जम्मा भएको पैसा फिर्ता आउने कुनै संकेत देखापरेको छैन।
‘ऋण खोजेर श्रीमतीको उपचार गरें। अहिले ऋणै खोजेर पसल र कोठाको भाडा बुझाउनु परेको छ,’ आचार्य भन्छन्।
भरतपुर–९ मा हार्डवेयर पसल सञ्चालन गर्ने पूर्णभद्र कँडेल साहारा सहकारीसँग जोडिएको चार वर्ष भयो। पसल–पसलमा पुगेर वचत संकलन गर्ने सहकारी कर्मचारीको करकापपछि उनी यो सहकारीको सदस्य बनेका थिए। दैनिक वचत जम्मा गर्दै जाँदा सहकारीको एउटा प्रस्तावबाट उनी लोभिए। प्रस्ताव थियो–एक करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरे मुद्दती खातामा नराख्दा पनि वचतको दस प्रतिशत व्याज आउने। यसो गर्दा एक करोड रुपैयाँको व्याज ८ प्रतिशत र त्यो भन्दा बढी जम्मा गरेको रकमको व्याज १० प्रतिशत आउँथ्यो। आफूलाई रकम आवश्यक पर्दा तुरुन्तै झिक्न पनि मिल्ने भएकाले कँडेललाई यो प्रस्ताव मनपर्यो। उनी र उनको परिवारका सदस्यहरूले यो सहकारीमा करिब ४ करोड रुपैयाँ वचत जम्मा गरे।
तर त्यो रकम झिक्न नपाउँदै सहकारी संस्थामा ताला लाग्यो।
‘राम्रो व्याज पाउने भएकाले जग्गा बेचेर पनि पैसा सहकारीमा राखेका थियौं। व्याज बाहेक साढे ३ करोड रूपैयाँ लिनुपर्ने छ,’ कँडेलले भने, ‘पैसाजति सबै सहकारीमा फसेपछि व्यापार डामाडोल भइरहेको छ।’
उनले साहारा सहकारीले व्याज राम्रो दिने बताएपछि परिवारका अन्य सदस्यदेखि इष्टमित्रले पनि यहाँ खाता खोलेर पैसा जम्मा गरेका थिए। ‘अहिले मैले उहाँहरूको विश्वास गुमाइरहेको छु। एक वर्ष त आफैंले पैसा खोजेर व्याज रकम दिएँ। सधैं दिन त म पनि कहाँ सक्छु र,’ कँडेलले भने।
यो सहकारी संस्थाबाट विभिन्न कम्पनीले कानुन विपरित बिना धितो करोडौं रकम लगेको स्टेटमेन्टमा देखिन्छ। ती सबै कम्पनीको सञ्चालक गितेन्द्र बाबु राई छन्। गोरखा मिडिया नेटवर्क प्रालि (गितेन्द्रबाबु राई), जिबि ग्रुप अफ् कम्पनी (गितेन्द्रबाबु राई), नेचर हर्व इन्टरनेशनल प्रालि (गितेन्द्रबाबु राई), नेचर नेष्ट प्रालि (गितेन्द्रबाबु राई), स्प्रिङ उड रियल स्टेट एण्ड हाउजिङ प्रालि (गितेन्द्रबाबु राई)को खातामा ४० करोड रूपैयाँभन्दा बढी रकम यो सहकारी संस्थाबाट गएको छ।
यसरी सहकारीबाट कम्पनीमा कुनै पनि ऋण लैजान पाइन्न। सहकारी सम्बन्धी कानुनले सदस्यसँग बाहेक वचत र ऋणको कारोबार गर्न नपाइने भनेको छ। कम्पनीसम्बन्धि नियमले पनि सहकारीको सेयर सदस्यता हुन नपाइने भनेको छ।
सहकारी संस्थामा जम्मा भएको रकम राईले ग्यालेक्सी टेलिभिजनका साथै विभिन्न ठाउँमा जग्गामा, मलेसिया र सिंगापुरमा सञ्चालन गरेको व्यवसायमा लगानी गरेको दाबी साहारा चितवन संघर्ष समितिका संयोजक दुवाडीको छ। योजनाबद्ध ढंगले सहकारी संस्था सञ्चालन गरेर रकम लिई राई फरार रहेको दाबी उनको छ।
साहारा चितवन सहकारी संस्थाको चितवनमा नारायणगढ, टाँडी र पर्सामा तीनवटा कार्यालय छन्। यी तीनवटै शाखाको व्यवस्थापक दिनेश रोका हुन्।
सञ्चालक समितिका अध्यक्ष सागर केसी, उपाध्यक्ष हेमन्त अधिकारी, सदस्यहरू भूपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई र देवेन्द्र बाबु राई छन्। सञ्चालकमा जिबी राई भनिने गितेन्द्रबाबु राईको नाम देखिँदैन। तर सञ्चालक समितिमा रहेका व्यक्तिदेखि सहकारी संस्थाका व्यवस्थापक र सिनियर कर्मचारीहरू राई निकटका व्यक्ति रहेको देखिएको छ। उनीहरू सबै अहिले फरार छन्।
संघर्ष समितिका संयोजक दुवाडीले उनको १३ लाख रुपैयाँ यो सहकारी संस्थामा फसेको बताए। भरतपुर–१० मा समिर इन्टरप्राइजेज नामको संस्थामार्फत् आइएमई मनी ट्रान्सफर चलाउँदै आएका दुवाडी २०७६ सालको असोजमा यो सहकारीमा जोडिएका थिए। आइएमईमा दिनभरमा जम्मा भएको रकम जम्मा गर्ने र अर्को दिनका लागि आवश्यक रकम पुनः ल्याउने प्रयोजनका लागि उनी साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य बनेका थिए।
‘कारोबार गर्दै जाँदा सहकारी संस्थामा गडबड छ भन्ने बुझेपछि हतार हतार सबै पैसा निकाल्न खोज्दै थिएँ। ९ लाख रूपैयाँजति त निकालें। बाँकी निकाल्न खोज्दा कार्यालयमा ताला लगाएर कर्मचारी, सञ्चालक भागिहाले,’ दुवाडीले भने।
खातामा रहेको एक करोड रूपैयाँबाट चालिस लाख रुपैयाँ निकाल्न चेक लिएर सहकारी संस्था पुगेका नारायणगढका कपडा व्यवसायी रमेशकुमार गुप्ताले एक रूपैयाँ पनि पाएनन्। भारतीय सेनाबाट सेवा निवृत्त भएपछि भरतपुर–११ मा मदिरा व्यवसाय सञ्चालन गर्दै आएका सागर रोकाले यो सहकारी संस्थाबाट ४८ लाख रुपैयाँ लिन बाँकी छ।
पैसा माग्दा सहकारीका सञ्चालकले नगदको सट्टामा जमिन लिन भनेको उनी बताउँछन्। तर जमिनको मूल्य चल्तीभन्दा दोब्बर बढी माग गरेपछि धेरै वचतकर्ताहरूले उक्त प्रस्ताव नमानेको रोकाले बताए।
‘पैसा जम्मा गर्न बैंक जानुनपर्ने, समयको बचत हुने देखेर सदस्य बनियो। अहिले जम्मा भएको पैसा पनि नपाएर ठूलो समस्या भएको छ,’ रोकाले भने, ‘वचतकर्तामाथि खेलवाड गर्नेलाई नियन्त्रणमा लिएर हामीलाई न्याय दिनुपर्यो।’
सहकारी संस्थाका १७२ जना सदस्यहरूले आफूले जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने माग गरेर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्। उक्त जाहेरीको आधारमा चितवन जिल्ला अदालतले राईसहित सहकारीका सञ्चालकहरुलाई पक्राउ पूर्जी जारी गर्ने अनुमती दिएको छ। तर उनीहरु फरार छन्।
संघर्ष समितिका संयोजक दुवाडीले २०७९ सालको कात्तिकदेखि साहारा चितवन सहकारी संस्थाले वचतकर्ताको रकम दिन छाडेको बताए। २०७९ चैत ४ गते भेला भएका एक सय बढी सहकारी सदस्यहरुले २२ दुवाडीको संयोजकत्वमा २२ सदस्यीय संघर्ष समिति बनाएका थिए। यो समितिले सहकारी विभाग हेटौंडामा आफूहरूको वचत रकम सहकारी संस्थाले नदिएको भनेर पत्राचार गर्यो। जिल्ला प्रशासन कार्यालय चितवनमा निवेदन दियो। सहकारी संस्थाको कार्यालय रहेको भरतपुर महानगरपालिकाको वडा नम्बर ३ को कार्यालयमा ज्ञापनपत्र पनि बुझायो।
‘हामी समस्याबारे जानकारी गराउन दस पटक हेटौंडा गयौं। मुख्यमन्त्री, मन्त्रीलाई भेट्यौं, सहकारी महाशाखालगायतका सबै कार्यालय धाएर समस्या जानकारी गरायौं। कसैले पनि मन लगाएर काम गरेनन्,’ दुवाडीले भने।
पटक–पटक धाएपछि सहकारी महाशाखाले गत साउन २४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोलाई पत्राचार गरेको उनले बताए। तर त्यो पत्र लामो समयसम्म ब्युरोमै अड्कियो। उनीहरुले गृहमन्त्रीलाई भेटेर समस्याबारे जानकारी गराए। पछि ब्युरोले जिल्ला प्रहरी कार्यालयमा फाइल पठायो।
अहिले जिल्ला प्रहरी कार्यालय चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको विषयमा अनुसन्धान गरिरहेको छ। प्रहरीले सञ्चालकको खोजी गर्ने, उनीहरूको नाममा रहेको सम्पत्ति खोजी र रोक्का गर्ने काम गरिरहेको छ।
संघर्ष समितिका संयोजक दुवाडीले सहकारी संस्थाको रकम ग्यालेक्सी टेलिभिजनमा लगानी भएको थाहा पाएपछि उक्त टेलिभिजनको प्रबन्ध निर्देशक रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पटक–पटक भेटेर समस्या राखेको बताए। उनीहरूले लामिछानेलाई पार्टी कार्यालय, भरतपुर विमानस्थल, उनी बसेको होटलमा पुगेर भेटेका थिए। लामिछानेले एक पटक उनीहरूकै अगाडि राई नजिकका कुमार रम्तेललाई फोन गरेर साहारा सहकारीको समस्या तुरुन्त समाधान गर्न आग्रह गरेका थिए।
‘रवी जी हाम्रो जिल्लाबाट निर्वाचित सांसद पनि हुनुहुन्छ। सहकारीबाट पैसा गएको ग्यालेक्सी टेलिभिजनका प्रबन्ध निर्देशक पनि भएका कारण उहाँको सम्बन्ध यहाँबाट पैसा लैजाने व्याक्तिहरूसँग हुन्छ भनेर समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका हौं,’ दुवाडीले भने, ‘उहाँले प्रयास गरिरहेको छु भन्नुभएको छ।’
उनले सांसद रवि लामिछानेबाट साहारा सहकारीबाट पीडित वचतकर्ताहरूको ठूलो आशा राखेको बताए। गोरखा मिडिया नेटवर्ट नामक कम्पनीको एमडी हुँदा कानुन विपरित सहकारीबाट ऋण लिएको कुरा कानुनविपरीत हुन्छ भन्ने आफूलाई थाहा नभएको उनले बताउँदै आएका छन्। अहिले कम्पनी छोडिसके पनि त्यतिबेलाको एमडी र सेयरहोल्डरको हैसियतले कानुनबमोजिमको कारबाही भोग्ने पनि केहीदिन अघि उनले सेतोपाटीसँग भनेका थिए।
‘सहकारी संस्थाको पैसा लगेर जमिनमा लगानी गरेका छन्। त्यो जमिन धितो राखेर बैंकबाट ऋण लिएको पनि देखिन्छ,’ दुवाडी भन्छन्, ‘अब सरकार बैंकलाई जोगाउनतिर लागेर सहकारीका वचतकर्तालाई थप पीडित बनाउने हो कि भन्ने डर हामीलाई छ।’
साना व्यवसाय गरेर सहकारी संस्थामा वचत गरेका वचतकर्तालाई बचाएरमात्रै बैंकलाई जोगाउनतिर लाग्न साहारा चितवन संघर्ष समितिका सदस्यहरूले माग गरेका छन्।